सबैले सोध्छन् तपाईं किन सिंगल- निरुता सिंह

अभिनेत्री निरुता सिंहका पछिल्ला केही महिना घोर निराशामा बिते। डेंगीले थलिएकी उनी हरेक दिन सोच्थिन् रे, ‘रोगैले मर्छु, मरिनँ भने पनि सुसाइड गर्छु।’

एक महिना अस्पताल र तीन महिना घरमा आरामपछि भर्खरै तंग्रेकी निरुतासँग गत साता वीरगञ्जमा भेट भयो। यही ठाउँमा १५ वर्षअघि निरुता भोजपुरी सिनेमाको ‘कब होई मिलनवा हमार’ छायांकनका लागि आएकी थिइन्।

अचेल मुम्बई बस्दै आएकी उनी अभिनय वा कुनै कार्यक्रमको सन्दर्भ मिलाएर नेपाल आउँछिन्। यसपटक ‘नेपाली चलचित्रको स्वर्णिम महोत्सव’मा सहभागी हुन बलिउड अभिनेता गोविन्दासँगै वीरगञ्ज आइपुगेकी थिइन्।

यहाँ दर्जनौं कलाकार, दर्शक र प्रशंसकसँगको भेट उनलाई रोगको शारीरिक र मानसिक पीडा भुलाउने बहाना बनेको थियो। तीन दिने महोत्सवमा कहिले स्टेजमा नाचेर, कहिले अन्तर्वार्ता दिएर त कहिले सेल्फी खिच्न चाहने प्रशंसक भेटेर रमाइरहेकी थिइन्।

‘वीरगञ्ज आएर बिरामी हुँदाको पीडा भुल्दैछु। पुनर्जीवन पाएको महशुस भइरहेछ,’ महोत्सवकै माहोलमा उनीसँग नयाँ–पुराना कुरा भए।’तन भारतमा, मन नेपाल’मा भएको बताउने उनी नेपाली सिनेमाकी सफल र रुचाइएकी नायिका हुन्।

उनी अभिनित ‘दर्पणछायाँ’ (२०५७) ले माओवादी द्वन्द्व प्रभावित फिल्म बजारमा ठूलो राहत दियो। तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’बाट स्थापित निरुतालाई घिमिरेद्वारा निर्देशित ‘दर्पणछायाँ’ले सफलताको उत्कर्षमा पुर्‍याइदियो। त्यस बेलाका धेरै फिल्ममा उनको उपस्थिति अनिवार्यजस्तै थियो। उनी एक दशक बढी समय पहिलो नम्बरमा टिक्ने सफल अभिनेत्री हुन्।

२०६४ सालमा इन्टेरियर डिजाइनिङ सिक्न भनेर मुम्बई हानिएकी उनको पहिलो चरणको सिनेमा यात्राले विश्राम लियो। पुरानो सन्दर्भ सुनाउँदै भनिन्, ‘इन्टेरियर डिजाइनिङ सिक्ने र मुम्बई फिल्म क्षेत्रसँग नजिक भई काम सिक्ने सोच बोकेर गएकी थिएँ।’

इन्टेरियर डिजाइनिङको कोर्स पूरा नगरे पनि उनी मुम्बई फिल्म क्षेत्रसँग जोडिइन्। हाल उनी वाइस्टार प्रोडक्सन हाउसमा सल्लाहकार छिन्।

‘वाइस्टारले हिन्दी र स्थानीय भाषामा छोटा फिल्म र वेब सिरिज बनाउँछ। हाल मलाई हनुमान चालिसाबारे एनिमेसन मुभी निर्देशन गर्ने प्रस्ताव आएको छ,’ उनले मुम्बईको कामबारे सुनाइन्।

नयाँ कुरा सिक्ने उद्देश्यसहित मुम्बई पुगेकी निरुता जहाँ पुगे पनि सिनेमा क्षेत्रबाट टाढा हुन सक्दिनन् रे। यसअघि उनी मुम्बईको हार्मोनी प्रोडक्सन हाउससँग काम गरेकी थिइन्।

मुम्बई जानु कला क्षेत्रबाट पलायन नभएर विश्राम थियो। त्यसैले त्यहाँ उनले फेरि शून्यबाट काम गर्न चाहिनन्। बरु मुम्बईका नेपाली समुदायबीच अझै पनि ‘नेपाली स्टार’को परिचय बोकेरै रमाइरहेकी छिन्।

‘मुम्बईका नेपालीहरूमा अझै पनि ‘ओहो निरुताजी, नेपालको स्टार’ भनेर प्रशंसा गर्नेहरू भेटिन्छन्,’ उनले भनिन्, ‘नेपालमा पाएको सफलता नै धेरै थियो। उचाइमा पुगिसकेकोले बलिउड गएर फेरि शून्यबाट संघर्ष गर्न चाहिनँ।’

मुम्बई प्रस्थान निरुताका लागि जोखिमपूर्ण ‘विश्राम’ थियो। जाने बेला ‘दर्पणछायाँ’पछि फस्टाएको फिल्म बजार खस्किन थालिसकेको थियो।

गुनासो पोखिन्, ‘अब राम्रो होला, तब राम्रो होला भन्दा त झन्झन् बिग्रियो। अझै काम गर्दा माथि जाने ठाउँ देखिनँ, तल झर्छु जस्तो लाग्यो।’

उनलाई नेपाली फिल्म उद्योग अब फेरि माथि उठ्दैन कि भन्ने चिन्ता थियो। त्यस बेला फिल्मलाई मजाक मान्नेको संख्या बढेकाले माहोल बिग्रेको उनको तर्क छ।

आफूले गर्ने काम र क्षेत्रको इज्जत गर्नुपर्छ भन्ने निरुताले त्यो बेलाको माहोल सम्झिइन्, ‘पैसा खर्च गरे जसले पनि फिल्म बनाउन सकिन्छ, जो पनि हिरोहिरोइन बन्न सकिन्छ भन्ने सोच हाबी थियो।’

‘सिनेमालाई अय्यासीको अखडाजस्तो बनाउनु त भएन नि। यति सानो उद्योग, यो पवित्र ठाउँमा हावाको एटिच्युड किन देखाउने,’ उनले थपिन्।यस्तो मनस्थितिमा मुम्बई गएकी उनलाई नेपाली सिनेमामा फेरि जोडिन झन्डै एक दशक लाग्यो।

यो एक दशक कसरी बित्यो त?

‘मसँग एउटा ह्यान्डी क्याम थियो। सुटिङमा जाँदा पर्दा पछाडिका दृश्य खिचेर राख्थेँ। मुम्बईमा त्यही भिडिओ हेरेर कहिले रोएँ, कहिले हाँसे।’

पछिल्लो दशकमा नेपाली फिल्म क्षेत्रमा केही सकारात्मक परिवर्तन आएका छन्। व्यावसायिक र गुणस्तर दुवै हिसाबले राम्रा र सफल फिल्म पनि बन्न थालेका छन्।

यो परिवर्तनबारे चासो राख्ने निरुताले भनिन्, ‘नेपाली फिल्म उद्योग मैले पूजा गर्ने ठाउँ हो। मैले जेजति पाएँ, यहीँबाट पाएँ। यसको प्रगति देखेर निकै खुसी छु।’

निरुता डिजिटल प्रविधिले ल्याएको सहजता र नयाँ पुस्ताको नवीन सोचलाई सकारात्मक परिवर्तनको मुख्य आधार मान्छिन्। यस्तै सुधार देखेर होला, फेरि सक्रिय बन्ने कोशिशमा छिन्।

चार वर्षअघि विकास आचार्य निर्देशित ‘नाइ नभन्नु ल ५’ मा छोटो भूमिकामा देखिएयता उनी ‘दाल भात तरकारी’, ‘क्याप्टेन’मा देखिइन्। ‘दाल भात तरकारी’ को डबिङकै बेलादेखि बिरामी परिन्।

‘आफूलाई अपडेट गर्ने र नयाँ पुस्तासँग सिक्ने कुरामा म खुला छु। मलाई घमण्डी र अक्कड भएर बस्नु छैन,’ उनले जोड दिँदै भनिन्।

निरुताको समयका नायिका नाचगान र रोनाधोनामा सीमित थिए। निरुता अक्सर यस्तै भूमिकामा देखिइन्। भर्खरै ‘कर्लीकर्ली कपाल तिम्रो’ गीतमा अनमोल र भुवनसँगै नाचेकी उनी बलिउडकी तब्बूझैं सशक्त भूमिका खेल्ने रहर भएको बताउँछिन्।

उनको इच्छा अब अभिनयमा मात्र सीमित छैन। फिल्म निर्माण र निर्देशनतर्फ पनि आकर्षित छिन्। ‘दर्पणछायाँ’ उनको अभिनय सबैभन्दा बढी रुचाइएको फिल्म हो। यसका पुरानै कलाकार दीलिप रायमाझी, उत्तम श्रेष्ठ र निर्देशक तुलसी घिमिरेसँग मिलेर नयाँ फिल्म बनाउने चर्चा चलेको पनि केही समय बितिसक्यो।

‘ढिलोचाँडो यो प्रोजेक्ट अघि बढ्छ। दर्पणछायाँको कथा जहाँ सकिएको छ, त्यहीँबाट नयाँ कथा अघि बढ्छ,’ उनले भनिन्।

दार्जिलिङमा जन्मेकी निरुता जहाँ बसे पनि नेपाल र नेपालीप्रतिको माया कहिल्यै कम नहुने बताउँछिन्। छायांकनमा गाउँतिर जाँदा कलाकारभन्दा आफ्नै घरकी छोरीझैं माया पाउँथिन् रे!

‘वृद्धवृद्धाले टीका लगाइदिएर यो त हाम्रो लक्ष्मी हो भनेर आशीर्वाद दिनुहुन्थ्यो,’ उनी भावुक बनिन्, ‘नेपाली फिल्मबाट जति पाएको छु, त्यसको ऋण तिर्न सकूँ।’

नेपाल आउँदा ‘नेपाल एयरलाइन्स’मै यात्रा गर्न रुचाउने उनलाई जहाजमा एयर होस्टेसले ‘निरुता दिदी’ भनेर बोलाउँदा रहेछन्। त्यस्तो बेला उनलाई लाग्दोरहेछ, ‘यो चाहिँ हो मेरो ठाउँ।’

निरुतालाई सबैले एउटा प्रश्न नछुटाउने रहेछन्। कुराकानी अन्तिममा उनले हाँस्दै भनिन्, ‘तपाईंले एउटा कुरा सोध्नै बिर्सनुभयो नि?’

‘कस्तो प्रश्न?’

४७ वर्षे निरुताले खित्का छोड्दै भनिन्, ‘सबैले सोध्छन् नि मलाई ‘तपाईं अझै किन सिंगल’ भनेर।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *