सम्झौताको समयअघि नै राप्ती नदीमा पुल निर्माण

दाङको राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल निर्माणको काम सम्पन्न भएको छ । सम्झौताको समय सकिनुअघि नै जिल्लाको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने गरी पुल निर्माणको काम सम्पन्न भएको हो ।

पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ । करिब एक अर्बको लागतमा राप्ती नदीमा उक्त पुलको निर्माण गरिएको हो । नेपालको सबैभन्दा लामो कर्णाली नदी पुलको लम्बाइ एक हजार १५ मिटरको छ । यी दुवै पुलको निर्माण अनक निर्माण सेवाले गरेको हो ।

सम्झौता अवधिअगावै पुल निर्माण
राप्ती नदीमा पुल निर्माणको काम आव ०७२/७३ बाट सुरु भएको थियो । आव ०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यस अगावै निर्माणको सम्पन्न भएको कनक निर्माण सेवाका इञ्जिनियर बस्यालले बताए । ‘पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो । उनले भने ‘तर सम्झौता अवधि पूरा गर्नु चार महिनाअघि नै हामीले काम पूरा गरेका छौँ ।’ अहिले पुल निर्माणको काम सम्पन्न भएर पुलसम्म पुग्ने सडक निर्माणको काम भइरहेको उनले जानकारी दिए । आउँदो माघ महिनाबाट पुलमा सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पुलहरू सम्झौता अवधि सकिँदासमेत निर्माण पूरा नभएको अवस्थामा राप्ती नदीमा पुल निर्माणको कामले स्थानीयलाई पनि खुसी बनाएको छ ।

छोटिँदै दूरी
पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारि र पारिको दूरी घट्ने भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घन्टाको सवारी यात्रा गर्नुपर्ने हुन्छ । तर, यो पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने सिसहनियाँ स्थानीय विष्टले बताए । ‘पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयलाई धेरै गाह्रो थियो । वर्षाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो,’ उनले भने ‘भनेको वेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो । अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिनेछ ।’

आर्थिक उपार्जनमा सहयोग पुग्ने
जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । पुल निर्माण भएमा राप्ती नदी पारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेश सभा सदस्य इन्द्रजित थारूले बताए । ‘आवतजावतको समस्याका कारण यसअघि कृषि उत्पादन बजारसम्म पुर्‍याउन गाह्रो थियो ।’ उनले भने ‘पुल निर्माण भएमा नदी पारिको कृषि उत्पादन सहजै वारि ल्याएर बिक्री वितरण गर्न सकिनेछ ।’ पुल निर्माणले कृषिलगायतका क्षेत्रको प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *