केपी ओलीलाई झड्का दिने यी महिला, ठूलो खेल बिगारेपछि बालुवाटारमा तनाव

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका थिए । उनले मंगलबारको मन्त्रिपरिषद् बैठकमा यसबारे जानकारी दिएका थिए ।

दिनभर मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेपनि अन्तिम समयमा आएर सरकारमा कुनै फेरबदल भएन । नेकपा सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए ।

केही दिनयता मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेपनि हुन सकेको छैन । बुधबारको मन्त्रिपरिषद् पुनर्गठन एक महिला नेत्रीको अडानका कारण हुन नसकेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीलाई नै झड्का लाग्ने गरी अडान लिएर मन्त्रिपरिषद् पुनर्गठन नै प्रभावित पार्ने महिला हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे ।

सभामुख कृष्णबहादुर महराले यौन काण्डमा फसेर राजीनामा दिएपछि नेकपाले आफ्नो सभामुख बनाउन उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने योजना बनाएको थियो । तर तुम्बाहाम्फे सभामुख नै बन्न चाहन्छिन् । केपी ओली उनलाई सभामुख बनाउन चाहँदैनन् ।

ओलीको निर्देशन बमोजिम उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएर सभामुख हुने अडान लिएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तनाव उत्पन्न भएको छ । तुम्बाहाम्फेले राजीनामा नदिएसम्म नेकपाको सभामुख हुन पाउँदैन ।

बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका ओलीले बुधबारै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको शपथ लिन निर्देशन दिएका थिए । ओलीले निर्देशन तुम्बाहाम्फेले अस्वीकार गरिदिइन् ।

ओलीको प्रस्ताव तुम्बाहाम्फेले अस्वीकार गर्दै निर्वाचित पदाधिकारी हुँदाहुँदै संसद खाली गर्न नहुने जवाफ थिइन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा उनले उल्टै जनप्रतिनिधि भएको अवस्थामा संसदको नेतृत्व नै खाली गर्नु उचित नहुने भन्दै विकल्पमा जान सुझाव दिइन् ।

तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सीमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने जिकिर गरेकी छन् । उपसभामुख तुम्बाहाम्फे अडानले नेकपामा खैलाबैला मच्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *