बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिक

लियोनल मेस्सीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि ४–१ को जित निकालेको छ ।क्याम्प नोउमा भएको खेलमा मेस्सीले दुई वटा उत्कृष्ट फ्रीकिक र एउटा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । २३ औं मिनेटमा जुनियर फिर्पोले प्रहार गरेको बल सेल्टाका डिफेन्डर जोसेफ आइडोको हातमा लागेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४२ औं मिनेटमा सेल्टाका लुकास ओलाजाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसको चार मिनेपछि मेस्सीले फ्रीकिकबाट गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । ४८औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले अग्रता ३–१ मा लम्ब्यायो ।खेल सकिन पाँच मिनेट बाँकी हुँदा सर्जियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए।

जितसँगै बार्सिलोनाले रियल मड्रिडलाई पछाडि धकेल्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि रियलले एइबारलाई ४–० ले हराएको थियो ।दुवै टिमको २५ अंक छ । रियल मड्रिडभन्दा बार्सिलोना दुई गोलले अघि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *