नेकपामा आउन धवलशम्शेरलाई प्रचण्डको निम्तो

नेपालगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जका मेयर धवलशम्शेर राणालाई आफ्नो पार्टीमा आउन सार्वजनिक रुपमा निम्तो दिएका छन् ।

मंगलबार बाँकेमा आयोजित कार्यक्रममा प्रचण्ड र धवलशम्शेरको एउटै कार्यक्रममा सहभागी भएका थिए । पूर्व एमाले समूहको नेता मात्र नभई पहिलो शान्ति वार्तामा व्यवस्थापकीय सहयोग गर्ने व्यक्ति समेत धवलशम्शेर भएको भन्दै उनले अघि भने, ‘आफ्नो मुलमा आउनेबारे सोच्न आग्रह गर्छु ।’

उनले यसोभन्दा सहभागीहरुले ताली बजाए । यसले राणालाई स्वागत गर्न नेकपा कार्यकर्ता तयार रहेको भन्ने प्रष्ट भएको अध्यक्ष प्रचण्डले बताए ।

निर्यात वृद्धिको रहस्य : पाम आयल !
आयात-निर्यातको पछिल्लो तीन महिनाको सकारात्मक तथ्यांकले सरकार निकै हौसिएको छ । सरकार समर्थकहरुले पनि यसलाई ठूलो उपलब्धिको रुपमा चित्रण गरेका छन् ।

यो उत्साहको कारण हो, आयात घटेर निर्यात बढ्नु अनि व्यापार घाटा खुम्चिनु । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो टाउको दुखाइको विषय नै हो व्यापार घाटा । त्यसैले तीन महिनामा ४ अर्ब व्यापार घाटा कम हुँदा पनि खुशीयाली छाएको छ । यद्यपि, विज्ञहरुले भने यसलाई फरक नजरले हेरेका छन् ।

साउनदेखि असोजसम्मको तथ्यांकमा कूल ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ बराबरको बस्तु आयात हुँदा २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँको निर्यात व्यापार भएको छ । यो अघिल्लो वर्षको तुलनामा केही सुधारिएको अवस्था हो । अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको थियो । यस हिसाबले झण्डै ४० अर्ब न्यून आयात भएको छ ।

यसैगरी अघिल्लो वर्षको पहिलो त्रैमासिकमा २३ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएकोमा यस वर्ष २७ अर्ब १६ करोड पुगेको छ । यो १४ प्रतिशत वृद्धि हो । आयात र निर्यातको यही ट्रेन्ड वर्षभरी कायम रहेको खण्डमा पक्कै पनि व्यापार घाटामा थोरै नियन्त्रण कायम हुनेछ । तर, यो सुरुवात मात्र हो । अझै पनि आयात र निर्यातका बीचमा भयानक खाडल विद्यमान नै छ ।

आयात घटेकोमा रमाउँदै गर्दा कुन-कुन उत्पादन कति आयात भयो भन्ने विश्लेषण पनि आवश्यक हुन्छ । तीन महिनाको अवधिमा करिब ८ अर्ब रुपैयाँ बराबरको तरकारी-फलफूल आयात भएको छ, जुन कृषिप्रधान देशका लागि सुहाउँदो कुरा होइन । पर्फ्युम र सौन्दर्य सामग्रीमा ३ अर्ब रुपैयाँ बाहिरिएको छ । महंगा फर्निचर, सवारी साधन र अन्य बिलासिताका सामग्रीमा पनि ठूलो रकम बाहिरिएको छ ।

पाम आयलले थेगेको निर्यात

निर्यात वृद्धिमा भने सबैभन्दा ठूलो हात पाम आयलको देखिएको छ । प्रशोधित पाम तेल तीन महिनामै ७ अर्बको निर्यात भयो, जुन नेपालको आफ्नो उत्पादन होइन । भारतबाट कच्चा पदार्थ आयात गरी नेपालमा ‘भ्यालू एड’ गरी भारतमै पठाउने गरिएको छ ।

गत वर्ष पनि पाम आयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको थियो । आव २०७५/७६ मा १० अर्ब ३३ करोड ३० लाख ५१ हजारको पाम तेल निर्यात भएको थियो । यो वर्ष अझै निर्यात बढ्ने देखिएको छ ।

इन्डोनेसिया, मलेसिया र थाईल्याण्ड लगायतका देशबाट कच्चा तेल आयात भएर नेपालबाट भारतमा मात्रै निर्यात हुने गरेको छ । नेपालमा ताडी पनि भनिने यो एक प्रकारको वनस्पतिजन्य तेल हो । सूर्यमूखी र स्वयाबिन तेल जस्तै पाम आयलको प्रगोग पनि दक्षिण एसियाली मुलुक र अफि्रकामा ब्यापक रहेको छ ।

नेपालमा प्रतिलिटर एक सय रुपैयाँ भन्दा बढी पर्ने उक्त तेल विभिन्न खाद्य तेल उत्पादक कम्पनीहरुले आयात गरेर भारतमा निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ । पाम आयल आयात गर्ने विश्वको सबैभन्दा ठूलो मुलुक भारत हो । भारतले एक वर्षमा करिब १५ मिलियन टन पाम आयल आयत गर्ने गरेको छ । तर, भारतमा पाम आयल तीन लाख टन मात्रै उत्पादन हुन्छ ।

के भन्छन् अर्थविद ?

अर्थविद तथा नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री आयात-निर्यातको समग्र तथ्यांक हेर्दा सन्तोषजनक भए पनि वास्तविक अवस्था उत्साहजनक नरहेको बताउँछन् ।

‘जुन वस्तु स्वदेशमै उत्पादन गरेर आयात प्रतिस्र्थापन गर्न सकिन्छ, त्यता ध्यानै दिइएको छैन,’ उनी भन्छन्, ‘पाम आयल भारत पठाएर निर्यात बढ्यो भन्नु निकै जोखिमपूर्ण निर्यातको तथ्यांक हो ।’

उनको भनाइमा वाणिज्यविद तथा पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझासमेत सहमत छन् । ‘आयात घट्नु राम्रो विषय हो,’ उनले भने, ‘तर निर्याततर्फ मूख्य हिस्सा पाम तेलको छ, यो जुनसुकै बेला पनि भारतले आयात रोक्न सक्ने उत्पादन हो ।’

भारतबाट कच्चा पदार्थ ल्याएर भारतमै निर्यात गर्नु दीर्घकालिन नहुने भन्दै विज्ञहरु आफ्नो प्रतिस्पर्धी क्षमता बढी भएका वस्तुको स्वदेशमै उत्पादन बढाउन सुझाव दिन्छन् ।

अर्थ मन्त्रालयले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने नीतिको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिन थालेको बताएको छ । तर, यस भनाइमा विज्ञहरु भने सहमत छैनन् । पूर्वमूख्यसचिव तथा अर्थविद् डा विमल कोइराला औद्योगिक कच्चा पदार्थ, मेसिनरी सामान, पेट्रोलियम पदार्थजस्ता उत्पादनसिल बस्तुको आयात घट्दा त्यसले अर्थतन्त्रमा दीर्घकालीन रुपमा कस्तो असर पार्छ भनेर विश्लेषण गर्नुपर्ने बताउँछन् ।

‘अनुत्पादक वस्तु र स्वदेशमै उत्पादनको सम्भावना भएका बस्तुको आयात झन-झन बढ्नुबाट अहिले नै सरकारको नीतिले काम गरेको मान्न सकिँदैन,’ उनले भने ।

पुँजी निर्माण गर्ने सामग्रीको आयातले घाटा नहुने भन्दै विलासिताका सामानको आयात कम गर्न सरकारी नीति अझै प्रभावकारी नरहेको विज्ञहरु बताउँछन् ।

रेमिट्यान्समा गिरावटको प्रभाव

मूख्य चाडबाड दशैं-तिहारको मुखमै रेमिट्यान्स घटेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । चाल आवको पहिलो दुई महिना साउन-भदौमा रेमिट्यान्स घटेको हो ।

यी दुई महिनामा आउने रेमिट्यान्सकै आधारमा धेरै नेपालीले असोज-कात्तिकमा किनमेल गर्छन् । तर, साउन-असोजमै कूल वस्तु आयात घट्नुमा रेमिट्यान्स गिरावटको प्रभाव हुन सक्ने आँकलन पनि विज्ञहरुको छ ।

‘तथ्यांकहरुले रेमिट्यान्स घटेको देखाउँदा आयात पनि घटेको छ,’ वाणिज्यविद् ओझा भन्छन्, ‘कतै यी दुई पक्षबीचमा पो सम्बन्ध छ कि, त्यसमा विश्लेषण गर्न सकिन्छ ।’

नियमित विद्यूत आपूर्ति

तीन महिनाको अविधमा डिजेल आयात गत आवको यही अवधिको तुलनामा करीव ५ अर्ब हाराहारी घटेको छ । विज्ञहरुले यसलाई सकारात्मक रुपमा लिएका छन् । खासगरी उद्योगहरुमा नियमित विद्यूत आपूर्ति हुन थालेपछि जेनेरेटरका लागि प्रयोग हुने डिजेलको आयात क्रमशः घट्न थालेको विश्लेषण गरिएको छ ।

तर, औद्योगिक उत्पादन नै प्रभावित हुने गरी डिजेल कम आएको भए त्यो चाही अर्थतन्त्रका लागि सकारात्मक नहुने पूर्वमूख्यसचिव डा. कोइराला बताउँछन् ।

राजस्वमा भार पर्छ ?

आयात घट्दा राजस्वमा भार पर्छ भन्ने अर्थ मन्त्रालयको तर्कमा समेत विज्ञहरु सहमत छैनन् । राजस्यका निकायले खर्च कटौतीमा गम्भीर नहुने तर, आयातलाई मात्र दोष देखाएर आफूहरु उम्कने गरेको उनीहरुको भनाई छ ।

‘पहिले राज्यका सञ्चालकहरु मितव्ययी बन्नु पर्‍यो,’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘बिलासी गाडी, जीवनशैली, विदेश भ्रमणमा राज्यको अर्बौं रुपैयाँ खर्च गर्ने अनि आयात घटेर कम राजस्व उठ्यो भन्नुमा कुनै तुक देखिदैन ।’ अहिले पनि देशमा उत्पादन सम्भव भएका बस्तुको आयात घटाउन सक्ने हो भने निर्यात नबढे पनि अर्थतन्त्र सुदृढ हुन सक्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *