एकै समयमा पारस र हिमानीको दोस्रो रुप सार्वजनिक

काठमाडौं । मुलुकबाट राजसंस्था अन्त्य भएको एक दशक नाघिसकेको छ । मुलुकको अन्तिम राजा शाह वंशका रहे, ज्ञानेन्द्र शाह । साढे दुई शताब्दी इतिहास बोकेको राजसंस्था अन्त्यसँगै मुलुकले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगिकार गरेको छ । साढे दुई शताब्दीसम्म मुलुकको बागडोर सम्हाल्दै घोषित वा अघोषित रुपमा रणनीतिक राजनीति गर्दै शाहवंशीय राजाहरुले शासन गरे । यसरी शासन गर्नेमा अहिले पूर्वराजा ज्ञानेन्द्र शाह मात्र जीवित छन् ।

आफ्नै शासन कालमा मुलुकबाट राजसंस्था अन्त्य भएको पीडा व्यहोरेका उनी राजसंस्था पुनर्स्थापित गराउन चाहन्छन् । र राजसंस्था अन्त्य गराएको आरोपबाट मुक्त हुन ज्ञानेन्द्र कुनै न कुनै रुपमा राजसंस्थाको भूमिका राज्यमा जीवित राख्न चाहन्छन् । यसका लागि उनी स्वदेशदेखि विदेश दौडाहामा निस्कने गरेको र मुलुकभित्रै विभिन्न गतिविधि गरेको भन्दै प्रमुख दलका शीर्षनेताहरुले सार्वजनिक मञ्चबाट चेतावनी दिने गरेका छन् । यसको मतलब ज्ञानेन्द्र शाह राजसंस्था पुनर्स्थापित गराउन रणनीतिक र योजनबद्ध रुपमा अघि बढेका छन् ।

हालै पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी बुहारी हिमानीसहित परिवारका सदस्य लिएर ठमेलको एक नाईट क्लब बारमा गए । गएको कात्तिक ३० गते शनिबार पूर्व राजा ज्ञानेन्द्र शाह नाइट क्लब लर्ड अफ ड्रिंक्समा पुगेर नाचे । उनी मात्रै नाचेनन्, बुहारी हिमानीलाई समेत नचाए । ज्ञानेन्द्रपछि हिमानी नाचिन् । उनीहरु ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा मज्जाले नाचे । यसरी पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी नाच्नुलाई व्यक्तिगत इच्छा र स्वतन्त्रताको रुपमा मात्रै हेरिएन । जनताको मन जित्न र नजिक हुने लक्ष्यकासाथ लिइएको रणनीतिक चालको रुपमा केहीले हेरे । सार्वजनिक स्थानमा जाँदा होस् या सार्वजनिक कार्यक्रममा जाँदा किन नहोस् हिमानी सधैं सारीमा देखिन्थिन् । तर, नाईट क्लबमा जाँदा उनी कुर्ता सलवारमा देखिइन् । पोशाक परिवर्तन गर्दै सार्वजनिक स्थानमा हिमानी कुर्ता सलवारमा देखिएकी हुन् ।

हिमानी कुर्ता सलवारमा देखिँदै नाईट क्लबमा नृत्य गरेको फोटो भिडियो भाइरल बनिरहेका बेला उनका पति तथा पूर्वयुवराज शाह भने एक सडकपेटीमा जोगीहरुको साथमा देखिए । हिमानी र पारस फरक रुप र शैलीमा देखिनुलाई पूर्वराजपरिवारको रणनीति वा संयोग हो यसबारे पूर्वराजपरिवारले केही खुलाएको छैन ।

मुक्तिनाथको दर्शन गर्दै पश्चिम नेपालको भ्रमणमा रहेका पारस एक्कासी सडकपेटीको भूइँमा दायाँ बाँया जोगी राख्दै एक कुकुरको साथमा देखिए । यो उनको स्वतन्त्रता प्रतिको मोह वा पूर्वराजपरिवारको जनतासँग घुलमिल हुँदै मन जित्ने रणनीति खेल हो, यो पनि केही खुलाइएको छैन । एकैपटक हिमानी र पारस फरक पोशाक र शैलीमा सार्वजनिक स्थानमा देखिनुलाई कतिपयले अर्थपूर्णमा हेरेका छन् । तर, पारसकोबारेमा पूर्वराजपरिवारले केही बताएको छैन भने ज्ञानेन्द्र र हिमानी डान्सबार जानुलाई मात्र रमाइलोका लागि भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *