कम्युनिस्टले एनसेललाई छूट दिए, गरीब जनतालाई चर्काे कर लगाए : पूर्व राज्यमन्त्री राणा

पोखरा – नेपाली कांग्रेसका बौद्धिक युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले दुईतिहाइको शक्तिशाली कम्युनिस्ट सरकराले थोरै लगानीका साना व्यापारीहरूलाई काम नै गर्न नसक्ने गरेर दुःख दिएको खुलासा गरेका छन् ।

नेपाल तरुण दल कास्की निर्वाचन क्षेत्र नम्बर २ ले शुक्रवार पोखरामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राणाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सरकारले एनसेल जस्ता ठूला व्यापारीलाई खर्बौंको कर छूट दिएको बताएका छन् ।

‘यो कम्युनिस्ट सरकारले साना व्यापारीलाई कर बढाएर काम नै गर्न नसक्ने बनाएको छ । एनसेल जस्ता ठूला कम्पनीलाई कर छूट गरेर अनियमितता गरेको छ,’ राणाले भने, ‘कास्की क्षेत्र नम्बर २ मा नेकपाले जित्नु भनेको सरकारले गरेको सबै अवैध र अनैतिक कामलाई जनताले समर्थन गरेको बुझ्न सकिने छ । सरकारका गलत कामलाई वैधता दिएको बुझ्न सकिने छ । तसर्थ कम्युनिस्टलाई भोट दिनु हुँदैन ।’

लोकतान्त्रिक संस्कारलाई स्थापित गर्न नेपाली कांग्रेसका चर्चित उम्मेदवार खेमराज पौडेलको जीत हुनैपर्ने उनले बताए । अधिनायकवादलाई साथ नदिन कास्कीका मतदातालाई राणाले आग्रह गरे ।

‘अधिनायकवादका कुरा यो कम्युनिस्ट सरकारले गरेको छ । विभिन्न जनतामारा कानुन ल्याएको छ,’ उनले भने, ‘गलत कुरा रोक्न पनि कांग्रेसलाई जिताउनुस् । कांग्रेसलाई मात्रै जिताउने निर्वाचन होइन यो । सम्पूर्ण नेपालीलाई असर पार्ने निर्वाचन हो । नेपाली कांग्रेसले जित्नैपर्छ, कांग्रेसको जीतमै जनताको जीत छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *