बालुवाटारमा ओली–नेपाल ‘गोप्य’ भेट : तिक्तता मेट्ने प्रयास

काठमाडौं : प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधव नेपालका बीच ‘गोप्य’ भेटवार्ता भएको छ। दुई नेताले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता गरेका हुन्। पार्टी संगठनात्मक एकता र कार्यविभाजनको विषयमा दुई नेता बीच खटपट पर्दै आएको छ। असमझदारी हटाउने र दुई नेताबीच चिसिँदै गएको सम्बन्ध सुधारका लागि दोस्रो तहका नेताले लविङ गरिरहेका बेला ओली–नेपालबीच गोप्य वार्ता भएको हो।

भेटवार्ताको छलफलका विषयलाई दुवै पक्षले गोप्य राखेका छन्। यद्यपी, ओलीले मन्त्रिपरिषद् पुर्नगठनका लागि आफूले गरिरहेको तयारी तथा पार्टीका आगामी योजनाका विषयमा केन्द्रित रहेर नेपालसँग कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

असमझदारी बढ्ने र दूरी बढाउन दुवै नेताको कमजोरी रहेको महसुस गर्दै नेताहरूले अविश्वास र तिक्तता मेटेर अगाडि बढ्ने विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतले जानकारी दिएको छ।

भेटका लागि ओलीले नेता नेपाललाई बालुवाटार निम्ताएका थिए। ओली–नेपालबीचमा पार्टी एकतायता तीन पटक अन्तरविरोध चर्किएको थियो। प्रदेश कमिटी पदाधिकारी चयन, एक ब्यक्ति एक जिम्मेवारी, वरियता विवाद, प्रदेश प्रमुख नियुक्तिलगायतका विषयमा वरिष्ठ नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। १८ कात्तिकमा बसेको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिमा नेपालले पार्टी निर्णयमा असहमति जनाएका थिए।

पूर्वएमाले समूहले सिफारिस गरेको प्रदेश प्रमुखको नाममा असन्तुष्टि जनाउँदै नेपालले फरक मत राखेका थिए। गत ५ भदौमा यी दुई नेताका बीचमा पार्टी बैठकमा चर्काचर्की नै भएको थियो। वरिष्ठ नेता नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामना ओलीले नस्वीकारेपछि दुई नेताका बीचमा बाझाबाझ भएको थियो। त्यसयता यी दुई नेताबीच एक्ला एक्लै सम्वाद भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *