सिन्धुलीगढी युद्धको २५२औँ उत्सव मनाइयो

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अखण्ड नेपालको रक्षा गर्न नेपाली एकजुट हुनुपर्ने बताएका छन् । सिन्धुलीगढी युद्धको २५२औँ उत्सवलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

राष्ट्रियताको सबालमा नेपाली जनता कहिल्यै नझुकेको र सधैँ एकजुट रहेको उनको भनाइ थियो । नेपाली भूमि कालापानी क्षेत्र समेट्ने गरी भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको सन्दर्भ चर्चा गर्दै उनले प्रधानमन्त्रीको आह्वानमा भएको सर्वदलीय बैठकले राष्ट्रिय अखण्डताको सबालमा नेपाली अहिले पनि त्यत्तिकै एकजुट छन् भन्ने सन्देश दिएको बताए । ‘उनले सिन्धुलीगढीले मुलुकको राष्ट्रियता, राष्ट्रिय भावना, सार्वभौमसत्ता र स्वाधीनतालाई बचाएको बताए ।

सिन्धुलीगढी नेपाली र नेपाली सेनाको जीवित इतिहास भएको भन्दै रक्षामन्त्री पोखरेलले पूर्वजहरूले कमाएको विरासत र इतिहास संरक्षण र प्रवद्र्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने योजनालाई पूरा गर्ने काममा सरकार क्रियाशील रहने प्रतिबद्धता जनाए ।

पर्यटन वर्षमा प्रमुख गन्तव्य बनाऔँ
सिन्धुलीगढीलाई पर्यटन वर्ष २०२० को प्रमुख गन्तव्य बनाउन स्थानीय सरकार, प्रदेश सरकार र नेपाली सेनालाई उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे । नेपालका एक सय गन्तव्यमध्ये सिन्धुलीगढी पनि एउटा भएको बताउँदै उनले सिन्धुलीगढीलाई पर्यटकहरूको प्रमुख गन्तव्य बनाउन संग्रालय र दरबार निर्माणले सहयोग पु-याउने धारणा राखे । मन्त्री पोख्रेलले पृथ्वीनारायण शाहले देश एकीकरणका वेला प्रयोग गरेका मार्गहरू पदमार्गका रूपमा संरक्षण गरिने योजना रक्षा मन्त्रालयको रहेको बताए ।

गायक थापाको योगदानको कदर हुने
मन्त्री पोखरेलले सिन्धुलीगढीलाई गीतमार्फत चिनाउने गायक स्व. कृष्णविक्रम थापाको योगदानको कदर गर्दै सरकारले उचित सम्मान गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल एकीकरणका वेलामा तराईमा बसोबास गर्ने नागरिकले गरेको योगदानको कदर गर्दै रक्षा मन्त्रालयले बारामा मेमोरियल पार्क निर्माण गर्न लागेको जानकारी दिए । प्रदेश ३ का योजनामन्त्री कैलाश ढुंगेलले सिन्धुलीगढीको पुनर्निर्माण गर्न प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताए । दरबार निर्माणको लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गरेको स्मरण गराउँदै उनले आवश्यकताअनुसार बजेट थप हुने बताए ।

युद्ध संग्रहालय शिलान्यास
सिन्धुलीगढीमा आइतबार सिन्धुलीगढी संग्रहालयको शिलान्यास गरिएको छ । त्यसलाई युद्ध संग्रहालयको नाम दिइएको छ । रक्षा मन्त्रालयको चार करोड ५० लाखको लागतमा संग्राहलय सम्पन्न हुनेछ । संग्रहालयमा युद्धका वेला अंग्रेज फौजलाई हराउन प्रयोग गरिएका हतियारलगायत सामग्री राखिने जनाइएको छ । त्यस क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालीन समयमा नेपाली सेनाले प्रयोग गरेको र अहिले हेटौँडाको सुपारेटारमा रहेको मध्य पृतनामा राखिएको तोप पुनः सिन्धुलीगढीमा ल्याएर राख्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *