विद्या भण्डारीले बनाइन् शितल निवासलाई कम्युनिस्टको अखडा, देशभर बदनाम !

काठमाडौं – राष्ट्रपति पद संवैधानिक रुपमै सम्मानित छ । राष्ट्रपतिले राजनीतिबाट टाढा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्ने नैतिक आचारणभित्र पर्छ ।

पूर्व एमालेबाट राजनीति गरेर राष्ट्रपतिसम्म भएकी विद्यादेवी भण्डारीले भने सम्मानित राष्ट्रपति कार्यालयलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अखडा बनाएकी छन् । कम्युनिस्ट पार्टीका महत्वपूर्ण निर्णय हुनुअघि राष्ट्रपति भण्डारीको सहमति खोज्ने गरिएको खुलासा भएको छ ।

बुधबार नेकपा सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति भण्डारीकै सामुन्ने कार्यविभाजन गर्ने सहमति गरेको सार्वजनिक भएको छ । राष्ट्रपति भण्डारीलाई दुवैले भेटेर आएपछि सचिवालय बैठकबाट प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका लागि समेत राष्ट्रपति भण्डारीसँग हटाउने र नयाँ थप्ने मन्त्रीको नामबारे समेत छलफल भएको स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीले शितल निवासबाटै नेकपाभित्र गुट सञ्चालन गरेर पार्टी राजनीतिलाई प्रभावित गर्ने गरेको गुनासो समेत सार्वजनिक हुँदै गएको छ ।

बालुवाटारमा बुधबार बिहान एक्लाएक्लै भेटेका ओली र प्रचण्ड सचिवालय बैठक छाडेर राष्ट्रपति भण्डारीसँग पार्टी राजनीतिबारे छलफल गर्न शितल निवास पुगेका थिए । बालुवाटारमा ओली–प्रचण्डबीच भएको छलफलमा सहमति नभएपछि राष्ट्रपति भण्डारीले शितल निवास बोलाएर सहमति गराएकी छन् ।

यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुभन्दा अगाडि राष्ट्रपति भण्डारीकै रोहवरमा शितल निवासमा प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने र ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यो सहमति बुधबार राष्ट्रपति भण्डारीकै अगाडि कार्यान्वयन भएको छ ।

प्रधानमन्त्री ओलीले पूर्व सहमति कार्यान्वयन गर्न आलटाल गरेपछि प्रचण्डले ओलीलाई राष्ट्रपति भण्डारी समक्ष उभ्याएका थिए । भण्डारीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन भनेपछि ओलीले समेत सहमति जनाएको स्रोतको दाबी छ ।

राष्ट्रपति भण्डारी दलगत स्वार्थ र गुटभन्दा माथि हुनुपर्ने भएपनि उनले पार्टीमा सक्रिय राजनीति गर्दै आएकी छन् । पार्टीमा यसअघि समेत राष्ट्रपति भण्डारी निर्णायक हुने र अहिले पनि उत्तिकै सक्रिय देखिएका पूर्व एमाले समूहको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *