डीएसपीलाई दशैंमा खसीबोका नदिने तरुण सभापति जेल चलान !

काठमाडौं – बाँकेका डीएसपी हेमबहादुर शाहीलाई दशैंको बडाभोज गर्न खसीबोका नदिएपछि तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाहलाई हतियार काण्डमा फसाएर पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

डीएसपी शाहीले शाहसँग दशैंमा खसीबोका मागेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । तरुण दलले शाहलाई फसाएको भन्दै आन्दोलन समेत गरेको थियो ।

जिल्ला अदालत बाँकेले सोमवार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार धरौटी माग गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत शुक्रवार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो । मुद्दामा थुनछेक बहस सकिएपछि सोमवार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको सार्वजनिक गरेको थियो ।

तरुण दलले भने खसीबोका नपाएपछि डीएसपी शाहीले फसाएको दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *