ओली बा ! अब भारी बिसाउनुस्

‘म धेरै बिरामी छैन, मिर्गौलाले काम गर्न छोडेको मात्र हो’

अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय वैठकमा बोलेका शब्दहरु ठ्याक्कै यही नभए पनि भाव लगभग यस्तै हुनुपर्छ । एउटा दीर्घरोगीका रुपमा ओलीको मनोबल नाप्नका लागि यही एउटा अभिव्यक्ति काफी छ ।

१२ वर्ष अगाडि प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोड्नुलाई यसै पनि ‘क्रिटिकल’ अवस्था मान्न सकिन्छ । अब ओलीसँग नियमित डाइलासिस वा अर्को प्रत्यारोपणका दुई विकल्प मात्र बाँकी रहेको बताइँदैछ । दुवै विकल्प सहज छैनन् । तर, यति चुनौतीपूर्ण घडीमा पनि ओली एकदमै सकारात्मक एवं दृढ देखिन्छन् । रोगसँग लड्न यो पनि एउटा ठूलो ‘ओखति’ हो । टाइफाइड हुँदा पनि मर्छु कि भनेर आत्तिने बिरामीहरुले उनीबाट सिक्न सक्छन् ।

अस्पतालबाट दुईपटक गरी ६ घन्टा डाइलासिस गरेर ओली निस्किँदाको फोटो तपाईंले हेर्नुभएको होला, उनी फिल्म हेरेर हलबाट निस्किएको जस्तो मुद्रामा थिए । विरोधिहरुले आफूलाई स्वस्थ देखाउन ओलीले नाटक गरेको आरोपसमेत लगाए । तर, यदि आफ्नो रोगसँग डराएका थिए भने त्यो भाव उनले कदापि लुकाउन सक्दैनथे ।

अस्पतालबाट निस्केपछि ओलीले अतिरिक्त सक्रियता देखाउन खोजेका भने पक्कै हुन् । प्रदेश प्रमुखहरु एकमुष्ट बर्खास्त गर्ने निर्णय लिनुले उनले मिडियालाई आफ्नो स्वास्थ्यबाट विषयान्तर गराउन चाहेको प्रतीत हुन्छ । उनी लगातार मन्त्री परिषद र पार्टीका बैठकमा सहभागी भइरहेका छन् । यो भौतिक सक्रियताले ओलीका शुभचिन्तकलाई खुशी बनाए पनि उनको रोगी शरीरका लागि भने प्रत्युत्पादक हुन सक्छ । किनकि उनलाई बढीभन्दा बढी आरामको आवश्यकता छ ।

ओलीको ईच्छाशक्ति र दृढताको प्रशंसा गर्दै गर्दा उनलाई बदजफ्ती सक्रिय भइराख्न प्रेरित गर्नु हुँदैन । यथार्थ यही नै हो कि उनलाई बिमारीले गाल्दैछ । इच्छा शक्तिले रोगसँग लड्ने क्षमता बढाउँछ । तर, रोग निर्मूल पार्न सक्दैन । त्यसैले ओलीले आफ्नो रोगलाई महसुस गर्ने बेला आएको छ । शरीरको आवश्यकतालाई महसुस गर्ने बेला आएको छ । अब आफ्नो स्वास्थ्यमा थप खेलबाड नगरी प्रधानमन्त्री पदको भारी बिसाउनुपर्ने बेला आएको छ । यतिबेला उनको शरीरले आराम र स्याहार मागेको छ । बरु आरामको समयमा उनले झापाको सुकुम्वासी परिवारदेखि सिंहदरबारसम्मको अविस्मरणीय यात्रा समेटेर संस्मरण लेख्दा राम्रो हुन्छ । साथै, घर बसीबसी पार्टी र सरकारलाई मार्गदर्शन गर्न सक्छन् ।

जनताले चाहेका होइनन् ओलीलाई प्रधानमन्त्री पदबाट ओराल्न । यो सरकार पाँच वर्ष नै चलोस् भन्ने आम जनमत हो । यस्तो जनमत हुनुका दुईवटा कारण छन् । पहिलो त लामो समयसम्म अल्पायूको सरकार झेलेर जनता दिक्क थिए । पटक-पटकको सरकार परिवर्तनले देशलाई अस्थिर बनाउँछ, राज्यका अवयवहरुलाई कमजोर तुल्याउँछ, विकास-निर्माणलाई पछि धकेल्छ भन्ने जनताले महसुस गरिसके । त्यही भएर ओलीलाई मन नपाराउनेहरुले पनि यो सरकार ढलिहालोस् भन्ने चाहेका छैनन् । अर्को कारणचाहिँ, उनलाई विस्थापित गर्ने सम्भावित नेताहरुप्रति जनताको कुनै आकर्षण बाँकी छैन ।

अतः यतिबेला ओलीको कमजोर स्वास्थ्यले नै सरकारको निरन्तरतामा गम्भीर बाधा उत्पन्न गरेको छ । रोगको प्रकृति हेर्दा चाँडै सक्रिय राजनीतिलाई बिट मार्नुपर्ने अवस्था देखिन्छ ।यस सन्दर्भमा थप चर्चा गर्नुअघि प्रधानमन्त्रीका रुपमा ओलीका दुई कार्यकाललाई सम्झौं ।

ओलीका दुई कार्यकाल

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देश विकराल अवस्थामा थियो । भारतीय नाकाबन्दीले जनजीवन अस्तव्यस्त भएका बेला राष्ट्रिय स्वाधिनतामाथि पनि कालो बादल मडारिएको थियो । त्यतिबेला ओलीले भारतसँग नझुकीकनै स्थितिलाई निकास दिएका हुन् । त्यतिबेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्तामा गरेको कडा सवालजवाफ भारतीय सञ्चारमाध्यमहरुका लागि समेत नौलो बनेको थियो । नाकाबन्दी हटेपछि मात्रै भारत भ्रमणमा जान्छु भन्ने अडानमा उनी कायम रहे । आफ्नो भारत भ्रमणका क्रममा भारतले नेपालको संविधानलाई स्वागत गर्न आनाकानी गरेपछि संयुक्त विज्ञप्तिमा हस्ताक्षर समेत गर्न उनी तयार भएनन् ।

त्यही कार्यकालले ओलीलाई राष्ट्रवादी नेताको पहिचान दिलायो । खासगरी देशको राष्ट्रवादी तप्का र आमनागरिकमा उनी पि्रय बने । ओलीको राष्ट्रवादी छविले गर्दा उनको सरकारका अन्य कमजोरीहरुलाई ढाकछोप गरिदियो । उनलाई राजा महेन्द्रसँग समेत कतिपयले तुलना गर्न थाले ।

दोस्रो कार्यकालको पृष्ठभूमि भने नितान्त फरक छ । त्यतिबेला प्रतिकुलता मात्रै थिए भने यतिबेला अनुकुलता धेरै छन् । सम्भवत २०४६ सालपछिकै शक्तिशाली प्रधानमन्त्री हुन् उनी । उनको पछाडि दुई तिहाई सांसदको समर्थन छ । पार्टीभित्र वा बाहिरबाट ठूलो बाधा-विरोध छैन । दक्षिणी छिमेकीले कुनै लफडा गरेको छैन ।

ओलीको कार्यशैली पनि यो कार्यकालमा अघिल्लोभन्दा पृथक देखिएको छ । राष्ट्रियताप्रतिको प्रतिवद्धतामा उनी केही खुकुला देखिएका छन्। कांग्रेसले समेत उनलाई लम्पसारवादीको आरोप लगाउन भ्यायो । ओलीको राष्ट्रवादलाई कमजोर बनाउने केही घटनाहरु नियालौं :

१. देशको राष्ट्रवादी खेमाबाट चर्को विरोध भइरहेको नागरिकता विधेयकको विषयमा ओली अहिलेसम्म निरपेक्ष बसेका छन् । उनको निर्णयहिनताले लामो समयदेखि विधयेक अलपत्र छ ।

२. एउटा विवादास्पद संस्थाले गरेको अन्तर्राष्ट्रिय सम्मेलनका नाममा गरेको कार्यक्रममा सरकार आयोजक मात्रै बसेन, प्रधानमन्त्री ओली विदेशी पाहुनाहरु भेट्न पाँचातारे होटलमै अड्डा जमाएर बसे ।

३. भारतबाट विषादियुक्त तरकारी आयातमा रोक लगाएको सरकार भारतीय दूतावासको दवावपूर्ण पत्र आएपछि निर्णयबाट व्याक भयो ।

४. भारतको एउटा फिल्मी अवार्ड नेपाल सरकारले आफ्नै खर्चमा काठमाडौंमा आयोजना गर्ने तयारी गर्‍यो । सरकारले पर्यटन प्रवर्द्धनका नाममा गर्न आँटेको लाजमर्दो काम चौतर्फी विरोधपछि असफल बनेको थियो ।

५. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ‘नागरिक अभिनन्दन’ को नाममा अनावश्यक चाकडी बजाइयो । यद्यपि, विरोधपछि प्रधानमन्त्री आफैंचाहिँ नागरिक अभिनन्दनमा सहभागी भएनन् ।

तर, यो कार्यकालको समग्र मूल्यांकन गर्दा भने ओलीलाई असफल ठहर गर्न सकिँदैन । खासगरी देशका आर्थिक सूचकहरुले उनलाई बलियो साथ दिएका छन् । गत आर्थिक वर्षमा झण्डै सात प्रतिशतको आर्थिक वृद्धिदर उत्साहजनक हुँदै हो, यो आवमा पनि राम्रा संकेत देखिएका छन्। ब्यापार घाटा देशको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो टाउको दुखाई बनिरहेको बेला पहिलो त्रैमासिकमा आयात घटेर निर्यात बढेको सुखद तथ्यांक आएको छ । यो कागताली मात्रै होइन ।

सरकारले चालु आवको बजेटमा स्वदेशी उद्योगधन्दाहरुलाई संरक्षण गर्ने र निर्यातलाई निरुत्साहन गर्ने स्पष्ट नीति लिएको थियो । यो नीतिको प्रभाव देखिन थालेको सरकारी अधिकारीहरुको भनाइ छ । यद्यपि, यसको अझै वस्तुपरक विश्लेषण आवश्यक छ । पहिलो त्रैमासिकको नतिजाले वर्षभरि निरन्तरता पाउनेमा विज्ञहरु त्यति आशावादी छैनन् ।

विश्व बैंकको डुइङ बिजनेस रिपोर्टमा नेपालले गरेको प्रगतिले सरकारलाई उत्साहित बनाएको छ । सडक, विमानस्थल, जलविद्युत लगायत पूर्वाधारका क्षेत्रहरुमा धमाधम काम भइरहेका छन् । जलविद्युतमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भित्रिएको छ ।

ओलीले यो कार्यकालमा अरु पनि केही ठोस उपलब्धी हासिल गरेका छन् । नेपालले भारतसँग चिसिएको सम्वन्ध सुधार्नुका साथै चीनसँगको सम्वन्धलाई थप बलियो बनाएको छ । भारतीय प्रधानमन्त्री र चिनीया राष्ट्रपतिलाई दुवैलाई नेपालमा स्वागत गर्न ओली सफल भए । खासगरी विश्वकै शक्तिराष्ट्र चिनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक हो । (भलै यो भ्रमणलाई सरकारले उच्चतम सदुपयोग गर्न सकेन ।)

केही समयदेखि मधेसमा टाउको उठाएको बिखण्डनवादी अभियानलाई शान्तिपूर्णरुपमा समाप्त गर्नु ओलीको अर्को ठोस उपलब्धी हो । सीके राउतको अभियानले तराईका शिक्षित युवालाई भ्रमित पारिरहेको थियो भने सरकारको चिन्ता बढाइरहेको थियो । राउत अहिले स्वतन्त्र मधेसको नारा लगाउन छोडेर मुलधारको राजनीतिमा आएका छन् । (भलै, राउतलाई मूलधारमा ल्याउने क्रममा अपनाइएको प्रक्रिया आफैंमा गलत थियो ।)

अर्को उपलब्धी भनेको ओली सरकारले देशवासीलाई केही हदसम्म कानूनी राज्यको अनुभूति दिलाउनसफल भएको छ । उच्च ओहदामा रहेकाहरु विभिन्न अपराधमा मुछिँदा सरकारले संरक्षण गर्न खोजेको छैन । सभामुख कृष्णबहादुर महरादेखी प्रधानमन्त्रीका अंगरक्षकसम्मलाई पक्राउ गर्ने प्रहरीमा हिम्मत बढ्नु यसैको प्रतिफल हो । जिउँदा मान्छेहरुलाई ईंटाभट्टामा हालेका मोहम्मद आफ्ताव आलामको कुकर्म १२ वर्षपछि सजाय पाउने संघारमा छ । गौर हत्याकाण्डको पनि फाइल खुल्ने आशा बढेको छ । (भलै निर्मला पन्तका हत्यारा अझै पत्ता लागेका छैनन् ।)

यसैगरी विदेशी टेलिभिजनमा क्लिन फिड लागू गर्ने सरकारको अर्को साहसिक कदम हो । स्वदेशी विज्ञापन बजारको फैलावटका लागि मात्र नभएर देशको राष्ट्रिय स्वाधिनताका दृष्टिकोणले समेत यो निर्णय महत्वपूर्ण छ । (भलै, यसको कार्यान्वयन पक्षमा चुनौतिहरु बाँकी नै छन्।)

कुल मिलाएर ओली सरकारको दुई वर्षलाई सन्तोषजनक मान्न सकिन्छ । तथापि, स्वेशमा उद्योगधन्दा स्थापना गरी पर्याप्त रोजगारी सिर्जना गर्दै विदेशीएका युवालाई फर्काउने सोच भने सरकारले देखाउन सकेको छैन । बरु वैदेशिक रोजगारलाई नै व्यवस्थित गर्न केही कामहरु भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तो उटपटाङ कामले पनि सरकार विरोधीहरुलाई मसला प्राप्त भएको छ । प्रधानमन्त्रीका बोलिवचन र उखानटुक्कालाई लिएर हुने टिकाटिप्पणीहरु त सदावहार भइहाले ।

ओलीसँग तीन विकल्प

माथि नै भनियो कि यही सरकारले ५ वर्ष निरन्तरता पाउनु देशका लागि हितकर हुन्थ्यो । तर, प्रधानमन्त्रीको स्वास्थ्यका कारण सरकारको सम्भावित आयु घटेको छ । प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री जटिल परिस्थितिमा उभिएका छन् ।

प्रधानमन्त्री पदमा रहेको व्यक्ति बिरामी हुनै हुँदैन भन्ने होइन । तर, रोगको प्रकृति र उमेर हेर्दाए ओलीले अब सक्रिय राजनीतिबाट विश्राम लिने बेला भएको सहज निस्कर्षमा पुग्न सकिन्छ । उनले आफ्नो जीवनको पाँच दशक देशका लागि दिए । अब बाँकी समय आफ्नो लागि दिनुपर्छ ।

हुन त विश्वमा कतिपय नेताले बिरामी वा अशक्त अवस्थामा पनि देशको नेतृत्व गरेका उदाहरण भेटिन्छन् । जस्तो कि फ्रेन्कलिन रुजभेल्टले ह्वीलचेयरमै बसेर अमेरिकाको राष्ट्रपति चलाएका थिए । त्यो पनि तेस्रो विश्वयुद्धको चुनौतिपूर्ण घडीमा । नेपालमै गिरिजाप्रसाद कोइराला अन्तिमपटक प्रधानमन्त्री बन्दा अधिकांस समय विछ्यौनामै बिताएका हुन् ।

तर, यस्ता अपवादका घटनालाई नै मानक बनाएर हिँड्नु वाञ्छनीय हुन्न । नेपालजस्तो पिछडिएको देशलाई माथि उठाउन शारीरिकरुपमा समेत सक्रिय नेतृत्व चाहिन्छ । प्रधानमन्त्री लामो समय ओछ्यानमा बस्दा देश नै बिरामी जस्तो हुने छ ।

रेगुलर डाइलासिस वा अर्को प्रत्यारोपण दुवै अवस्थामा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिरहनु अस्वभाविक हुन्छ । बालुवाटारमै उपचार कक्ष निर्माण गरेर हप्तामा तीनपटक डाइलासिस गर्दै देश हाँक्ने विकल्प सही हुँदै होइन । साथै, यो उमेरमा अर्को मृगौला प्रत्यारोपण गर्नु पनि जोखिमयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको भूमिका बढाएर आफ्नो प्रधानमन्त्रीत्वलाई निरन्तरता दिने एउटा विकल्प प्रमसँग छ । पोखरेललाई मन्त्रीपरिषद वैठक डाक्ने अधिकारसहित कार्यवाहक नै दिने र स्वास्थ्यमा सुधार आयो भने फेरि सक्रिय नेतृत्व फर्किने निर्णय उनले लिन सक्छन् । तर, यो विकल्प टिकाउ किन हुँदैन भने ओलीको स्वास्थ्यमा चमत्कारिक सुधार आउने सम्भावना क्षिण छ । साथै, यसो गर्दा संवैधानिक प्रश्न पनि उठ्न सक्छन् । प्रधानमन्त्री देशबाहिर गएको बखत मात्रै वरिष्ठ मन्त्रीलाई कार्यवाहक दिने प्रचलन अने । लामो बिरामी हुँदा कार्यवाहक दिने अभ्यास नेपालमा गरिएको छैन ।

उत्तराधिकारी को ?

ओलीको दुःख के भने उनले नेतृत्व हस्तान्तरणका लागि भरपर्दो उत्तराधिकारी पाएका छैनन् । ओलीले छोडेपछि भावी प्रधानमन्त्रीमा पहिलो नाम स्वतः प्रचण्डको आउने छ । तर, प्रचण्ड ओलीका उत्तराधिकारी नभएर अघोषित प्रतिस्पर्धि हुन् । प्रचण्डलाई पार्टी अध्यक्षसँगै प्रधानमन्त्रीसमेत स्वीकार्न पूर्वएमाले पंतिलाई कठिन छ । किनकि एमाले र माओवादीको एकता बराबरीको हैसियतमा भएको थिएन । एमालेभन्दा कमजोर हैसियतमा माओवादी एकतामा आएको हो ।

अहिलेका उपप्रधानमन्त्री ईश्वर पोखरेल ओलीका एक विश्वासपात्र हुन्, तर प्रधानमन्त्री नै सुम्पने गरी उनको व्यक्तिको निर्माण भएको छैन भन्ने बुझाई पार्टीभित्र छ । नेकपामा पूर्वएमालेतर्फका दुई वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल दुवै ओलीका पि्रय पात्र होइनन् । फेरि उनीहरु दुवै प्रधानमन्त्रीका रुपमा समेत ‘टेस्टेड एन्ड फेल्ड’ हुन् । वामदेव गौतम संसद नै नभएकाले प्रधानमन्त्री बन्ने दौडमा हुने छैनन्। नेकपामा नेताहरुमा भीम रावलको लोकपि्रयता बढिरहेको छ, तर उनले ओलीसँग दुरी बढाइरहेका छन् ।

यो पंतिकारको व्यक्तिगत विचारमा चाहिँ ओलीले पार्टीको नेतृत्व प्रचण्डलाई र सरकारको नेतृत्व माधव नेपाल र भीम रावलमध्ये एकजनालाई सुम्पनु उचित हुन्छ । अलि फराकिलो छाति बनाएर रावललाई अघि सारे भने त्यसमा बढी जनसमर्थन प्राप्त हुन सक्छ । तर, सबै कुरा ओलीले चाहे अनुसार नै हुने स्थिति पनि होइन ।

यतिबेला प्रचण्डका निकटस्थहरु मुख मिठ्याउन थालिसकेका छन् । उनीहरुले प्रधानमन्त्रीमा दावी गर्न प्रचण्डलाई उचाल्ने नै छन् । यसअघि आलोपालो नेतृत्वका लागि भएको भनिएको भद्र सहमति फेरि चर्चामा आउने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *