वीरगन्जमा पनि घन्कियो ‘गो ब्याक इण्डिया’

वीरगन्ज : नेपाली भूमि भारतले आफ्नो नक्सामा राखेको भन्दै वीरगन्जमा पनि विरोधमा प्रदर्शन भएको छ। सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार विरोधमा प्रदर्शन गरेको हो।

विद्यार्थीले वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावास घेराउ गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन्। आइतबार साँझ घण्टाघर चोकबाट अनेरास्ववियु र देश बनाउन संघर्ष समिातिले छुट्टाछुट्टै जुलुस निकालेर महावाणिज्य दूतावास घेराउ गरेका हुन्।

दुतावासको मुल प्रवेशद्वारमा विद्यार्थीहरुले केहीबेर धर्नासमेत दिएका प्रदर्शनकारी बताइएको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरुले गोे ब्याक इण्डिया, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी-लिपुलेक-लिम्पियाधुरा हाम्रै हो, नेपाली सीमा मिच्न पाइँदैन, छिमेकीले नेपाललाई हेप्न पाइँदैन, स्वार्थी छिमेकी चाहिँदैन, मिचिएको नेपाली भूमि फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

भारतले नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको बलमिच्याइँका कारण नेपाली सीमा मिचिएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले आइतबार यस्तो बताएका हुन्।

‘ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक-कालापानी-लिम्पियाधुरा नेपालकै भूमि हो, हामीसँग प्रर्य‍‍ाप्त प्रमाण छन्’, उनले भने,’यति हुँदाहुँदै पनि भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो, समस्या सामधान गर्न सरकारले कूटनीतिक कदम चाल्छ।’

विगतका सरकार निरंकुश तानाशाही हुँदा र नेताले सत्तालाई बढी प्रथामिकता यस्तो समस्या निम्तिएको मन्त्री ज्ञावालीले प्रष्ट पारे। अहिलेको सरकारले निडर भएर आफ्नो भूमिको सुरक्षा गर्ने समेत उनले बताए।

‘विगतमा सरकार निरंकुश तानाशाही हुँदा र नेताहरुले सत्तालाई बढी प्रथामिकता दिँदा सीमा खुम्च्याउने काम भएको छ। त्यो बेला कूटनीतिक महल हुन सकेन’, मन्त्री ज्ञावालीले भने,’अहिलेको सरकारले राष्ट्रियता, स्वाधिनता र सीमा सुरक्षाको विषयमा निडर भएरअघि बढ्छ।’

शनिबार भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकमा सहभागी प्रमुख प्रतिपक्षीलगायत सम्पूर्ण दलले भूमि रषामा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका थिए । सीमा विवादको विषयमा आन्दोलनरत पक्षलाई उत्ताउला अभिव्यक्ति नदिनसमेत प्रधानमन्त्रीले आग्रह गरेका छन् । सरकारले भारतलाई मैत्रीपूर्ण ढंगले तथ्यतथ्यांक राखेर सम्झाएरै आफ्नो भूभाग फिर्ता लिने प्रधानमन्त्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *