‘नार्सिसिस्ट’हरु सबैभन्दा खुसी

सुन्दा अचम्म र अपत्यारिलो लाग्न सक्छ, यस्ता मानिस जीवनमा सबैभन्दा खुसी रहन्छन् भनेर । मनोवैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले त्यस्तै कुरा पत्ता लगाएका छन् जुन हत्तपत्त पत्याउन सकिँदैन । उनीहरुले गरेको लामो अध्ययन–अनुसन्धानले निष्कर्ष निकालेको छ– ‘आत्ममुग्ध मानिस अनौठा हुन्छन्, तर ती जीवनमा अरुभन्दा खुसी रहने गर्छन् ।’

आत्ममुग्ध अर्थात् आफैंमाथि मोहित या आत्मरतिमा रमाउने । अङ्गे्रजीमा भन्दा नार्सिसिस्ट । यी यस्ता मानिस हुन् जो आफूलाई अन्यभन्दा महान् र स्तरीय ठान्ने भ्रममा रहन्छन् । आत्ममुग्ध मानिस स्वयम्लाई आवश्यकताभन्दा बढी भाउ दिन्छन् र अर्को व्यक्तिले आफूप्रति बढी ध्यान दिनुपर्ने भावना यिनमा रहन्छ । एकप्रकारले यस्ता मानिस ‘एटेन्सन सिकर’ हुने गर्छन् ।

उत्तरी आयरल्यान्डस्थित क्विन्स युनिभर्सिटीका मनावैज्ञानिकहरुले नार्सिसिस्टमाथि शोध गरेका थिए । सो शोधबाट आत्ममुग्ध मानिस सहज ढङ्गमा डिप्रेसन तथा तनावको सिकार नहुने पत्ता लागेको थियो । यस्ता मानिसको व्यवहार अरुलाई तनाव दिने, तर त्यसबाट आफू कुनै पनि हालतमा दुःखी नहुनेखालको रहेको हुन्छ । शोधको अगुवा मनोवौनिक डाक्टर कोस्टास प्यापजार्ज भन्छन्, ‘‘आत्ममुग्ध हुनुको आफ्नै फाइदा छन् ।’’

शोधकर्ताहरु आधुनिक समाजको हरेक क्षेत्र– राजनीति, सामाजिक सञ्जालहरु, सेलिब्रिटी कल्चरलगायतमा आत्ममुग्धता बढेको बताउँछन्। यद्यपि, समाजले आत्ममुग्धतालाई कुनै पनि कोणबाट राम्रो मान्दैन ।

कम लाज, कम पछुतो

मनोवैज्ञानिकहरुको परिभाषामा आत्ममुग्धहरु ‘दम्भी मानिस’ हुन् । ती आफूलाई असल सम्झन्छन् । आवश्यकताभन्दा बढी आत्मविश्वासले भरिएका हुन्छन् । अरुको दुःख–पीडामा कम ध्यान दिन्छन् । तिनमा लाज कम हुन्छ र पछुतो पनि निकै कम हुन्छ । नकारात्मक सोच हुँदाहुँदै पनि किन आत्ममुग्ध मानिस खुसी हुन्छन् भन्ने कुराको खोज पनि मनोवैज्ञानिकहरुले गरिरहेका छन् ।

आत्ममुग्ध मानिस खुसी हुनुलाई मनोवैज्ञानिकहरुले एक ‘पहेली’ मानेका छन् । यिनीहरु त्यस्तै हुन् जस्ता साइकोप्याथीहरु हुने गर्छन् । र, यिनमा स्याडिज्म (परपीडक– अरुको दुःखमा खुसी हुने) आदत हुन्छ ।

सत्ताको नजिक पुग्न सफल

हालैको अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि, आत्ममुग्ध मानिस कार्यक्षेत्र तथा निजी जिन्दगीमा अपेक्षाकृत बढी सफल हुन्छन् । यस्ता मानिसमा एक किसिमको ‘मानसिक मजबुती’ हुन्छ, जसका कारण उनीहरु निराशाबाट छिट्टै तङ्ग्रिन्छन् । डा. कोस्टासका अनुसार नार्सिसिस्टहरुमा थुप्रै नकारात्मकता हुनुका साथै यिनले अरुको विचार र व्यवहारलाई आफूविरुद्धको ठान्छन् । यिनीहरु असुरक्षाको भावनाबाट घेरिएका हुन्छन् । उनी भन्छन्, ‘‘धेरै प्रकारका नकारात्मक सोच हुँदाहुँदै पनि नार्सिसिस्टहरु विभिन्नखाले फाइदामा रहेका हुन्छन् ।’’ (बीबीसीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *