धुपौरे सारेर ए मेरो हजुर ४ मा अनमोल

काठमाडौं। आफूले गत साल अभिनय गरेको सफल फिल्म ‘ए मेरो हजुर–३’ पछि यही शृंखलाको अर्को फिल्ममा पनि अभिनेता अनमोल केसीले काम गर्ने भएका छन् । उनले अहिले ‘ए मेरो हजुर–४’मा काम गर्न लागेका हुन् ।

यो फिल्मका निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले अनमोल केसीलाई ‘ए मेरो हजुर ४’ का लागि शनिबार अनुबन्धित गरेका हुन् । यो फिल्ममा पनि ‘ए मेरो हजुर ३’ कै जोडी अनमोल केसी र सुहाना थापाले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

यसअघि अनमोल केसी नयाँ फिल्म धुपौरेमा अनुबन्धित भएका थिए । चलचित्र धुपौरेको कथा मन परेर अनुबन्धित भएका अनमोललाई यो फिल्मको अन्तिम स्कृप्ट मन परेन । मंसिरको पहिलो साताबाट छायांकन सुरु हुने भनिएको धुपौरेको स्कृप्ट कमजोर भएकाले यो यो स्कृप्टमा काम गर्न इच्छुक नभएको अनमोलले बताए । धुपौरेको टोलीले आफ्नो स्कृप्टलाई सच्याएर पछि काम गर्ने बताएका छन् । यसरी मंसिरमा छायांकन हुने भनिएको धुपौरे तत्काल निर्माण नहुने भएपछि यी अभिनेता शनिबार नयाँ फिल्म ‘ए मेरो हजुर ४’मा अनुबन्धित भएका हुन् ।

यो चलचित्रकी निर्देशक झरना थापाका अनुसार चलचित्रको छायांकन आगामी २० माघबाट सुरु गरिनेछ । यो फिल्मको छायांकन नेपालसँगै हल्यान्ड र ओमनमा गरिने पनि निर्देशक झरना थापाले बताएकी छन् । झरनाको अनुसार ‘ए मेरो हजुर ४’को स्कृप्ट अनमोललाई मन परेपछि उनी यो फिल्ममा अनुबन्धित भएका हुन् ।

आफ्नै बुबा भुवन केसीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘एन्टी हिरो’को छायांकन आउँदो फागुनबाट गर्ने तयारी हुँदै थियो । त्योभन्दा अघि अनमोलले धुपौरे सक्नु पर्ने थियो । ५० लाख पारिश्रमिकमा अनुबन्धित भएका अनमोलले धुपौरेबाट केही पेस्की पनि लिएका थिए । अहिले अनमोल ‘ए मेरो हजुर ४’मा अनुबन्धित भएपछि अब आफ्नो बुबाले निर्माण गर्ने फिल्म एन्टी हिरोको छायांकन केहीपछि सर्ने भएको छ । एन्टी हिरोको छायांकन अब वैशाखबाट सुरु गरेर आगामी दसैंमा त्यो फिल्म रिलिज गरिने भएको छ ।

‘ए मेरो हजुर ४’को स्कृप्ट तयारी अन्तिम चरणमा पुगेको र यो फिल्ममा अहिलेसम्म अनमोल केसी, सुहाना थापा अनुबन्धित भएको निर्माण पक्षले जनाएको छ । अब संगीत सिर्जना, बाँकी कलाकार र प्राविधिक चयनलगायतको कार्यमा निर्माण पक्ष जुट्नेछ । गत चैत २९ मा रिलिज भएको अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेपछि अनमोल ‘ए मेरो हजुर ४’मा खेल्न तयार भएका हुन् । उनले यो फिल्मबाट कति पारिश्रमिक लिए भन्ने बारे निर्माण पक्षले खुलाउन मानेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *