बागलुङ २ मा ६१ प्रतिशत मत खस्यो

बागलुङ : जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश (ख) मा भएको उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा अघिल्लो पटक भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए।

उपनिर्वाचन अन्र्तगत नै बडिगाड गाउँपालिका-२ मा भएको वडा अध्यक्षको मतदानमा भने ६५ प्रतिशत मत खसेको छ। १७ सय ४२ मतदाता रहेको यस वडामा ११ सय ३४ मत खसेको छ।

मतदान सकिए लगत्तै जिल्लाका प्रदेश क्षेत्र अन्र्तगतका ४३ वटा मतदान केन्द्रबाट मतपेटिका आजै ढोरपाटन नगरपालिकाका केन्द्र बुर्तिबाङ बजारमा ल्याउने तयारी छ।

बुर्तिबाङबाट शनिबार राति जिल्ला सदरमुकाम ल्याएर आइतवार बिहान सर्वदलीय बैठक गरेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए।

यस क्षेत्रको गण्डकी प्रदेशसभा सदस्य र वडा अध्यक्ष दुवैमा मुख्य रुपमा वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ।

सत्ता बागडोर सम्हालेको मुलुकको पहिलो पार्टी बनेको नेकपाको प्रदेश सभा सदस्यतर्फ आँफ्नो उम्मेदवार छैन। नेकपाले केन्द्रीय तहबाटै राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई समर्थन जनाएको छ।

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा पराजय बेहोेरेका जित शेरचनलाई चुनावी मैदानमा उतारेको छ। यस क्षेत्रमा २०७४ को प्रदेशसभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गर्दै विजयी भएका थिए

घर्तीका प्रत्यासी कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए। अहिले प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका छन्। जसमध्ये ढोरपाटनमा साविकको एमालेले जित हासिल गरेको थियो भने निसी र तमानमा कांग्रेसले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *