राष्ट्र बैंक नोटका बन्डल चो’री ढाकछोपमा अर्थमन्त्रीका ज्वाँइदेखि डेपुटी गभर्नरसम्म (भिडियोसहित)

विराटनगर। नेपाल राष्ट्र बैंक विराटनगर शाखा कार्यालयबाट नोटका बन्डल चोरीको घटना लुकाउन राष्ट्र बैंकका उच्च तहका कर्मचारी नै लागेको खुलासा भएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेपालन्युजलाई दिएको एक तथ्याङ्कको विश्लेषण गर्दा विराटनगर शाखाबाट कटिङ र धुलाईका लागि लगिएका नोटका बन्डल चोरीको घटना ढाकछोप गर्न उच्च तहकै कर्मचारीहरु संलग्न रहेको पुष्टि भएको हो।

नेपाल राष्ट्र बैंकको विशेष निरीक्षण प्रतिवेदनका अनुसार वि.सं. २०७४ साउन १७ गते राष्ट्र बैंकको विराटनगर शाखाबाट रकम चोरीको घटना भएको हो।

छानबिनका क्रममा राष्ट्र बैंक विराटनगरमै कार्यरत सहायक निर्देशक इन्द्रप्रसाद शर्मा, अर्का सहायक निर्देशक सुधीर पौडेल र कार्यालय सहयोगी मुनेश्वर डोमलाई ‘अयोग्य नठहरिने गरी’ सेवाबाट हटाएको थियो।

तर, नेपाल राष्ट्र बैंकको विराटनगर शाखा नोटका बन्डल चोरी काण्ड ढाकछोप गर्न अर्थमन्त्री डा. युवराज खतिवडाका आफ्नै ज्वाइँदेखि डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठसम्मले भूमिका खेलेको पुष्टि भएको हो।

डेपुटी गभर्नर शिवाकोटीले उक्त घटनामा अनुसन्धान प्रक्रियामा केही कमजोरी भएको स्वीकारेका छन्। ‘नेपाल राष्ट्र बैंकमा धेरै कमजोरी छन्, विराटनगर चोरीकाण्डमा पनि कमजोरी भएको हो,’ शिवाकोटीले नेपालन्युजसँग भने, ‘हामी सुधार्छौं।’

को-को थिए जिम्मेवार?

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा धुल्याउनका लागि तयार गरिएका नोट चोरीकाण्ड हुँदा अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए।

लामो समयसम्म मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशक रहेका शिवाकोटीले विराटनगर शाखाका कर्मचारीहरुलाई अयोग्य ठहरिने गरी कारबाही गर्नुको साटो ‘पुरस्कृत’ गरे।

‘फौजदारी चोरी मुद्दामा कारबाही गर्नुपर्ने नोटका बन्डल चोरी प्रकरणलाई गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठदेखि विराटनगर शाखाका उपनिर्देशक रहेका रामशरण खरेलसम्म जोगाएको देखिन्छ,’ राष्ट्र बैंक स्रोतले नेपालन्युजसँग भन्यो।

राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार नोटका बन्डल चोरी हुँदा विराटनगरका तत्कालीन कार्यालयका प्रमुख रामु पौडल थिए। अहिले उनी बैंकको वित्तीय जानकारी इकाईमा छन्।

त्यसैगरी, उपनिर्देशक रामशरण खरेल त्यतिबेला विराटनगर कार्यालयका उपनिर्देशक थिए। अर्थमन्त्री डा. युवराज खतिवडाका आफ्नै ज्वाइँ हुन् रामशरण।

नोटका बन्डल चोरीकाण्डपछि राष्ट्र बैंक केन्द्रीय कार्यालय फिर्ता आएका उनी लगतै अर्थमन्त्रालयमा तानिएका थिए। तर, ३ महिनाअघि मात्रै उनी पुनः राष्ट्र बैंक फर्किएका छन्।

‘रामु पौडेल र रामशरण खरेलमाथि अनुसन्धान हुनुपर्छ भन्ने आवाज राष्ट्र बैंकमा त्यति बेलै उठेको थियो,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘माथिको निर्देशनमा उनीहरुले छुट पाएका हुन्।’

नोट कटिङ र जलान भएको दिन २०७४ साउन १७ गते निर्देशक पौडेल काजमा रहेको देखिएको छ। कायममुकाय निर्देशकको जिम्मेवारीमा अर्थमन्त्रीका ज्वाँइ रामशरण थिए।

अर्थमन्त्री खतिवडाका ज्वाँइमाथि अनुसन्धान किन गरिएन भन्ने नेपालन्युजको प्रश्नमा डेपुटी गभर्नर शिवकोटी र प्रवक्ता निरौलाको जवाफ दिन नसक्ने बताए।

के थियो घटना?

नेपाल राष्ट्र बैंक विराटनगर शाखामा नोट छनौट समितिले अनुसन्धानका क्रममा नोट गणना गर्दा एक हजार रुपैयाँ दरका नोट एक प्याकेटमा तीन थान कमी पाएपछि छानबिन थालेको थियो।

२०७४ साउन र भदौ महिनामा ५०० र १००० दरका नोट जलानको क्रममा नोट जलान कमिटीले नमूना १–२ प्याकेट गन्ती गर्दा १००० दरको १०० वटा थानको नोटको प्याकेटमा २८ वटा नोट थिएनन्।

अरु बन्डलमा पनि नोट अपुग भएको थियो। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा नोट धुल्याउने कार्यको लागि मुद्रा व्यवस्थापन (नगद) फाँट अन्तरगत नोट कटिङ तथा जलान इकाईको व्यवस्था गरिएको छ।

उक्त इकाईमा सहायक निर्देशक इन्द्रप्रसाद शर्मा र कार्यालय सहयोगीहरु मुनेश्वर डोम, हरिबहादुर तामाङ, मिलाप श्रेष्ठ, आशाकुमारी डोम र सुनेच्री देवी डोम कार्यरत रहेका थिए।

सहायक निर्देशक इन्द्रप्रसाद शर्माको काम नोट कटिङको व्यवस्थापन गर्ने एवम् रेखदेख गर्ने, मुनेश्वर डोम, हरिबहादुर तामाङ र मिलाप श्रेष्ठको काम नोट कटिङ गर्ने र आशाकुमारी डोम र सुनेच्री देवी डोमले कटिङ गरेका नोट बाध्ने र सफाई गर्ने दायित्व थियो।

विराटनगर कार्यालयले सामान्यतयाः क्यान्सिल्ड गरिएको एकदिनपछि क्यान्सिल्ड नोटहरु धुलाउने गर्छ। मिति २०७४ साउन १६ गते क्यान्सिल्ड गरिएका नोट १७ गते धुल्याइएको थियो।

जसमा पाँचका ८ थान, १० का २ थान, २० को १ थान, ५० को एक थान, एक सयका दुई लाख थान, पाँच सयको एक थान र एक हजार दरका एक लाख दुई थान नोट जलाउनु पर्ने थियो।

नेपालन्युजले फेला पारेको Exclusive भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *