कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बाेलायाे

काठमाण्डाै – भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्बन्धमा छलफल गर्न संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आउँदाे सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो । नेपाल-भारतबीच कालापानीका सम्बन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उहाँलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो ।

कालापानी क्षेत्र नेपालको हो, भारत एक्लैको निर्णय मान्दैनौँ : परराष्ट्र मन्त्रालय
भारत सरकारले केही दिनअघि मात्रै प्रकाशित गरेकाे नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ– कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ।नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ ।

मन्त्रालयले नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको जनाएको छ । साथै मन्त्रालय दुई मित्र राष्ट्रहरूबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *