सिरहामा पनि दसगजा अतिक्रमण

बुधौरा (सिरहा) – दसगजा क्षेत्र अतिक्रमणको समस्या सिरहामा पनि देखिएको छ। दसगजामा रहेको सीमास्तम्भबाट पाँचपाँच गज दायाँबायाँ मानवीय बस्ती हुनुहुँदैन। अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजामा दुवै देशले भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाउँदैनन्। तर सिरहा नगरपालिका–१५ बुधौरास्थित दसगजामा दुई देश छुट्ट्याउन गाडिएका पिल्लर खेतको सीमा छुट्ट्याउन पो गाडिएका हुन् कि भन्ने भान पार्छ।

सिरहा नगरपालिका–१५ बुधौरा र भारतीय गाउँ सहुरिया, गोढियारी छुट्ट्याउन अर्थात् दुई देशको सीमा छुट्ट्याउन गाडिएको २६६–१ र २६६–२ नम्बरको पिलर भारतीय गाउँ सहुरियाका हीरालाल यादवको धान खेतमा छ। यी पिलरलाई लहलहाउँदो बासमती धानको बालाले छपक्कै छोपेको छ। नजिक पुगेर हेर्दा नम्बर देखिएपछि मात्रै खेतको नभई दुई देशबीचको सीमा छुट्ट्याउने पिल्लर भएको पत्ता लाग्छ।

भारतीय गाउँ गोढियारीका वासुदेव यादवका अनुसार दसगजामा नेपाली र भारतीय दुवैतर्फका जनताले अतिक्रमण गरी खेत बनाएका छन्। भारततर्फका जनताले दसगजा मिचेर नेपालतर्फ अर्थात् उत्तरतर्फ खेती बढाएको देखिन्छ। सिरहा बुधौराका रामरतन यादव भन्छन्, ‘दसगजा त यहाँ नाममै सीमित बनेको छ।’ जसको बल पुग्छ, उसैले दसगजा मिचेर खेतबारी बनाएका छन्, बनाउँदैछन्। सीमामा सरकारको उपस्थिति नहुँदा मनलाग्दी बढेको उनको बुझाइ छ। सीमा पनि बिस्तारै नेपालतिर सार्दै ल्याइएको उनको दाबी छ।

सिरहा नगरपालिका–२० लगडी ददियानी र भारत पौदमा पञ्चायत–४ (लगडी) बीचमा आरपी २८ नम्बरको सीमास्तम्भ त ठडिएको छ। तर सीमास्तम्भसँगै टाँसिएर दसगजामै बस्ती बसाइएको छ। अन्तर्राष्ट्रिय कानुन मिचेर दसगजामै भारतीयका लहरै घर छन्। दुई देशको सीमास्तम्भ यहाँका बासिन्दाका लागि चौपाया बाँध्ने खम्बाका रूपमा प्रयोग हुँदै आएको छ। तीन पुस्तादेखि यसै दसगजा क्षेत्रमा बस्दै आएका लगडीवासी रमण यादवले भने, ‘यहाँ अधिकांश सुकुमवासीको बसोबास छ।’

दसगजाको बस्ती लगडीमा यादव र मुखिया जातिका एक सय ३० परिवारको बसोबास छ। वारि लगडी गदियानीतर्फ यादव समुदायको बाक्लो बसोबास छ। ‘पारि आवश्यक पर्दा वारिबाट सहयोगी हात जुट्छन्, वारि आवश्यक पर्दा पारिबाट,’ वारि लगडिलदियानीको मुखिया चोकमा चियानास्ता पसले राजेन्द्र यादवले भने, ‘वारि घरमा विवाह हुँदा लाउडस्पिकर सीमापारि घरमा बज्दछ, पारि हुँदा वारि घरमा। आफूहरूबीच दुई देशका हौं भन्ने हेक्कै नभएको उनले बताए। ‘हिँडडुल गर्दा पनि हामी सीमा बिर्सन्छौं,’ उनले भने।

सिरहा नगरपालिका–२० लदडीगदियानी र भारत लदनिया थाना पौदमा ग्राम पञ्चायत–४ लगडी गाउँका बीचमा नेपाल–भारतको सीमा छुट्ट्याउने स्तम्भमा बाँधिएको खसीबाख्रा र दसगजामा लहरै बसेको बस्ती।

भारतीय गाउँ लगडी र सिरहा–२० (लगडी गदियानी) बीचको सीमा आरपी २८ नम्बरको स्तम्भले छुट्ट्याएको छ तर दुवैतिरका स्थानीयमा आफूहरू अलगअलग देशका हौं भन्ने महसुसै हुँदैन। टाँसिएकै गाउँ, एउटै परिवेश, एउटै संस्कृतिका कारण परिवार जसरी मिलेर बसेका छन् उनीहरू। उनीहरूसधैं एकअर्कालाई भरथेग गर्छन्। आँगनमै आरपी २८ नम्बरको स्तम्भ रहेको लगडीका ज्ञानी मुखिया र वारिका देवेन्द्र यादवबीच पनि उस्तै सीमाविहीन सद्भाव छ। देवेन्द्र टेन्ट हाउसको व्यवसाय चलाउँछन् र ज्ञानी मजदुरीको काम गर्छन्। देवेन्द्र विवाहलगायत कार्यक्रममा टेन्ट र साउन्ड सिस्टम लिएर पारि पुग्छन्। पारिको काम भ्याएपछि मुखिया नेपालतर्फ खट्छन्। ५० वर्षीय ज्ञानीले भने, ‘हामी सुकुमबासी दुवैतर्फ ज्यालामजदुरीमा खटेर गुजारा चलाउँछौं। नेपाली गाउँसहरमा काम गर्दा फरक देशजस्तै लाग्दैन।’ २५ वर्षीय देवेन्द्रले पनि थपे, ‘जता काम पाइन्छ उतै जान्छौं। देश मात्रै फरक हो, काम र रुपैयाँबराबर पाइन्छ।’

देश भिन्न भए पनि श्रम, संस्कार, रीतिरिवाज, भाषा केही फरक नभएको लगडीका चन्देश्वर यादवले बताए। ‘श्रम, संस्कारसँगै वैवाहिक सम्बन्धले हामी झन् नजिकिएका छौं,’ लगडी गदियानीका राजेन्द्र यादव (पटबारी) ले भने, ‘छोराको विवाह पारि गरेकाले म पनि सम्धिको घर गइरहन्छु। सम्धिहरू पनि आइरहनुहुन्छ। दोहोरो आउजाउले सम्बन्ध झन् कसिलो बनाइदिएको छ।’ लदडी गदियानीका मिथिलेश झा वारिपारिका साझा पुरोहित हुन्। उनले भने, ‘सीमावर्ती गाउँसहरको संस्कार र संस्कृतिमा कुनै फरक छैन। पारिको गाउँमा विवाह गराउँदा पनि फरक देशमा आएको हेक्कै हुन्न।’

दसगजाछेउकै पारि गाउँ हटलेटवाकी पुनमदेवी यादवको सिरहाको माडरमा करिब १० कट्ठा खेत छ। पारि जग्गा नजोडेर वारि किन किनेको भन्ने जिज्ञासामा पुनमले भनिन्, ‘वारि (नेपाल) को पाँच कट्ठा जमिन पारि (भारत) मा नौ कट्ठा हुन्छ।’ अर्थात् कट्ठाका हिसाबले वारिको जमिनको क्षेत्रफलभन्दा पारिको क्षेत्रफल कम हुन्छ। यसैकारण पारिका अधिकतर स्थानीयले वारि जमिन किनेका छन्।

एकैखाले संस्कार र जीविका रहे पनि उनीहरूलाई आ–आफ्ना सरकारसँगको अपेक्षा फरक छैन। सभ्यता, संस्कृति, रहनसहन र बिहेबारीका कारण दसगजावारिपारिका बासिन्दाबीच मिलाप छ। दुवैतर्फ अर्को मिल्दो अपेक्षा छ– विकास। पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अवस्था पनि दुईतर्फका जनताको उस्तै छ। सीमाक्षेत्रको दुवैतर्फ न त भरपर्दो अस्पताल छ न स्तरीय विद्यालय नै। आर्थिक अवस्था, मानवीय स्वभाव र दैनिक जीविकोपार्जन पद्धतिमा पनि खासै फरक छैन।

सीमा सुरक्षालगायतका लागि सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ६ वटा बोर्डर आउट पोस्ट र पाँचवटा बेस क्याम्पसहित सशस्त्र प्रहरी बलको नम्बर ७ गण छ। सिरहास्थित गणका गणपति (एसपी) प्रवीण कँडेलका अनुसार दसगजामा समस्या छ। खेतीपातीदेखि बसोबासलगायत सबै समस्या गृह मन्त्रालयसम्मलाई जानकारीमा रहेको उनले बताए। हामीले भारतीय सीमा सुरक्षा बलसँग (एसएसबी) समन्वय गरेर दसगजामा खेतीपातीको समस्या सामाधानमा पहल गर्दै आएको कँडेलको दाबी छ। यस जिल्लामा ठूलो भूभाग र सीमा नमिचिएको उनको जिकिर छ। तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो तीन सय ४२ गरी तीन सय ८८ वटा सीमा पिल्लर छन्। जसमा मुख्य सात, सहायक दुई र सानो ३१ गरी ४० वटा मर्मत गर्नुपर्ने अवस्थामा देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *