प्रदर्शनमा केन्द्रित चलचित्र स्वर्णिम महोत्सव

वीरगन्ज। विगतमा भारतीय सिनेमाको बाहुल्यता रहेको प्रदेश २ को वीरगन्ज सहरमा २१ कात्तिकबाट तीन दिनसम्म नेपाली चलचित्रको स्वर्णिम महोत्सव आयोजना गरियो । नेपाली चलचित्रले ५० वर्ष पार गरेको अवसरमा नेपाल चलचित्र निर्माता संघले यो स्वर्णिम महोत्सव आयोजना गरेको हो । बिहीबार बिहान सहरमा झाँकी प्रस्तुतिसँगै सुरु भएको यो महोत्सव शनिबार बेलुका नाचगान प्रस्तुतिसँगै सम्पन्न भएको छ ।

राष्ट्रिपतिद्वारा महोत्सव उद्घाटन

नेपाली चलचित्र क्षेत्रलाई राज्यले उपेक्षा गरेको टिप्पणी सिनेकर्मीले गरिरहेका छन् । यस्तो अवस्थामा वीरगन्जमा सम्पन्न यो महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । राष्ट्रिपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफंैमा अनुपम प्राकृतिक चलचित्र नगरी भएको बताउँदै यो मनोरम नगरीमा छायांकन स्टुडियो निर्माण गरी अन्तर्राष्ट्रिय क्षेत्रलाई पनि आकर्षित गर्न सक्नु पर्ने सुझाव दिइन्,‘यहाँको प्राकृतिक, सांस्कृतिक र भौगोलिक वैभवतालाई अधिकत सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगतलाई आकर्षित गर्ने गरी चलचित्र छायांकन गन्तव्यका रूपमा नेपाललाई प्रवद्र्धन गर्नुपर्छ ।’ उनले महोत्सवले प्रशंसा गरिन् ।

उद्घाटनमा सञ्चारमन्त्री गोकुल बासकोटाले नेपाली चलचित्रको विकास र विस्तारमा यो महोत्सवले निकै ठूलो अर्थ राख्ने बताए । उनले अब नेपाली चलचित्र मौलिक र आफ्ना बन्नुपर्नेमा जोड दिँदै नेपालका शाहसिक योद्धा, वीर सपूत, शहीद तथा विभिन्न सफल व्यक्तिको जीवनमा पनि चलचित्र बनाउन उनले सुझाव दिए । यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपालमा होनहार कलाकार भएर पनि हामी बलिउडका फिल्मबाट अतिक्रमित भएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे । अब नेपालका उद्योगपतिले राम्रा नेपाली चलचित्रमा लगानी गरेर नेपालमा हाम्रा र राम्रा चलचित्रसँगै नेपाली कला संस्कृतिलाई उत्थान गर्नुपर्छ भन्ने आह्वान गरे । यस्तै, आयोजक संस्थाका अध्यक्ष आकाश अधिकारले हिमाल पहाड र तराईलाई सिनेमाको माध्यमबाट जोड्न आफूहरूले पहिलोपटक तराई (वीरगन्ज)मा यो महोत्सव आयोजना गरेको बताए ।

महोत्सवमा गोविन्दाको आकर्षण

वीरगन्जबासीले महोत्सवमा सबैभन्दा बढी चासो बलिउड अभिनेता गोविन्दाप्रति देखाए । महोत्सव उद्घाटन समारोहमा गोविन्दा आउने भनेपछि सर्वसाधारण समेत उनलाई हेर्न पुगेका थिए । तर, उद्घाटनमा उनी नआएपछि गोविन्दाका प्रशंसकहरू दुःखी भएका थिए । बिहीबार बेलुका गोविन्दाले नेपाली नृत्यकलाकारसँग आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरेपछि गोविन्दाको प्रशंसकले उनको वाहवाही गरे । महोत्सवकै सबैभन्दा बढी दर्शकको उपस्थिति गोविन्दाको शोमा भएको थियो । बिहीबार बेलुका अबेर साँझबाट सुरु भएको नृत्य कार्यक्रममा गोविन्दालाई हेर्न दर्शक अन्त्यसम्म पनि कार्यक्रममा बसेका थिए ।

पुराना नया सिनेकर्मीको जमघट

नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ का कारण वीरगन्ज यसपटक नेपाली चलचित्रमय बन्यो । नेपाली चलचित्रका संस्थापक पुस्ताका भुवन चन्द, बसुन्धरा भुसाल, नीर शाह महोत्सवमा थिए । त्यसपछिका अग्रजहरू शिव श्रेष्ठ, भुवन केसी, हरिवंश आचार्य, शम्भुजीत बासकोटा, कृष्ण मल्ल, रविन्द्र खड्का, रमेश बुढाथोकी, सुनिल थापा, लक्ष्मीनाथ शर्मा, लक्ष्मी गिरी, लय संग्रौला पनि महोत्सवमा थिए । त्यसपछिका पुस्ताका किरण केसी, दिनेश डिसी, झरना थापा, निरुता सिंह, दीपकराज गिरी, दीपाश्री निरौला, बिराज भट्ट, रेजिना उप्रेती हुँदै नयाँ पुस्ताका निता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, वर्षा राउत, संजोक कोइराला, छुल्ठिम गुरुङ, सन्दिप क्षत्रीसम्मका थुप्रै कलाकार अहिले वीरगन्जमा छन् । वीरगन्जको आदर्शनगर स्थित रंगशालामा आयोजित यो महोत्सवमा तीन दिनसम्म कलाकारको सहभागिता देख्न पाइयो ।

नृत्य र गायन मुखी महोत्सव

नेपाली चलचित्र स्वर्णिम महोत्सव यसपटक बहसभन्दा पनि प्रदर्शनमुखी बन्यो । महोत्सवको तीन दिन नै नाचगान प्रस्तुत गरियो । वीरगन्जबासीलाई जमघट गराउन सजिलो होस् भनेर पनि महोत्सवलाई प्रदर्शनमुखी बनाइएको हुनुपर्छ । महोत्सवमा लगातार तीन दिन नै प्रत्येक बेलुका नाचगान कार्यक्रम गरियो । यो नाचगान कार्यक्रमले वीरगन्ज र आसपालका दर्शकलाई विगतमा आयोजना हुने विभिन्न औद्योगिक मेलाको आवास दिलाएको थियो । विगतमा हुने औद्योगिक मेलामा पनि विभिन्न कलाकारले यस्तै नाचगान गर्थे । यसपटक स्वर्णिम महोत्सवमा पनि यस्तै नाचगान भयो । यसपटक महोत्सवमा पहिलो दिन बिहीबार बेलुका बलिउड अभिनेता गोविन्दाको प्रस्तुति दर्शकका लागि आकर्षक बन्यो । उनको प्रस्तुतिका सामु अरू नेपाली र स्थानीय कलाकार छायामा परे ।

गोविन्दा गएपछि दोस्रो दिन बेलुकाको प्रस्तुतिमा पुष्प खड्का छुल्ठिम गुरुङ र निता ढुंगानाको नृत्यमा दर्शकको बढी ताली बज्यो । सुनिल क्षत्रीको नाचबाट पनि दर्शकले आनन्द दिए । चेतन सापकोटा, युवराज चौलागाई, प्रविधा अधिकारीले पनि आफ्नो गीतबाट दर्शकलाई नचाए। स्थानीय कलाकारको भोजपुरी भाषाको प्रस्तुतिलाई दर्शकले तालीले साथ दिए । महोत्सवको अन्तिम दिन शनिबार बेलुकाको प्रस्तुतिमा हास्य कलाकार सन्दीप क्षत्री (मिठाईलाल)ले सबैलाई छायामा परे । निरुता सिंहको नृत्यमा दर्शकले ताली बजाए । यम बरालको गायन पनि राम्रो थियो । उनीसँगै स्थानीय कलाकारको नाचगानसँगै महोत्सव सम्पन्न गरियो ।

तीन चलचित्र प्रदर्शन

महोत्सवमा शनिबार तीनओटा चलचित्र प्रदर्शन गरियो । बिनोद पौडेल निर्देशित चलचित्र बुलबुल बिहानीको सोमा प्रदर्शन गरिएको थियो । अन्य सोजस्तो चलचित्र प्रदर्शनी सोमा दर्शकको त्यतिधेरै उपस्थिति रहेन । दोस्रो सोमा भुपेन्द्र खड्काको लघु चलचित्र आमा र दिउँसोको सोमा मह जोडीको चलचित्र शत्रु गते प्रदर्शन गरियो । महोत्सवको चलचित्र प्रदर्शनले पनि यो महोत्सव प्रदर्शनमुखि भएको प्रस्ट्यो ।

मुरलीधरणको कार्यशाला

सिनेकर्मीहरूका लागि नेपाली चलचित्र स्वर्णिम महोत्सवको महत्वपूर्ण आकर्षण भनेको बलिउडका अग्रज छायाँकार सिके मुरलीधरणको सिनेमाटोग्राफी वर्कसप बन्यो । उधोगबाणिज्य संघको हलमा चार घन्टासम्म चलेको यो कार्यक्रममा प्राविधिक, चलचित्र निर्देशक, सञ्चारकर्मीदेखि विद्यार्थीसम्मको उपस्थिति थियो । मुरलीधरणले आफ्ना अनुभव सुनाउँदै छायाँकन सम्बन्धि विभिन्न उपयोगी टिप्सहरू दिएका थिए ।

सूचना केन्द्रको अभावसँगै खाली स्टल

चलचित्र स्वर्णिम महोत्सव निकै भव्य भए पनि सञ्चारकर्मीले सूचना प्राप्तिको लागि सूचनाकेन्द्रको अभाव महसुस गरे । तीन दिनको महोत्सवबारे जानकारी दिनका लागि महोत्सव स्थल तथा अन्यत्र प्रेस सेन्टरसमेत राखिएका थिए ।
कार्यक्रम स्थलमा पुगेका स्थानीय सञ्चारकर्मीलाई कार्यक्रम विवरणसमेत नदिँदा सूचना प्राप्तिका लागि कार्यक्रम अबधिभरी बस्नु परेको थियो । करोड रुपैयाँ खर्चेर गरिएको महोत्सवमा महोत्सव स्थलमा बनाइएका कैयौं स्टल
खाली देखिए ।

ती स्टलहरूमा सूचना केन्द्र राखिएको भए सञ्चारकर्मी देखि दर्शकसम्मलाई सूचना प्राप्त गर्न सजिलो हुन्थ्यो भन्ने गुनासो स्थानीय सञ्चारकर्मीले गरे । महोत्सव अवधिभर कार्यक्रमबारे कुनै पनि विज्ञप्तिहरू प्रेषित पनि भएको देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *