अनिश्चय र अन्यौललाई चिर्दै चिसिएको काठमाडौंलाई सागले ततायो

काठमाडाैं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक शुभारम्भ भएको छ । दशरथ रंगशालामा भब्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ प्रतियोगिता शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।

‘म १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन भएको घोषण गर्दछु’ राष्ट्रपति विद्यादेवी भण्डारीको यही वाक्य सहित दक्षिण एसियाली खेलकुदको महाकुम्भ सागको शुभारम्भ भएको छ ।

साग खेलकुदको १३ औं संस्करणले बिभिन्न अनिश्चय र अन्यौललाई चिर्दै चिसिएको काठमाडौंलाई तताउन सफल भएको छ । भव्य र सभ्य देखिएको उद्घाटन समारोहले नेपाली अन्तिम अवस्थासम्म भिड्दै भए पनि कुनै पनि अन्तर्राष्ट्रिय महोत्सवलाई सफल बनाउन सक्छन् भन्ने अर्को प्रमाण पनि पेश गरेका छन् ।

समारोहमा ओलम्पिक टर्चबाट दीप प्रज्वलन, झण्डोत्तोलन, सपथ ग्रहण, स्वागत मन्तव्य र राष्ट्रपतिको सम्बोधन गरिएको थियो । सागका चार स्वर्णधारी दीपक विष्टले दीप प्रज्वलन गरेका थिए् भने राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का र ब्याडमिन्टनका दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिएका थिए ।

मार्चपासमा नेपालको झण्डा भारत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए । यस्तै, समारोहमा सांस्कृतिक कला प्रदर्शन समेत गरिएको थियो ।

शुभारम्भ समारोहलाई ऐतिहासिक बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी, कलाकारसहित करिब १५ हजार जनशक्ति परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *