महराको थुनछेक बहस सकिन लाग्दा रोशनी अदालतमा

काठमाडौं : कृष्णबहादुर महरामाथि लागेको जबर्जस्ती करणी मुद्दाको थुनछेक बहस सकिएको छ ।अब पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा अदालतले आज सोमबार निर्णय गर्नेछ । अदालतले अहिले फैसला तयार पार्दैछ ।

बरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए ।

थुनछेक बहस सकिनै लाग्दा पीडित रोशनी शाही अदालतमा उपस्थित भएकी थिइन्। बन्द इजलाशमा पुगेकी रोशनी कुनै प्रतिक्रिया नदिइकन फर्किइन् । अदालतको बहस सुन्न अदालत गएकी शाही बहस सकिएपछि केही बेरमै फर्किसकेकी हुन् ।

आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर हत्या आरोपमा पक्राउ परेका अभियुक्त मोहम्मद अफताव आलमविरुद्ध सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता हुँदैछ।

आलममाथि जन्मकैदको अभियोगपत्रसहितको फाइल जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ। सरकारी वकिल कार्यालयले आज दिउँसो मुद्दा दर्ता गर्दैछ।

यसअघि जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर आलममाथि प्रहरीले अनुसन्धान गरेको थियो।२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ। सर्वोच्च अदालतको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले असोज २६ गते बमकाण्डका मुख्य आरोपित आलमलाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *