पल्सर डेयर भेन्चरको चौथो संस्करण ‘एक्स्ट्रिम’ बनेको छ : पुनम सिंह

सात प्रश्न

बजाज बाइकको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले सन् २०१३ देखि पल्सर डेयर भेन्चर सुरु गर्‍यो, जुन नेपालकै पहिलो बाइक रियालिटी सो हो । कम्पनीले तेस्रो सिजनसम्म नेपालमै आयोजना गरेकोमा चौथो सिजन भारतको लद्दाखमा आयोजना गरेको छ । पल्सर डेयर भेन्चरको कन्सेप्ट, पहिलोदेखि चौथो सिजनसम्म आइपुग्दाको अनुभवबारे कम्पनीकी सहायक महाप्रबन्धक पुनम सिंहसँग गरिएको कुराकानी :

१. पल्सर डेयर भेन्चरको कन्सेप्ट कसरी बनेको हो ?
हामीले पल्सर डेयर भेन्चरको कन्सेप्ट सन् २०१२ को अन्त्यतिर बनायौैँ र २०१३ मा पहिलो सिजन गर्‍यौँ । यो चौथो सिजन हो । त्यतिवेला पनि पल्सर बाइक नेपालको नम्बर वान थियो । हामीले देशभरका पल्सर राइडरलाई इंगेज गर्न केही नयाँ काम गर्नुपर्छ भन्ने सोच्यौँ, तर पल्सरको संख्या यति धेरै भइसकेको थियो कि मास इंगेज पनि गर्न सक्दैनथ्यौँ । धेरैलाई सहभागी गराउने कार्यक्रमको अवधारणाअनुरूप यसको परिकल्पना भएको हो ।

सुरुमा हाम्रो रियालिटी सो बनाउने सोच नै थिएन । हामीले नेपालभरबाट ५० जनाजति राइडर छानेर कुनै एक्स्ट्रिम ठाउँमा लैजाने र राम्रो एक्सपेरियन्स दिने भन्ने सोच्यौँ । तर, ५० जना राइडर पनि कसरी छान्ने ? हामीले ५० जनालाई र्‍यान्डम्ली सेलेक्ट गरिदियौँ भने मान्छेले आफ्नोलाई सेलेक्ट गर्‍यो भन्छ । जबकि त्यो हाम्रो सोच नै होइन । हामीले रियालिटी सो गर्ने निर्णयमा पुग्यौँ । एउटा प्रपर फर्म्याट बनायो भने जतिजनाले भाग लिनुहुन्छ, हामीलाई छान्न पनि सजिलो हुन्छ भन्ने लाग्यो ।

२. रियालिटी सोका लागि कुन–कुन स्थान छनोट गर्नुभयो ?
हामीले पहिलो सिजन अपर मुस्ताङमा गर्‍यौँ । त्यतिवेला अपर मुस्ताङको चैलेसम्म राइड गरेका थियौँ । हामीले पुग्न खोजेको लोमान्थाङसम्म नै थियो । तर, त्यतिवेला लोमान्थाङ अहिलेजति एक्सेसेवल थिएन । सबै प्रतियोगी प्रोफेसनल राइडर होइनन् । हामीले रिस्क लिनुहुँदैन भनेर मार्सलको सल्लाहमा चैलेमा पुगेर
कार्यक्रम सकायौँ ।

दोस्रो सिजन भूकम्पका कारण एक वर्ष ग्याप गर्नुपर्‍यो । हामीले दोस्रो सिजनका लागि सोलुखुम्बु रोज्यौँ । एडभेन्चर राइडिङका लागि सोलु पनि उत्तम ठाउँ हो । तेस्रो सिजन मनाङमा गर्‍यौँ । अफरोड राइडिङका लागि मनाङ राम्रो गन्तव्य हो । अघिल्ला दुई सिजनमा भन्दा मनाङको ट्रयाक निकै गाह्रो थियो । चौथो सिजनका लागि भारतको लद्दाख रोजेका छौँ । एउटा बाइक राइडरका लागि लद्दाख ‘ड्रिम प्लेस’ हो ।

३. पहिलो सिजनमा सिकाइकै क्रममा हुनुहुन्थ्यो चौथो सिजनसम्म आइपुग्दा कत्तिको सुधार भएको छ ?
त्यसताका नेपालमा रियालिटी सो नै नयाँ कन्सेप्ट थियो । त्यो पनि बाइक रियालिटी सो त कसैले पनि गरेकै थिएनन् । एउटा मात्र रियालिटी सो थियो, त्यो पनि सांगीतिक । त्यो वेला हामीले पनि सिक्नुपर्ने थियो । नेपालको डाइरेक्टर र सिनेमाटोग्राफर युनिटले पनि रियालिटी सो बुझिसक्नुभएको थिएन ।

पहिलो सिजनमै सेक्युरिटीदेखि सेफ्टीसम्म सबै पक्षलाई उत्तिकै प्राथमिकतामा राखेका थियौँ । हस्पिटल पार्टनर पनि थियो । सबै कुरा व्यवस्थापन गर्दागर्दै पनि डाइरेक्सन र क्यामराको पार्टमा कमजोरी देखियो । दर्शकले सिजन वान, टु, थ्री हुँदै अब फोर सिजनसम्म आइपुग्दा धेरै फरक पाउनुहुनेछ ।

सिजन वानको भन्दा मोडालिटी पनि परिवर्तन गर्दै गयौँ । पहिलो सिजनमा पल्सरका राइडरलाई मात्र सहभागी गरायौँ । जोसँग पल्सर बाइक थिएन, ऊ सहभागी हुन पाउँदैनथ्यो । देशभरिका राइडरले पनि भाग लिन पाएनन् । सेकेन्ड सिजनमा पल्सर राइडरलाई मात्र सहभागी गराए पनि नेपालभरिबाट भाग लिन पाउने व्यवस्था गरियो । उमेरको लिमिटेसन पनि बढायौँ । दोस्रो सिजन सम्पन्न गर्दा हामीले के महसुस गर्‍यौँ भने अब पल्सर राइडरमा मात्र सीमित हुनुहुँदैन । राइडर्स त राइडर्स नै हो नि जुनसुकै बाइक चढे पनि । सबैलाई मौका दिनुपर्छ भनेर तेस्रो सिजनदेखि लाइसेन्स भएको ४० वर्ष उमेरसम्मको राइडरले मात्र भाग लिन पाउने व्यवस्था मिलायौँ । यो (चौथो) सिजनदेखि हामीले उमेरको हद राखेका छैनौँ ।

पहिलो सिजनमा ८ सयजनाको आवेदन आएको थियो । दोस्रो सिजनमा दुई हजारभन्दा बढीको आवेदन पर्‍यो । तेस्रो सिजनमा काठमाडौंसँगै पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज र धरानमा पनि अडिसन लियौँ । तेस्रो सिजनमा ४५ सयभन्दा बढीको आवेदन परेको थियो । रेस्टिक्सन पनि हटाइसकेका थियौँ । चौथो सिजनका लागि ८ हजारजनाको आवेदन परेको थियो । हामीले आवेदन छनोट प्रक्रियालाई पनि सहज र वैज्ञानिक बनाउँदै लगिरहेका छौँ ।

चौथो सिजिनमा राइडरले विश्वको सबैभन्दा अग्लो मोटरेबल पास खारदुंलासहित पाँचवटा पास पार गरेका छन् । यो सिजन राइडरका लागि हार्डकोर राइडिङ एक्सपेरियन्स हो ।

४. चौथो सिजनमा भारतको लद्दाख किन रोजियो ?
यसअघिका तीनवटै सिजन नेपालमा भइसकेको थियो । हामी एडभेन्चर्स लोकेसन खोजिरहन्छौँ । नेपालको मुस्ताङ, सोलु, मनाङमा कार्यक्रम गरिसक्यौँ । हामीलाई अझ एडभेन्चर्स र एक्स्ट्रिम लोकेसन चाहिएको थियो । नेपालमा नयाँ एडभेन्चर्स गन्तव्यहरू खोज्दा हामीसँग धेरै अप्सन बाँकी थिएनन् । हामीलाई थ्रिल गराउने लोकेसन पनि चाहिएको थियो । हामीले तेस्रो सिजनपछि एक वर्ष ग्याप लिएका थियौँ । यो ग्याप अघिल्ला सिजनको रिभ्यू गरेर अझ राम्रो गर्न लिएको हो । एक वर्षको ग्यापपछि फर्किंदा केही फरक त गर्नुपथ्र्यो ।

लद्दाख कुनै पनि बाइक राइडर्सका लागि ‘ड्रिम प्लेस’ हो । जो पनि बाइक कुदाएर लद्दाख जान सक्दैन । त्यति एक्सेसेवल पनि छैन । नेपालबाट धेरै कम मान्छेले मात्र लद्दाख राइड गर्नुभयो होला । त्यो अवसर पनि थियो । फेरि भिजिट नेपाल २०२० को पनि प्रवद्र्धन गर्नुपर्ने थियो । भ्रमण वर्षको नेपालभित्र त प्रमोसन भइरहेकै छ, तर खासमा प्रमोसन गर्नुपर्ने नेपालबाहिर हो । हाम्रा राइडरले जब नेपालको झन्डा राखेको पल्सर बाइक कुदाएर विदेशमा आफ्नो देशको कुरा गर्छ, त्योभन्दा राम्रो प्रमोसन अरू हुनै सक्दैन भनेर पनि लद्दाख छानेका हौँ ।

५. यसअघिका तुलनामा चौथो सिजन कसरी फरक बनेको छ ?
म हरेक सिजनमा प्रत्यक्ष सहभागी छु । यो सिजन अहिलेसम्मकै सबैभन्दा थ्रिलिङ एक्सपेरियन्स र पृथक ठाउँ पनि हो । मनाङ जति अप्ठ्यारो थियो, लद्दाख त्यति अप्ठ्यारो थिएन । लद्दाखमा बाटोको राम्रो सुविधा थियो । तर, लद्दाखमा अल्टिच्युडको च्यालेन्ज थियो । विश्वकै अग्लो मोटरेबल पास पार गर्नुपथ्र्यो । राइडर बिरामी पर्ने, अक्सिजन नपुगेर ढल्ने हुन सक्थ्यो । कतिपय ठाउँमा राइडर बिरामी पनि परेका छन् । राइडरले हपहपी गर्मीदेखि माइनस १० डिग्रीसम्मको चिसो झेल्नुप¥यो । अल्टिच्युडले स्वास्थ्यमा मात्र समस्या आउने होइन, अक्सिजन राम्रोसँग पास भएन भने बाइकले पिकअप पनि दिन छोड्छ । राइडरले कति ठाउँमा बाइक धकेलेका पनि छन् ।

योपटक राइडरले लामो दूरी पार गरेका छन् । रातभरि बाइक चलाएका छन् । खाने र सुत्ने ठेगान हुँदैनथ्यो । योपटक पल्सर डेयर भेन्चरको कम्प्लिट सेट नै चेन्ज भएको छ । जुन खालको टास्क राखिएको थियो, त्यो एक्स्ट्रिमसम्म पुग्न सक्ने नसक्ने पनि च्यालेन्ज थियो । सडक राम्रो होला, अरू सबै गाह्रो थियो । पिच बाटोमा कुदे पनि राइडरहरू कुनै ठाउँ माइनस १० डिग्रीमा पनि पुगेका छन् । मरुभूमिमा पनि राइडरले बाइक कुदाएका छन् ।

राइडरले पाँच वटा उचाइमा रहेका पासहरू पार गरेका छन् । विश्वको सबैभन्दा अग्लो मोटरेबल पास खारदुङ्ला पार गर्नु नै सबैभन्दा ठूलो चुनौती थियो । खारदुङ्लामा राइडर बिरामी नै परे । अरू पासहरू पनि पार गर्न कठिन थियो । यो सिजन राइडरका लागि हार्डकोर राइडिङ एक्सपेरियन्स हो । यस्तो हार्डकोर राइडिङ पहिलाका सिजनमा भएको थिएन । मनाङको ड्राइभ गाह्रो भए पनि लद्दाखको जस्तो मौसम परिवर्तन र अल्टिच्युडले हान्ने समस्या मनाङमा थिएन । त्यो एक्स्ट्रिम यो सिजनमा छ ।

६. राइडरका लागि पल्सर डेयर भेन्चर कस्तो प्लेटफर्म बनेको छ ?
पल्सर डेयर भेन्चरले बाइक राइडरलाई एउटा राम्रो प्लेटफर्म दिइरहेको छ । राइडरलाई नयाँ नयाँ ठाउँको एडभेन्चर्स र थ्रिल एक्सपेरियन्स गराइरहेको छ । पल्सर डेयर भेन्चरको उद्देश्य राइडरलाई अनुशासित र व्यावहारिक बन्न सिकाउनु पनि हो । बाइक कुदाउँदा अनुशासित हुनु जरुरी छ । यदि राइडर अनुशासित छैन, नियम पालना गर्न सक्दैन, मार्सलको निर्देशन मान्दैन, टास्कको ब्रिफिङ राम्रोसँग सुन्दैन भने ऊ पल्सर डेयर भेन्चरमा अटाउन सक्दैन । पल्सर डेयर भेन्चरले राइडरमा हुने फ्रेन्डसिपलाई पनि प्रमोट गर्छ । एक–अर्काको सपोर्टलाई प्रमोट गर्छ । प्रतिस्पर्धा गर्नुपर्छ, तर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । सहयोगी भावना विकास गराउनु पनि पल्सर डेयर भेन्चरको उद्देश्य हो ।

७. चौथो सिजनमा डाइरेक्टरको टिम इन्डियन राख्नुभयो । किन ?
डाइरेक्टरको पूरै टिम इन्डियन होइन । टिममा नेपाली डाइरेक्टर सिमोस सुनुवार पनि हुनुहुन्छ, । सिमोस दाइको टिमले सिनेमाटोग्राफी गरेको हो । यो सिजनमा दुई देशका डाइरेक्सन टिमको कम्बिनेसन छ ।

यसपटक क्रिएटिभ डाइरेक्टर, एसोसिएट डाइरेक्टर, एडिटरहरू सबै इन्डियन हुनुहुन्छ । क्रिएटिभ डाइरेक्टर विवेकभूषण माथुर हुनुहुन्छ । उहाँ इन्डियाकै रियालिटी सो क्षेत्रमा सबैभन्दा राम्रो डाइरेक्टर हुनुहुन्छ । उहाँ बम्पी नामबाट बढी चिनिनुहुन्छ । उहाँले इन्डियामा धेरै रियालिटी सो डाइरेक्सन गर्नुभएको छ । उहाँको क्रिएटिभ इनपुट दिनुभएको छ ।

एसोसिएट डाइरेक्टरहरू पनि एकदमै राम्रो अनुभव भएको हुनुहुन्थ्यो । उहाँहरूले क्यामेराको फ्रेमिङमा निकै ध्यान दिनुभएको छ । अघिल्ला सिजनमा क्यामेराको प्लेसमेन्ट राम्रो भएको थिएन । यदि क्यामेराको प्लेसमेन्ट राम्रो भएको भए अझ राम्रो गर्न सकिन्थ्यो भन्ने महसुस भएको थियो । यसपटक त्यो समस्या पनि छैन । योपटक निकै इम्प्रुभ भएको छ । दर्शकले पहिलाभन्दा धेरै रमाइलो अनुभव गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *