पांच वर्ष ओली नै प्रधानमन्त्री हुने, प्रचण्डलाई दिइयो कार्यकारी अध्यक्षको जिम्मेवारी

काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजन भएको छ । बुधवार बसेको नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ । सरकारको नेतृत्व पाँच वर्ष नै ओलीले गर्ने भएका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको काम गर्नेगरी सचिवालय बैठकले जिम्मेवारी बाँडफाड गरेको हो । सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले दुवै अध्यक्षको कार्यविभाजन भएको पुष्टि गरे। ‘अध्यक्ष ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको नेतृत्व गर्नेगरी कार्यविभाजन भयो’, प्रवक्ता श्रेष्ठले भने।

लामो समयदेखि चर्चामा रहेको कार्यविभाजनको काम वुधवार बसेको सचिवालय बैठकले टुंगो लगाएको छ । श्रेष्ठका अनुसार अब नेकपा सचिवालय बैठकको अध्यक्षतासमेत प्रचण्ड स्वयम्ले गर्नेछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालय बैठकमा प्रचण्डलाई अध्यक्ष दिने माइन्युट भएको छ। जसमा वरियताक्रम भने अहिलेकै रहने छ। अर्थात् ओली पहिलो र प्रचण्ड दोस्रो वरियतामा रहने छन्। बैठक संयुक्त अध्यक्षतामा सञ्चालन भएपनि आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने सहमति भएको छ ।

प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्ने निर्णयसमेत बैठकले गरेको छ । ‘ओलीले मुख्यतः सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्डले पार्टीको। पार्टी बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन्। योसँगै अध्यक्ष ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्नेछन्।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। बीचमा अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एकता प्रक्रिया र मन्त्रिपरिषद पुनर्गठनको काम रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *