बक्सिङमा स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापामगरले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको खेलमा भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराएर स्वर्ण जित हात पारेका हुन्। श्रीलंका र बंगलादेशले कास्य जित्यो । योसँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ ।

यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए । देशका लागि स्वर्ण जिताएपछि नेपाल प्रहरीमा कार्यरत भूपेन्द्रले यसअघि दुई पटकसम्म भारतीयसँग हारेको बदल लिएको प्रतिक्रिया दिएका छन्। उनी यसअघिका भिडन्तमा दुई पटकसम्म भारतीयसँग पराजित भएका थिए।

बक्सिङतर्फ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि लाग्दै आएको स्वर्ण पदकको खडेरी २० वर्षपछि तोडिएको छ। मिनु गुरुङ र भूपेन्द्र थापाले २० वर्ष लामो स्वर्णको खडेरी तोडेका हुन्।

सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए। त्यसयता नेपाल स्वर्णविहीन रहँदै आएको थियो। भूपेन्द्र २०६८ सालदेखिका नेशनल च्यान्पियन हुन्। उनी विगत सात वर्षदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै आएका छन्।

त्यस्तै जुडोकी पुनम श्रेष्ठले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । लखनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको महिला ७८ केजीमुनि तौल समूहमा उनले नेपाललाई स्वर्णपदक दिलाएकी हुन ।

पुनमले बङ्गलादेशकी फरिना खानोमलाई पराजित गरिन । यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गरेकी थिइन । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो। यो सँगै सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४८ पुगेको छ। यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जितिन । यस स्पर्धामा भारतले स्वर्ण र श्रीलङ्काले कास्यपदक हात पारेको छ । यसैगरी पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य पदक हात पारे । सोही स्पर्धामा भारतले स्वर्णपदक जित्दा पाकिस्तानले रजत जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *