‘भारतीय हस्तक्षेप सह्य हुँदैन’

ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र आफ्नो पार्टी राष्ट्रियताको मुद्दामा दृढ रहेको बताएका छन्। जिल्लास्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि हुन ताप्लेजुङ आएका श्रेष्ठले कुनै पनि सार्वभौम मुलुकलाई वाह्य हस्तक्षेप सह्य नहुने प्रष्ट पारे।

‘सार्वभौमसक्ता सम्पन्न मुलुकमा कुनै पनि खालको हस्तक्षेप हुन नदिन सरकार प्रतिवद्ध छ,’ उनले भने,‘राष्ट्रियताका मुद्दामा सबैको सहमति खोजेर अगाडी बढ्छौं।’

पश्चिमी सीमा मिचिएको सन्दर्भमा सरकारले पहिलेदेखि नै अडान राख्दै आएको श्रेष्ठको भनाई छ। त्यसलाई समाधान गर्न पहिले पनि परराष्ट्र सचिवस्तरको वार्ता भएको बताउँदै श्रेष्ठले भने,‘कालापानी र लिपुलेक हाम्रो हो, त्यसलाई हरहालतमा नेपाली भूभागको रुपमा स्थापित गरेरै छाड्छौं।’अर्को प्रसंगमा श्रेष्ठले मौलिक हकको कार्यान्वयनका लागि कानुन बनाउन सरकारले पछिल्लो समय खर्चिएको बताए।

बालुवाटारमा सर्वदलीय बैठक सुरु
प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादका बारेमा छलफल हुनेछ।

दलका शीर्ष नेता र केही विज्ञलाई बैठकमा बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने अपेक्षा गरिएको छ।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइराखेको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनले संयुक्त आन्दोलन चर्काइरहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको हो।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधनवकुमार नेपाल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राजपा नेताहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राप्रपा अध्यक्ष कमद थापा राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारसँगै मन्त्रिपरिषदका सदस्य र नेकपा शीर्ष नेतासँगै विभिन्न दलका शीर्ष नेताको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *