फुटबलको चोटले गायनमा लागेका राम लिम्बु

१८ मंसिर, काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सांगीतिक रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’ यतिबेला उत्कर्षमा छ दोस्रो संस्करण अन्र्तगत सञ्चालन भइरहेको यो प्रतियोगिताको आगामी शनिबार अन्तिम छिनोफानो हुँदैछ । अन्तिम प्रतिस्पर्धाका लागि चार जना प्रतियोगी मैदानमा छन् । यसमध्येका एक हुन्, राम लिम्बु ।

झापाका राम कसरी भ्वाइस अफ नेपालमा आइपुगे ? उनको संगीत यात्रा कस्तो रह्यो ? उनकै शब्दमा :खासमा म फुटबलर बन्न चाहन्थें । तर गायनतर्फ मोडिएँ ।म झपाको विर्तामोडमा म जन्मिएँ, हुर्किएँ । झापा यसै पनि समतल थलो । फुटबल खेल्नका लागि अनुकुल हुने । सानैदेखि म फुटबलमा रमाउन थालें । विद्यालयमा होस् वा टोलमा, फुटबल भनेपछि जाँगर चलिहाल्ने । फुटबल खेल्नका लागि जहाँ पनि पुग्ने । साथीभाइसँग फुटबल खेलेर रमाइलो गर्ने मात्र होइन, यसमै करियर बनाउने लक्ष्य पनि थियो ।

फुटबल खेल्न जाँदा होस् वा साथीभाइको जमघटमा पनि गीत गुनगुनाउथें । तर जब फुटबलमा ठेस लाग्यो, तब भित्रभित्रै गुम्सिएर रहेको मेरो गायकी बाहिर प्रकट भयो । मैले गायक नै बन्ने निधो गरें ।
छरितो शरीर र फुटबलमा राम्रै लगाव भएकाले मलाई सानैमा काठमाडौं पनि ल्याइयो, एन्फा एकेडेमीमा । १२ बर्षभन्दा मुनिको खेलाडीको रुपमा छनौट भएर । त्यहाँ दुई बर्ष बसेर फुटबलको प्रशिक्षण लिएँ । त्यसबेलासम्म मेरो एउटै ध्याउन्न थियो, फुटबलर बन्ने ।

तर फुटबल खेल्ने क्रममै खुट्टामा चोट लागेपछि मेरो यात्रा रोकियो । म फुटबल खेल्न नसक्ने भएँ । मेरो जीवनकै लागि यो एउटा भयानक झट्का थियो । फुटबलर बन्ने सपना देखेर दौडिरहेको मेरो लागि अगाडिको बाटो त्यति सहज थिएन । त्यसपछि मेरो यात्रा मोडियो ।

गायनको हुटहुटी

घर नजिकै एकजना दाइ थिए, आशिष बुढाथोकी । उनी ड्रम बजाउँथे । उनकै संगतले मलाई संगीतमा रुचि जाग्यो ।उनीहरु कहिले संगीतको अभ्यास गरिरहेका हुन्थे, कहिले कन्सर्ट गर्थे । म उनीहरुलाई पच्छ्याउथेँ । संगीतको अभ्यास गरेको ठाउँमा गएर रुचिपूर्वक हेर्थें । कन्सर्टमा पनि पछि लागेर जान्थें । घरमा फर्केर उनीहरुले जस्तै गाउने अभ्यास गर्थें । गीत गुनगुनाइरहन्थें ।पछि दाइहरुले थाहा पाए कि, म पनि गाउँछु । उनीहरुले गर्ने कन्सर्टमा मलाई पनि मौका दिन थाले ।

पछि त म सानोतिनो स्टेज शोमा गाउन सक्ने भएँ ।फुटबल खेल्न जाँदा होस् वा साथीभाइको जमघटमा पनि गीत गुनगुनाउथें । तर खुलेर गायन क्षेत्रमा लाग्नेबारेमा सोच्न सकेको थिइनँ । भित्री रहर यत्तिकै दबाएर बसेको थिएँ । तर जब फुटबलमा ठेस लाग्यो, तब भित्रभित्रै गुम्सिएर रहेको मेरो गायकी बाहिर प्रकट भयो । मैले गायक नै बन्ने निधो गरें ।

टोलमै सांगीतिक समूह

भ्वाइस अफ नेपालमा आउनुअघि हामी आफ्नै ठाउँमा गीत–संगीतमा रमाएर बसेका थियौं । त्यहाँ हाम्रो सांगीतिक समूह थियो । त्यही समूहमा हामी गाउने, बजाउने गथ्र्यौंं । संगीतको कुरा गथ्र्यौं, अभ्यास गथ्र्यौं । पूर्वमा हुने सांगीतिक कार्यक्रमहरुमा सहभागी हुन्थ्यौं । आफ्नो सर्कलमा सांगीतिक माहौल बनाएका थियौं ।

गीत संगीतमा रुचि भएका हामीले रहर पनि पूरा गर्न पाउने र पकेट खर्च पनि जोहो गर्न सकिने उद्देश्यसहित सांगीतिक समूह बनाएका थियौं । समूहमा धेरैजसो अग्रजहरु छन् । उनीहरुको आफ्नो होटल पनि छ । त्यही होटलमा गाउनका लागि पनि हामीलाई अनुकुल थियो ।

थुप्रै छन्, नेपालमा गीत संगीतमा लागेकाहरु । उनीहरु आ–आफ्नो ठाउँबाट मेहनत गरिरहेका छन्, संघर्ष गरिरहेका छन्, साधना गरिरहेका छन् । हामी पनि त्यसरी नै गीत संगीतमा लागिरहेका थियौैं । कुनै सांगीतिक कार्यक्रमको मौका पर्खेर बस्थ्यौं । होटलहरुमा गएर गाउथ्यौं । गाएर एक/दुई हजार रुपैयाँ पकेट खर्च कमाइन्थ्यो ।

हाम्रो सांगीतिक समूह यथावत नै छ । पूर्वमै रहेर उनीहरु गीत संगीतमा सक्रिय छन् । मलाई सपोर्ट गरिरहेका छन् ।सांगीतिक ब्यान्ड चलाउन पनि त्यति सजिलो भने छैन । त्यसका लागि आर्थिक समस्या हुन्छ । व्यान्डका लागि थरिथरिका वाद्ययन्त्र चाहिन्छ । वाद्ययन्त्र खरिद गर्नका लागि पनि धेरै पैसा चाहिन्छ । सबैसँग पैसा हुँदैन । पैसा आउने स्रोत हुँदैन ।

नेपालमा थुप्रै सांगीतिक ब्यान्ड छन् । कति चलेका छन्, कति चलेका छैनन् । प्राय सबैजसो ब्यान्डका सदस्य यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् । सबैको संघर्ष एउटै हुन्छ । यदि संघर्षलाई छिचोल्न सकिदैन भने केही पनि हुँदैन । त्यसैले हामीजस्ता सामान्य युवाहरुले संघर्षको एउटा चरण चाहिँ पार गर्नैपर्छ ।

भ्वाइस अफ नेपाल एक मोड

मेरो भाइ लक्ष्मणले भन्यो, ‘भ्वाइसमा एकपटक ट्राइ गर न ।’मलाई पनि भ्वाइस अफ नेपालमा भिड्ने रहर जाग्यो । टोलनजिकै अर्को भाइ थियो एरिक भन्ने । उनले ढाडस दिए, ‘ट्राई गर्नु दाइ, केही पनि हुँदैन ।’

उनीहरुको कुराले म हौसिएँ । एक किसिमको आत्मबल पनि मिल्यो ।त्यसपछि दुई मिनेटको गीत गाएर पठाइदिएँ, डिजिटल अडिसनका लागि ।तर त्यति धेरै अपेक्षा गरिएको थिएन । मैले जसरी कतिले गीत पठाएका होलान् । कतिको हेर्न भ्याउने होला । यस्तै लाग्थ्यो । छनौटमा परिन्छ वा परिँदैन ? ढुक्क हुने अवस्था थिएन ।

तर, एकदिन भाइ लक्ष्मणले सुनायो, ‘फोन आएको छ, भ्वाइस अफ नेपालबाट ।’सुरुमा मैले उनको कुरा पत्याइनँ । ठट्टाजस्तै लाग्यो । तर साँचो रहेछ । भ्वाइस अफ नेपालबाट फोनमा भनियो, ‘तिम्रो आवाज मिठो रहेछ । काठमाडौं आउ, एकपटक हामी तिमीलाई सुन्न चाहन्छौं ।’जब ब्लाइन्ड अडिसनको स्टेजमा उभिएँ

ब्लाइन्ड अडिसन दिन त्यति सजिलो कहाँ हुँदो रहेछ र ? एकदमै डर लाग्ने । चार जाना कोच अगाडि हुने । उनीहरुको सामुन्ने उभिएर गाउनु पक्कै पनि सहज थिएन ।

कोच पछाडि फर्किएका हुन्छन् । आफ्नो स्वरले उनीहरुको कुर्सी आफूतर्फ मोड्नुपर्ने हुन्छ । कोचले रुचाउँछन् वा रुचाउँदैनन् ? एक किसिमको भय हुन्छ । त्यसमाथि हामीजस्तै कतिजना अडिसनका पंक्तिमा हुन्छन् । सबैजना डराइरहेका हुन्छन् । आफूपनि उत्तिकै नर्भस भइन्छ ।तर जब स्टेजमा उक्लिएर गाउनका लागि तयार भइन्छ, आफूले सक्दो राम्रो गरौं भन्ने लाग्छ ।

मैले गीत गाएपछि चार जना कोचहरु फर्किनुभयो । मलाई लाग्यो, मेरो स्वर पनि राम्रै रहेछ । त्यतिका दिग्गज कोचले रुचाएका छन् । मनमनै गद्गद् भएँ ।

अविराम यात्रा

सुरुमा ब्लाइन्ड अडिसन दिएँ, सोचेजस्तै नतिजा हात लाग्यो । सबै कोचले मेरो स्वर रुचाए । तर, सोचेको थिइन कि भ्वाइसको मेरो यात्रा यति लामो होला । यति धेरैले मलाई चिन्छ, माया गर्छ, सहयोग गर्छ भनेर । यो मेरो अपेक्षाबाहिरको कुरा थियो । जीवनमा नसोचेका मोड पनि आउने रहेछन् ।हामीलाई हेर्ने दर्शक धेरै राम्रा–राम्रा छन् । उनीहरुकै कारण आज म यो स्थानसम्म आइपुगेको छु । एकदमै खुसी लाग्छ ।

पारिवारिक अवस्था

बिर्तामोडमा मेरो सानो परिवार छ, आमा–बाबा, दिदी, दाइसहितको । मेरो एकजना भाइ पनि छ, लक्ष्मण । खासमा लक्ष्मण र म जुम्ल्याहा हौं ।म सामान्य परिवारमा हुर्किएँ । खान, लाउन, पढ्न ठिक्क पुग्ने । हामीलाई हुर्काउन, पढाउन बाबाले धेरै दुःख गर्नुभयो । उहाँको एउटा फर्निचर उद्योग थियो । त्यहीबाट हाम्रो परिवारको गुजारा चल्थ्यो । कुनै बेला चरम दुःख पनि भोग्नुपर्‍यो । त्यस्तो अवस्थामा पनि आमाबुवाले हामीलाई सम्हाल्नुभयो । दुःख–सुख बाल्यकाल सामान्य हिसाबले गुजारियो ।

बाल्यकालमा मेरो स्वभाव वा आनीबानी त्यति फरक थिएन । अरुजस्तै सामान्य थियो । साथीभाइसँग हिँड्थे, खेल्थें, चल्थें, गाउँथे । पढाइमा औसत विद्यार्थी म । न धेरै राम्रो, न धेरै नराम्रो । ठिक्कको ।

घर नजिकै एउटा बोर्डिङ स्कुल थियो, त्यही पढियो । हामी सबै दाजुभाइ, दिदीबहिनी त्यही पढेका हौं । त्यही विद्यालयबाट हामीले एसएलसी दियौं ।

मेरो आमाबुवा वा परिवारमा कोही पनि संगीतमा लागेका छैनन् । संगीतमा लागेको म मात्र हो । तर, मलाई घर–परिवारले एकदमै सहयोग गर्‍यो । संगीतप्रतिको मेरो रुचिलाई बुझेर उनीहरुले त्यही किसिमको वातावरण मिलाइदियो । आमाबाबा भन्नुहुन्छ, ‘राम्रो काम जे पनि गरे हुन्छ, नराम्रो चाहिँ नगर्नू ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *