भारतले गलत नक्सा सच्याउनुपर्छ : मुख्यमन्त्री पोखरेल

रुकुम : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा रहेको त्रुटि सच्याउन माग गरेका छन् । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत समेत समेटेर राजनीतिक नक्सा सार्वजनिक गर्नु भारतको गल्ती भएको उनको दावी छ।

उक्त नक्सा आफूलाई कुनै पनि हालतमा मान्य नहुने उनले बताए । नेपाली भूमी मिचेर तयार गरिएको नक्साले स्वाभिमान देशप्रति चोट पुगेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । प्रदेश नम्बर ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा जिल्ला अस्पतालको उद्घाटन गर्दै उनले कालापानीलगायत नेपाली भूभाग संरक्षणको लागि वर्तमान सरकारले काम सुरु गरिसकेको जिकिर गरे ।

‘सुगौली सन्धिबाट कायम रहेको काली नदी पूर्वको नेपालको भूभाग समेतलाई समेट्न भारतबाट एकतर्फी राजनीतिक नक्सा प्रकाशित गरेको छ, ‘मुख्यमन्त्री पोखरेलले भने, ‘उक्त नक्सा र नेपालको भूमी रक्षाका लागि सरकारले काम सुरु गरिसकेको छ । हाम्रो भूमीको रक्षा गर्न हामी तयार छौं ।’

दुई घनिष्ठ छिमेकीका बीचमा संसय पैदा हुनु र संसय कायम रहिरहनु निश्चित रूपमा दुवै देशको हितमा नहुने उनको भनाइ छ । फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि सबैभन्दा संविधानमा उल्लेखका कुरालाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताए ।

नागरिकलाई गुणस्तरीय सेवा प्रवाहका साथै सम्पन्न गराउनका लागि जिल्ला अस्पताल स्थापना गरिएको उनको भनाइ थियो । प्रदेश सरकार सधैं पनि नागरिकको हकअधिकारको पक्षमा रहेको प्रष्ट पारे । प्रदेशलाई सम्पन्न बनाउनका लागि प्रदेश सरकारले गुरुयोजना निर्माण गरेर काम गर्दै आएको बताए ।

प्रदेशको स्थायी राजधानीको र नाम टुंग्याउन नसकेको भन्दै आयोचना भइरहेको बेला मुख्यमन्त्री पोखरेलले मंसिर महिना भित्रमा टुंगो लाग्ने जानकारी दिए । प्रदेशको नाम र राजधानीको टुंग्याउनको लागि उपसमितिले काम गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अहिले उपनिर्वाचनको आचारसंहिता लागेको छ । चुनाव सकिएपछि यसै महिनामा टुंगो लगाउँछौं ।’

रुकुम पूर्व ७७ जिल्लाको रुपमा नयाँ जिल्ला निर्माण भएपछि पहिलो पटक यहाँ जिल्ला अस्पतालको स्थापना गरिएको छ । जिल्ला अस्पताल नहुँदा यहाँका बिरामी उपचारको लागि र विभिन्न दुर्घटनामा परेर निधन भएकाको शव परीक्षणका लागि रुकुम पश्चिममा पुग्नुपर्ने बाध्यता थियो । जिल्ला अस्पताल स्थापना भएपछि जिल्लामै उपचार पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *