सन्तानको खुसीमा औधि प्रफुल्ल शम्भुजीतकी आमा

उनी मुठ्ठु बाँस्कोटा । अर्थात विशिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाकी आमा । राणा परिवारमा जन्मिएकी उनी आफुलाई भाग्यमानी छोरी, भाग्यमानी बुहारी र भाग्यमानी आमाको उपमा दिन्छिन् ।

राणा खानदानमा जन्मिएकी उनको बाल्यकाल सुखमय नरहने कुरै भएन । राजा र राणा परिवारको सुखभोग गरेर आफ्नो बालापन बिताएकी उनी आमाको मातृत्व नै संसारको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउछिन् । राणाकाल, राजतन्त्र र गणतन्त्रलाई समेत नजिकैबाट नियालेकी उनी सबै परिवर्तनलाई सकारात्मकरुपमा लिन्छिन् र लिनु पर्ने सुझाव पनि दिन्छिन ।

आमा बुबाको तेस्रो सन्तानकोरुपमा जन्म लिएकी उनी ९९ औं वसन्तमा विचरण गरिरहेकी छिन् । सन्तानको लागि आमा भन्दा अर्को ठूलो र प्रिय शब्द एवं उपहार कुनै नभएको उनको ठम्याई छ । सय बर्ष टेक्न लाग्दा पनि उनले अहिलेसम्मको यात्रामा दुःख भन्ने शब्दसंग साक्षात्कार नै गर्नु परेको छैन । जुद्ध शमशेरको घरबट १५ वर्षकै उमेरमा अन्मिएकी उनले जेठी छोरी जन्म दिएको १३ वर्ष पछि शम्भुजीत बाँस्कोटालाई जन्म दिएकी थिइन् ।

सानैदेखि संगीतमा रमाउन चाहने शम्भुजीत २ वर्षको उमेरबाट नै संगीतमा रमाउने गर्दथे । स्कुले ठिटो हुँदादेखि नै साथीभाईहरुसंग जमघट गर्न रुचाउने शम्भुजीत विद्यालयमा पनि उत्कृष्ठ विद्यार्थीका रुपमा चिनिन्थे । जहाँ गएपनि प्रसंशा बटुलेर फर्किने शम्भुजीतको हरेक कुरा आमालाई मनपर्छ ।

सन्तान सही बाटोमा लाग्नुमा आमाको विशेष भुमिका हुन्छ । शम्भुजीत सफल हुनुमा पनि आमा मठ्ठुको भुमिका चानचुने छैन । सकारात्मक सोंच भएकी मठ्ठु स्वयं पनि मानिसको जमघट मन पराउछिन् । आफ्नो सन्तानको खुसीमा औधि प्रफुल्ल र सन्तुष्ट उनले खनाती समेत देखिसकेकी छिन् ।

कुनै पल पनि दुःखको महसुस नै नगरेकी उनले ७८ वर्षको उमेरमा आफ्ना सहयात्री अर्थात श्रीमान् गुमाइन् । हरेक कुराको नकारात्मक पक्षसंगै सकारात्मक मोड पनि आउछन् भन्ने सोंच राख्ने उनी श्रीमान् गुमाउँदाको पीडामा पनि आफ्ना सन्तानको अनुहारमा नै सबैथोक छ भन्ने सोचिन् ।

सांगीतिक परिवारमा जन्मिएका शम्भुजीतको बालापन सुख र रमाइलो माहौलमा वितेको थियो । आमालाई धरतीको रुपमा लिने विशिष्ट संगीतकार बाँस्कोटा आफ्नो हरेक सफलताको लागि उर्जाको स्रोत पनि आमालाई मान्छन् । संयुक्त परिवारमा जन्मिएका बाँस्कोटाको बुबा स्वयं पनि कुशल गायक थिए ।

बालापनदेखि नै संगीतमा रुची राख्ने शम्भुजीतले सोह्र वर्षको उमेरमा ‘तिम्रो त्यो हसिलो मुहारको’ बोलको गीत गाए पछि व्यवसायिक रुपमा संगीतमा लाग्नुपर्छ भन्ने सोंच बनाएका थिए ।

१६ वर्ष उमेरमा नै हिट गीत र शब्द तथा संगीत दिएपछि शम्भुजीतले कहिल्यै पछि फर्केर हेर्नु परेन । त्यसपछि उनले सफलताको सिंढीहरु एकपछि अर्को गर्दै उक्लदै गए । हरेक कोणबाट सहयोग गर्ने आमा साथमा पाएपछि शम्भुजीतले न दुःखको महसुस गर्नु पर्यो नत असफलता के हो भन्ने भोग्नु नै पर्यो ।

रेडियो नेपालको स्वर परीक्षा पास गरेसंगै विषेश गरी चलचित्र क्षेत्रको संगीतमा एकक्षत्र राज गर्न सफल बनेका छन् विशिष्ठ संगीतकार बाँस्कोटा । उनले देश तथा विदेशबाट विभिन्न उपाधि जित्न मात्र होइन तमाम् श्रोताको मन जित्न सफल भइसकेका छन् । नेपाली सांगीतिक क्षेत्रको चुचुरो उक्लिएका शम्भुजीतले संगीतमा लागेर धेरै जीते तर यो जीतमा उनी एक्लो रहेनन समग्र नेपाली संगीत क्षेत्रलाई पनि जिताएर छाडे ।

संगीतको न कुनै सीमा हुन्छ नत वाद नै । यही भएर विश्वमा नै संगीतको सम्मान सगरमाथा झै उच्च छ । भनिन्छ नै औषधिले निको पार्न नसक्ने रोगहरु संगीतले सञ्चो बनाउछ । यही संगीतको साधना गर्दै अघि बढिरहेका शम्भुजीत बाँस्कोटा जति सुनिराखे पनि धित नमर्ने नाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *