कालापानी आफ्नो नक्सामा पारेपछि भारत भन्छ, ‘७० वर्षदेखि चलेको सीमा’

बिबिसी – नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा उत्पन्न असन्तुष्टिलाई भारतीय सर्वेक्षण विभागका एक वरिष्ठ अधिकारीले “दुई देशका धारणा भिन्नभिन्न रहे पनि त्यसलाई आफूहरूले विवादास्पद भूमि नमान्ने” बताएका छन्।

नक्सा नयाँ नभएको तर्क गर्दै भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले भने, “यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन।”

“नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो,” बुधवार बीबीसी नेपालीसँग कुरा गर्दै उनले भने।

नेपालको परराष्ट्र मन्त्रालयले भने यस बिषयमा “बुझ्ने काम भइरहेको” बताएको छ। यसबारे सरकारले औपचारिक टिप्पणी गरिसकेको छैन।नेपालको नापी विभागका अधिकारीहरूले कालापानी र सुस्ताको विषय परराष्ट्रसचिव स्तरीय संयन्त्रले हेर्ने भएकाले “आफूहरूले प्रतिक्रिया जनाउन नसक्ने” बताएका छन्।

कालापानीको विवाद के हो?

नेपाल-तिब्बतबीच प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकको चर्चा २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग बेइजिङमा एक समझदारी हुँदा पुन: सुरु भएको थियो।

नेपालसँगको सहमतिबिनै गरिएको उक्त सम्झौताको एउटा बुँदामा भनिएको थियो: “… दुवै पक्ष व्यापारवस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्ला/लिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए।”

झन्डै ५,५३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दु मानिन्छ। त्यो स्थान लिपुलेकभन्दा अझै उत्तरपश्चिममा पर्छ।
सुगौली सन्धिपछि भएका ब्रिटिश इन्डिया सरकारका नक्साङ्कनहरूमा उक्त कुरा उल्लेख रहेको छ।

तर सुगौली सन्धिमा अस्पष्टता रहेको भन्दै त्यहाँको विवाद सुल्झन सकेको छैन।उक्त सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे उल्लेख गरिएको छैन।

बीबीसीसँगको एउटा पुरानो अन्तर्वार्तामा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भनेका थिए, “सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरूमा लिम्पियाधुराबाट निस्किएको काली भनेर लेखिएको छ। त्यसपछिका नक्साहरूमा चाहिँ त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बदलेर लिपुलेक भन्ज्याङबाट निस्किएको नदीलाई चाहिँ काली भनेर लेखेको पाइएको छ।”

“अर्को भारतीय नक्साहरूमा चाहिँ यी दुवैलाई हटाएर टिङ्कर भन्ज्याङनजिकै पङ्खागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ।”

अमेरिका र ब्रिटेनका केही पुस्तकालयमा पुराना नक्साहरू रहेका र तिनलाई आधार मानेर अध्ययन हुने हो भने यी विवादलाई ‘नेपालको पक्षमा’ सुल्झाउन सघाउने सीमाविद् श्रेष्ठको धारणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *