जापानी भाषा परीक्षामा ५६ जना मात्रै पास

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । गत अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने नोभेम्बरसहित दुई चरणमा सम्पन्न परीक्षामा जम्मा ५६ जना मात्र उत्तीर्ण भएको जापान फाउन्डेसनले जनाएको छ ।

गत अक्टोबरमा लिएको सीप परीक्षामा भने एक जना परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । नोभेम्बरको सीप परीक्षाको नतिजाबारे फाउन्डेसनले अझै केही खुलाएको छैन । फाउन्डेसनले दुई महिनामा नेपालसँगै मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सबाट नर्सिङ केयरका लागि जापान जान इच्छुकलाई लक्की ड्रमार्फत छनोट गरी भाषा परीक्षामा सामेल गराएको थियो । त्यसबेला नेपालबाट जापान जान भाषा परीक्षामा सामेल हुन इच्छुक कुल ५ सय ९ जनाले आवेदन दिएका थिए । जसमध्ये अक्टोबर र नोभेम्बर गरी दुई चरणको परीक्षामा ४ सय ९७ जनाले भाषा परीक्षा दिएका थिए । भाषा परीक्षामा सहभागी भएका कुल ४ सय ९७ जना परिक्षार्थीमध्ये ५६ जना मात्र उत्तीर्ण भएका हुन् । यो जम्मा ११ दशमलव ३ प्रतिशत मात्र उत्तीर्ण संख्या हो ।

यस परीक्षामा मंगोलियाबाट सहभागी भएका ६० जना परीक्षार्थीमध्ये ३७ जना उत्तीर्ण भएका छन् । यसैगरी, इन्डोनेसियाबाट सहभागी भएका ३ सय ४० परीक्षार्थीमध्ये १ सय २९ जना उत्तीर्ण भएका छन् । त्यसैगरी, कम्बोडियाबाट सहभागी भएका ९१ सहभागीमध्ये २२ जना उत्तीर्ण भएका छन् भने फिलिपिन्सबाट सहभागी भएका ६ सय ४२ जनामध्ये २ सय ६८ जना मात्र उत्तीर्ण भएका छन् । नेपालसँगै जापानी भाषा परीक्षामा सहभागी भएका अन्य मुलुकको परीक्षाफलको तुलना गर्दा नेपालको परीक्षाफल सबैभन्दा कमजोर देखिएको छ ।

पछिल्लो सयमय आफ्नो देशमा निम्तिएको कामदार संकट व्यवस्थापन गर्न जापानले १४ वटा क्षेत्रमा आप्रवासी श्रमिक लैजाने तयारी गरेको छ । जसमा बिरामी तथा बुढाबुढी स्याहार कर्ता (नर्सिङ केयर), भवन सरसफाइ व्यवस्थापन (आन्तरिक भवन), उपकरण उत्पादनसम्बन्धी उद्योग, इलेक्ट्रिक उद्योग, निर्माण उद्योग, पानीजहाज निर्माण उद्योग तथा पानीजहाज मेसिनरी उद्योगमा जापानले नेपाललगायत विभिन्न मुलुकका कामदार लिन लागेको हो । यसैगरी, जापानले अटोमोबाइल मर्मत सम्भार, एभिएसन उद्योग (विमानस्थल ग्राउन्ड ह्यान्डलिङ, मर्मत), आवास उद्योग (सत्कार तथा रेस्टुरेन्ट), कृषि (खेतीपाती, गोडमेल, उत्पादन, प्रशोधन), माछापालन र अक्वाकल्चर, खाना र पेय पदार्थको उत्पादन, तथा खाद्य सेवा उद्योगमा काम गर्ने कामदार लैजान लागेको हो ।

यी क्षेत्रका लागि ५ वर्षमा करिब ३ लाख ४५ हजारभन्दा बढी आप्रवासी कामदार भित्यारउने नीति जापानले अघि सारेको छ । यी सबै क्षेत्रका लागि छुट्टाछुट्टै भाषा परीक्षा तथा सीप परीक्षण गर्ने उल्लेख गरिएको छ । नेपालबाट कुन क्षेत्रमा कति कामदार लैजाने भन्नेबारे भने अझै स्पष्ट खुलाइएको छैन । सो परीक्षाका लागि नेपालसहित विभिन्न देशका गरी कुल १ हजार ६८२ जनाले आवेदन दिएकोमा १ हजार ६३० जना सहभागी भई जम्मा ५१२ जना मात्र पास भएको जापान फाउन्डेसनले जनाएको छ ।
गत ११ चैतमा जापान र नेपाल सरकारबीच नेपाली कामदार आपूर्तिका लागि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो समझदारीअनुसार कामदार जापान पठाउने प्रक्रिया सरकारी स्तरबाटै अघि बढ्नुपर्छ । यही समझदारीका कारण अहिले जापानमा कामदार पठाउन निजी क्षेत्रलाई रोकेको अवस्था छ ।

सो समझदारीमा सरकारले ईपीएस कोरियन भाषा परीक्षाको मोडालिटीलाई नै पछ्याउने गरी वैदेशिक रोजगार विभागअन्तर्गत जापान हेर्ने छुट्टै संयन्त्र बनाउने प्रस्ताव गरेको थियो । अहिले जापानले एकतर्फी ढंगले कामदार भर्ती र आपूर्ति प्रक्रिया अघि बढाउन खोजेको छ । जसका कारण श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले पनि अहिले यसमा जापानसँग घुमाउरो असहमति राख्दै आएको छ ।

समझदारी अनुसार स्थापित दुई देशको श्रम सहसचिवस्तरको संयुक्त कार्यसञ्चालन समितिको बैठक पनि लामो समयदेखि बसेको छैन । अहिलेसम्म एकपटक भिडियो कन्फ्रेन्समार्फत समितिको बैठक बसेको छ । गत २५ कात्तिकमा जापानबाट नेपाल आएको जापानका कृषि तथा वन मन्त्रालयका उपमहानिर्देशक तकामी नाकाडा नेतृत्वको प्रतिनिधिसमक्ष तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले श्रम समझदारीअनुरूप कामदार लैजाने प्रक्रियालाई अझ विश्वसनीय बनाउन आग्रह गरेका थिए ।
उनले समझदारीअनुरूप चुस्त रूपमा कामदार आपूर्ति गर्न आग्रह गरेपछि जापानी प्रतिनिधिले क्रमिक रूपमा परीक्षा सञ्चालन गरेर कामदार लैजाने जानकारी दिएको थियो । सो समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिकसरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *