नाम मिल्दा सानी नम्रतालाई घाटा

काठमाडौं । अर्को नायिकासँग नाम मिलेका कारण आफूलाई केही समस्या भएको अभिनेत्री नम्रता श्रेष्ठले बताएकी छन् । नेपाली उद्योगमा नम्रता श्रेष्ठ नामका दुई जना अभिनेत्री छन् ।

चलचित्र सानो संसारबाट अभिनयमा आएकी सिनियर नम्रता श्रेष्ठ हुन् भने चलचित्र गाँठोबाट नायिकाका रूपमा आएकी जुनियर नम्रता श्रेष्ठ हुन् । जुनियर नम्रताको नयाँ फिल्म ‘माछा माछा’ यही २० मंसिरबाट सिनेमा हलमा रिलिज हुँदै छ ।

उस्तै नाम हुँदाको समस्याबारे यी अभिनेत्रीले भने, ‘म नयाँ नम्रता श्रेष्ठ परें भने उहाँ पुरानो । नम्रता श्रेष्ठ भन्नासाथ सबैले नम्रता दिज्यूलाई बुझ्दा रहेछन्, जसका कारण नाम जुधेर मलाई आफ्नो परिचय बनाउन गाह्रो भएको हो ।’ अहिलेको अवस्था आएर नाम परिवर्तन गर्नसमेत गाह्रो भएको यी अभिनेत्रीले बताएकी छन् ।

प्रदर्शनको हिसाबले उनको यो तेस्रो फिल्म हो । पहिलो फिल्म गाँठो असफल भएपछि उनको दोस्रो फिल्म पनि व्यावसायिक रूपमा सफल भएन । अहिले तेस्रो फिल्म प्रदर्शनको तयारीमा छ ।

विगतका फिल्म असफल हुनुको कारणबारे यी अभिनेत्रीले सञ्चारकर्मीसँग भनिन्, ‘म आफैं फिल्मको मामलामा विगतमा अभागी थिएँजस्तो लाग्यो । किनभने मैले राम्रा फिल्ममा काम गरेर पनि मेरो समय खराब भएका कारण दुईवटै फिल्म चलेनन् ।’

तर, यसपटक आफ्नो फिल्म चल्नेमा विश्वस्त रहेको यी अभिनेत्रीले दाबी गरिन् । चलचित्र माछा माछामा यी अभिनेत्री सौगात मल्लको प्रेमिकाकी भूमिकामा छिन् । यो फिल्ममा आफ्नो भूमिकाबारे नम्रताले भनिन्, ‘यो फिल्ममा मैले काठमाडौंको नेवार घरबेटीको छोरीको भूमिका निर्वाह गरेकी छु । मेरो घरमा बहालमा बस्ने केटाहरूसँग परिवारले हेलमेल गर्न नदिएको प्रसंगबाट कथा अघि बढ्छ ।’

दर्शकले सोचेको र ट्रेलरमा देखाइएको भन्दा यो फिल्मको कथा फरक रहेको यी अभिनेत्रीले बताएकी छन् । निर्देशक सुनिल गुरुङले माछा माछालाई केही फरक फिल्म बनाएको पनि नम्रता श्रेष्ठले जिकिर गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *