दिल्लीको कोठीमा बेचिएकी चेली ग्राहकसितै प्रेममा परेपछि पिँजडामुक्त

काठमाडौं । नुवाकोटको विकट गाउँमा जन्मिएकी सुस्मिता (नाम परिवर्तन) ले १४ वर्षको कलिलो उमेरमै मातृ स्नेहबाट बञ्चित हुनुपर्‍यो । आमा गुमाएको पीडा आलै छँदा बुबाले कान्छी श्रीमती भित्र्याए ।

सुरुवाती दिनमा सौतेनी आमाले राम्रै व्यवहार गरिन् । तर, बिस्तारै ‘सौतेनी व्यवहार’ देखाउन थालिन् । विद्यालय पठाउने त कुरै छाडौं, मानसिक र शारीरिक यातना उनका लागि दैनिकी बन्न थाल्यो ।विस्तारै बुबाले पनि वास्ता गर्न छाडे । अन्ततः २०६७ सालमा उनी गाउँ छाडेर काठमाडौंतिर हानिइन् ।सुनिताले कल्पेकी थिइन्, ‘काठमाडौंमा गएपछि भविष्य सुन्दर बन्छ ।’

तर, सोचेजस्तो भएन । राजधानीको गल्लीगल्लीमा कठ्याग्रिँदै थुप्रै रात बिताउन उनी विवश बनिन् । विभिन्न ठाउँमा भौतारिँदै गर्दा एक दिन गाउँतिरकै मानिसको सम्पर्कमा उनी पुगिन्, जसले घरमा भाडा माझ्ने काम दिलाए । महिनाको चार हजार रुपैयाँ दिने भनियो ।

तर, त्यहाँ भनेजति पैसा नपाएपछि त्यो छाडेर होटलमा काम गर्न थालिन् । मासिक ९ हजार दिने भनिएको थियो । तर, त्यहाँ पनि उस्तै । सास्ती मात्र पाइन् ।

अब उनले काठमाडौंबाट हार खाइसकेकी थिइन् । ०६८ सालको माघतिर गाउँकै शेरबहादुर लामासँग उनको भेट भयो । जसले पढाइदिने वा घर फर्काइदिने आश्वासन दिए । आफूले काका मानेको व्यक्तिले गाउँ लगिदिने आश्वासन दिएपछि उनी फुरुङ्ग भएर लामाको पछि लागिन् ।

कोठीमै रहेका अन्यले उनलाई १० हजार भारुमा काकीले विक्री गरेको सुनाए
लामाको कोठामा सुनिता, कान्छी र कृष्णमाया गरी तीन नामले चिनिने काकी पनि थिइन् । धर्मस्थलीमा रहेको कोठामा केही दिनको बसाइपछि गाउँ लगिदिने काकीले आश्वासन दिइन् ।‘पढ्न मन छ ?’ काकीले कोठा पुगेको पहिलो दिन सोधेको उनलाई अझै याद छ । जवाफमा उनले टाउको मात्र हल्लाएकी थिइन् ।

‘यहीँ पढ्ने कि गाउँमा गएर ?’ प्रश्न थपियो । उनले गाउँमै जाने भनेकी थिइन् ।सुस्मिताका अनुसार चार दिनपछि गाउँ जाने भनेर काकीले एउटा बस चढाइन् । बसमा वान्ता हुन्छ भनेर उनलाई एउटा औषधि खान भनिएको थियो ।

‘औषधि खाएपछि मैले केही थाहा पाइनँ’, सुस्मिताले प्रहरीसँग भनेकी छन्, ‘एक ठाउँमा ब्यूँझिएकी थिएँ, काकीले खाना खाने ठाउँ हो भन्नुभएको याद छ ।त्यहाँ उनलाई पुनः औषधि खुवाइएको याद छ । तर, त्यसपछि के भयो, केही थाहा छैन । एकैपटक दिल्लीको मधुनमा पुगेपछि मात्र उनको होस खुलयो ।

‘दिनमै २५ जनासँग सुतेँ’

घर लगेर पढाइदिने आश्वासनमा होटलबाट निकालेकी काकीले कोठीमा लगेर बेच्लिन् भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । न त्यतिवेला उनलाई कोठीको विषयमै थाहा नै थियो ।

रसुवातिरकै लक्ष्मी र हेमा नाम गरेका महिलाको कोठीमा उनलाई काकीले बेचिदिइन् । उनले सुनितालाई त्यहाँबाट पैसाको बिटो लिएको पनि देखेकी थिइन् । तर, कुनै प्रतिक्रिया जनाइनन् । त्यहाँ उनलाई सबै कुरा अनौठो र नौला लागिरहेको थियो । जहाँ उनले आफ्नो अस्मिताको खरिदविक्री भएको पत्तै पाइनन् ।

भोलिपल्ट जब एकछिनमा आउँछु भनेर निस्किएकी काकी फर्किइनन्, अनि बल्ल उनलाई डर लाग्न थाल्यो । तर, उनी केही गर्न सक्ने हालतमा थिइनन् । कोठीमै रहेका अन्यले उनलाई १० हजार भारुमा काकीले विक्री गरेको सुनाए ।

एक महिना बन्द कोठाभित्र राखेर सुस्मितालाई शारीरिक र मानसिक यातना दिइयो । उनलाई तीन पटक सुई र पटकपटक विभिन्न औषधि पनि खुवाइयो । अहिले २२ वर्ष पुगेकी उनी भन्छिन्, ‘त्यतिवेला मेरा वक्षस्थल ठूलो देखाउने औषधि दिइएको रहेछ ।’

महिना दिनपछि उनलाई कोठी नं. ५११ मा पहिलोपटक लगियो । जहाँ पहिलो पटक एक अधवैंशले उनको अस्मिता लुटे । उनी प्रतिकार गर्न खोज्थिन् । तर, ग्राहक भन्थे, ‘तीन सय टका तिर के आया हुँ… ।’

विस्तारै ग्राहकको संख्या बढ्दै गयो । दिनमा दुई, पाँच हुँदै उनले २५ जनासम्मको प्यास मेट्नुपर्थ्यो। दुई वर्ष यो कोठीमा बसेपछि उनलाई कोठी नम्बर ६४ लगेर दुई वर्ष र ४० नं. कोठीमा लगेर १५ दिन राखियो । जहाँ उनलाई ‘कल गर्ल’को रुपमा कोठी बाहिर पनि जान भनियो । तर, उनले मानिनन् ।

बबरमहलामा रहेको ब्युरोको कार्यालयमा ८ वर्षपछि काकीलाई भेट्दा सुस्मिताले रिस थाम्न सकिनन् । किन मलाई बेचिस् भन्दै सुस्मिताले काकीलाई झम्टिइन् । काकी नाजवाफ थिइन् कोठीमै प्रेम अनि स्वतन्त्रताको यात्रा !

करिब पाँच वर्षसम्म कोठीमा नरकीय जीवन विताइरहँदा उनले कुनै दिन घर फर्कुँला भन्ने कल्पना समेत गर्न छाडिसकेकी थिइन् । कसैको माया, ममता पाउने त परको कुरा ।

तर, एक दिन यस्ता ग्राहक आए, जसले उनलाई फरक व्यवहार गरे । नेपालमै घर भएका ती युवक उनीसँग गफ गरिरहन रुचाउँथे । चलचित्रमा देखाइने दृश्य झैँ उनी एकाएक नायक बनेर सुस्मिताको जीवनमा आएका थिए । पैसा तिरेर कोठी छिरेका उनी घन्टौं उनीसँग बसिदिन्थे ।

विस्तारै युवक र सुस्मिताबीचको सम्बन्धले प्रेमको रुप लियो । युवक उनलाई बाहिर लिएर जान चाहन्थे । तर, कोठी सञ्चालकले अनुमति दिएका थिएनन् ।उनी सञ्चालकसँग दैनिकजसो अनुनय, विनय गर्थें । विहे गर्ने बताउँथे । एक दिन, उनले सुस्मितालाई कोठीबाट बाहिर लिएर जाने अनुमति त पाए, तर साँझ फर्काउने सर्तमा ।

कोठीबाट कोठासम्म पुग्दा सुस्मितालाई पिँजडाको सुगालाई छाडिएझैँ महसुस भएको थियो । तर, एक मनको एक कुनामा फेरि कोठीबाट लक्ष्मी दिदीहरु लिन आउने हुन् कि डर चाहिँ थियो । तर, युवकसँगै बसिरहिन् ।

दिन, हप्ता हुँदै महिना वित्यो । दोस्रो महिनामा उनले नेपाल हेरेर आउने इच्छा व्यक्त गरिन् । युवकले उनको इच्छा बमोजिम सुस्मितालाई लिएर काठमाडौं आए । राजधानीमा केही दिनको बसाइपछि ०७५ भदौमा उनीहरु फेरि दिल्लीका लागि निस्किए ।

‘मलाई कोठीमा पुर्‍याउनेलाई कारबाही गराउँछु भनेर काठमाडौं हिँडेकी थिएँ’, उनी भन्छिन् ।काठमाडौं फर्किने क्रममा माइती नेपाल, नेपालगञ्ज शाखाका कर्मचारीलाई उनको गतिविधि शंकास्पद लाग्यो । उनीसँगै युवक पनि नियन्त्रणमा परे ।

युवकले आफूलाई सहयोग गरेर नेपाल ल्याइदिएको सुस्मिताले बताइन् । आफू विरामी हुँदा हेरचाह गरेको पनि सुनाइन् । त्यसपछि माइती नेपालका अधिकारीले सम्पर्क नम्बर लिएर उनलाई छाडिदिए । अहिले चाहिँ सुस्मिता माइती नेपालको ‘सेफ हाउस’मा छन् ।
उद्दार गरिएको एक वर्षपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) ले सुस्मितालाई कोठीमा पुर्‍याएको आरोपमा काकी सुनितालाई बुधबार पक्राउ गरेको छ ।

बबरमहलामा रहेको ब्युरोको कार्यालयमा ८ वर्षपछि काकीलाई भेट्दा सुस्मिताले रिस थाम्न सकिनन् । किन मलाई बेचिस् भन्दै सुस्मिताले काकीलाई झम्टिइन् । काकी नाजवाफ थिइन् ।

प्रहरीले पनि उनीलाई तानेर अर्को कोठातिर लगिदियो । मानव बेचबिखन तथा ओसारपसार ऐनमा भएको व्यवस्था अनुसार कडाभन्दा कडा कारबाही हुने आश्वासन दियो ।काका शेरबहादुर भने अझै फरार छन् । ब्युरोका एसपी अनुपम शमशेर जबरा भन्छन्, ‘हामीले उनको खोजीलाई पनि जारी राखेका छौं ।’

अहिले उनलाई माइती नेपालले काउन्सिलिङसँगै सामान्य लेखपढ पनि गर्न सिकाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *