काठमाण्डौबाट ८०० सिसिका ट्याक्सी हटाइने, १२०० सीसीका ट्याक्सीको लागि नयाँ दर्ता खुल्यो

काठमाडौं । यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेत समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ । आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सी समेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो ।

मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउने तयारी विभागको छ । ‘नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउँछौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । उनका अनुसार सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र ग्राउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेश, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्न सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयार गरिएको छ । मापदण्डमा काठमाडौंलाई सुहाउँदो, वातावारणमैत्री र यात्रुलाई आकर्षित गर्ने अत्याधुनिक सुविधाहरू ट्याक्सीमा हुनुपर्ने कुरा समेटिएको उनले बताए ।

विभागले २०७५ चैतमा नै ट्याक्सीको नयाँ मापदण्ड बनाएर यातायात व्यवस्था विभागमा पठाएको थियो । नयाँ ट्याक्सी दर्ता खोल्न प्रस्तावसहित विभागमा ट्याक्सीको मापदण्ड पठाइएको थियो । मन्त्रालयले ट्याक्सीको मापदण्ड विभागकै अधिकार भएको भन्दै १ महीना अगाडि मस्यौदा विभागमै फिर्ता पठाएको थियो । मापदण्ड तयार भए पनि नयाँ ट्याक्सी दर्ता नखुल्दा ट्याक्सीमा रहेको सिन्डिकेट भने कायम रहने देखिन्छ ।

ट्याक्सीमा सिन्डिकेट कायम भएको भन्दै उक्त सिन्डिकेट तोड्ने गरी मापदण्ड बनाई नयाँ ट्याक्सी दर्ता खोल्ने प्रस्ताव मन्त्रालयमा पठाएकोमा मन्त्रालयले नयाँ ट्याक्सी दर्तासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा नलगेको विभाग स्रोतले बताएको छ । व्यवसायीको दबाब र आर्थिक प्रभावका कारण राज्यले नै नयाँ ट्याक्सीमा सिन्डिकेट कायम गरिरहेको आरोप स्रोतको छ ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *