ओली सरकारविरुद्ध बन्द गरेर आन्दोलनको घोषणा, यस्ता छन् चरणवद्ध कार्यक्रम

गोरखा – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने आरुघाट बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेपछि आक्रोशित स्थानीयले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

बुढीगण्डकी सरोकार समिति गोरखा र धादिङको संयुक्त आयोजनामा सोमवार बसेको सरोकारवालाको बैठकले आन्दोलनको घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार स्थानीयको मागप्रति ऐक्यवद्धता बढाउन मंसिर ४ गते केन्द्र र प्रदेशका सांसदहरूसँग छलफल गरिने छ । त्यसपछि मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्नाको कार्यक्रम निर्धारण गरिएको बुढीगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताएका छन् ।

आन्दोलनको धर्ना कार्यक्रममा गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय समिति सदस्य, सम्बन्धित वडाध्यक्ष र सरोकार समितिका अध्यक्षहरू सहभागी हुने कार्यक्रम रहेको उनले बताए । ‘सांसदहरूलाई पनि कार्यक्रममा सहभागी हुन अनुरोध गर्नेछौं,’ उनले भने ।

मंसिर ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना कार्यक्रम गर्ने कार्यक्रम रहेको उनले बताए । ‘मंसिर ९ गते सिउरेनीटारस्थित आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्वास तथा पुनःस्थापना इकाईको कार्यालयमा धर्ना दिन्छौं,’ अध्यक्ष खनालले भने, ‘मुआब्जा निर्धारण नभए पुनः बैठक बसेर दोस्रो चरणको आन्दोलन घोषणा गर्छाैं । पहिले मुआब्जा तोक्नुपर्‍यो । त्यसपछि आयोजना निर्माण, रिङरोड लगायतका कुरा गर्नुपर्‍यो ।’

मुआब्जा निर्धारणको माग गर्दै सोमवार गोरखा र धादिङको आरुघाट बजार बन्द गरिएको थियो । बन्दका कारण जनजीवन प्रभावित भएको स्थानीयले जनाएका छन् ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा वितरण भइसक्दा पनि गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरे बजारको मुआब्जा समेत निर्धारण गरिएको छैन ।

मुआब्जा निर्धारणको माग गर्दै सरोकार समितिले पटक–पटक आन्दोलन गर्दा पनि ओली सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *