दुई वर्षपछि दमौली अस्पतालमा पुनः सुरु भयो शल्यक्रियाबाट प्रसुति सेवा

तनहुँ, ५ मंसिर । तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालमा करिब दुई वर्षअघि बन्द भएको शल्यक्रियाबाट हुने प्रसुति सेवा पुनः सुरु भएको छ ।

प्रसुतिका विशेषज्ञ चिकित्सकको अभावले शल्यक्रियाबाट प्रसुति सेवा बन्द हुन पुगेको थियो । अस्पतालमा सुत्केरी हुन आएका महिलालाई शल्यक्रिया गरी बच्चा जन्माउनु परेमा काठमाडौं, पोखरा, चितवनलगायतको ठाउँमा रिफर गर्नुपर्ने बाध्यता रहेको थियो ।

तर, अहिले दमौली अस्पतालमा यो सेवा पुनः शुरु भएको छ । रिसिङ गाउपालिका-१ काहुँ शिवपुरबट सुत्केरी व्यथाले च्यापेपछि ल्याइएकी ३३ वर्षीया सिरुकुमारी तोलागाईं सार्कीको शल्यक्रिया गरी बच्चा निकालिएको छ ।

अस्पतालका एम.डि.जि.पी डा.रामहरि दाहालको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले प्रसुतिले च्यापेकी ती महिलाको सफल शल्यक्रिया गरेको दमौली अस्पतालले जनाएको ।

डा. दाहालले सुत्केरी ती महिलाको शल्यक्रिया गरी बच्चा जन्माउन सफल भएको दमौली अस्पतालको सूचना अधिकारी एवंम् नर्सिङ अधिकृत जमुनादेवी शर्माले जानकारी दिनुभयो । अस्पतालमा हालसम्म तीन जना सुत्केरीको शल्यिक्रयाबाट प्रसुति गराईएको छ ।

जसमा शिशु र आमा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । अस्पतालमा सुत्केरी हुन आएका महिलालाई सामान्य शल्यक्रिया गरी बच्चा जन्माउनु परेमा अन्य ठाउँमा रिफर गर्न नपर्ने शर्माले बताउनुभयो ।

अहिले अस्पतालमा शल्यिक्रयाबाट प्रसुति सेवा हुँदा सुत्केरी गराउन टाढा लैजादाँ बाटामा केही हुन्छ की भन्ने डर हट्नुका साथै खर्च कम भएको सेवाग्राहीको भनाइ छ । त्यस्तै उक्त अस्पतालमा अब चाँडै हड्डी भाँचिएको र एपिन्डीसाइटीसको समेत शल्यिक्रया गरिने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *