ओलीको पेटमै फुट्यो एपेन्डिसाइटिस, जोखिम बढेपछि ‘इलेक्टिभ भेन्टिलेटर’मा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा देखिएको एपेन्डिसाइटिसको समस्याको उपचारमा ढिलाइ हुँदा एपेन्डिसाइटिस पेटमै फुुटेको पाइएको छ ।

एपेन्डिसाइटिस फुुटेपछि संक्रमणको समस्या हुने भएपछि स्वास्थ्य संवेदनशीलतालाई हेरेर चिकित्सकले ओलीलाई इलेक्टिभ भेन्टिलेटर अर्थात् कृत्रिम श्वासप्रश्वासमा राखेका छन् ।

समयमै उपचार नपाएकाले शल्यक्रिया अघि नै प्रधानमन्त्रीको पेटमा एपेन्डिसाइटिस फुुटेको अस्पताल स्रोतले जनाएको छ । पेटमा अप्ठ्यारो महसुस भएपछि प्रधानमन्त्री ओली आज मंगलबार बिहान ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड सेन्टरमा पुगेका थिए ।

शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ । ओलीको उपचारमा व्यवस्थापकीय पक्ष मिलाउन अस्पतालका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ सक्रिय छन् । उपचारका लागि डा. अरुण सायमीको नेतृत्वमा ६ चिकित्सक संलग्न रहेका छन् ।

मंगलवार साँझ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा पुगेका थिए । प्रचण्डलाई चिकित्सकले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *