ती देवनारायण चौधरी र यी स्वर्णधारी खेलाडीका नाममा

तेह्रौं साग खेलको कुम्भमेला मंगलबार साँझ सकिएको छ। यस प्रतियोगितामा नेपाली खेलाडीको सानदार प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ।५१ स्वर्णसहित २०६ पदक जितेको नेपाल पदक तालिकामा दोस्रो भएको छ।

प्रतियोगिता चलिरहँदा नेपाली खेलाडीका कथा पनि सार्वजनिक भए। सबैभन्दा ताजुब लाग्दो प्रतिक्रिया त सुटिङ खेलाडीबाट आयो। उनीहरूले भारतीय खेलाडीसँग बन्दुक र पाकिस्तानी खेलाडीसँग गोली मागेर उनीहरूसँग नै प्रतिष्पर्धा गरे। बीस वर्षअघि चीनले दिएको राइफल नपड्किएर भक्कानिएर एक नेपाली खेलाडी प्रतिष्पर्धीले सुन्लान् भनेर मुख छोपेर रोएको समाचार पनि आयो।

कति खेलाडी त पूरानै ट्रयाकसुटमा मार्च पास्ट गर्दै थिए। अन्य सुविधा र व्यवस्थापकीय कुरा त छँदैछ।तेक्वान्दोमा स्वर्ण जित्ने सुनिता महर्जनका बुवा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बगैँचामा मालीको काम गर्थे, जोसँग छोरीलाई डाइटको किन्ने पैसा थिएन। कोइरालाले कहिलेकाहीँ छोराछोरीलाई मिठाइ किनिदिनू भन्दै दिएको पैसा जोगाएर उनी डाइट किन्न छोरीलाई दिन्थे।

जुडोमा स्वर्ण जितेकी पुनम श्रेष्ठकी आमाले अरूको घरमा भाडा माझेर छोरीहरूलाई पढाइन्।उनकी दिदीले विदेश गएर कमाएको पैसाले जग्गा किनेकी छन्। स्वर्णबाट पाउने पैसा थपेर त्यही जग्गामा घर बनाउने पुनमको सोच छ।

देशको लागि खेल्ने खेलाडीका कथा यतिमा सीमित छैन, करातेमा स्वर्ण जितेका विप्लव श्रेष्ठको दुखेसो छ- देशमा खेलाडीले आर्थिक हिसाबमा ढुक्कले बाँच्न वातावरण बनिसकेको छैन। त्यसैले उनी आफैं पनि खर्चका लागि बाहिर काम गर्छन्। यही कारण कहिलेकाहीँ तालिममा पर्याप्त समय दिन पाउँदैनन्। उनका आफ्नै सहोदर काका सुरेन्द्र लाल श्रेष्ठले पनि २० वर्ष अगाडिको आठौं साफमा करातेमा स्वर्ण जितेर देशको शान बढाएका थिए।

तर स्वर्णले मात्र जीवनयापन गर्न मिलेन। खेल बीचमै छोडेर उनी अहिले क्यानडामा संघर्ष गरिरहेका छन्। विप्लवको प्रश्न छ-आफ्नै देशमा खेलाडीले बाँच्ने वातावरण भएको भए गोल्ड मेडलिष्ट मेरो काका क्यानडा जानु पर्थेन होला नि?

यो प्रश्नको जवाफ कसले दिने होला!

विभागीय खेलाडीको जीवन अलिक व्यवस्थित होला तर अन्य खेलाडी दैनिक हातमुख जोड्ने कुरामा नै चिन्तित छन्। यस्तो अवस्थामा उनीहरूले देशको लागि कसरी शतप्रतिशत नतिजा दिन सक्लान त? अनि विभागीय खेलाडीको अवस्था पनि राष्ट्रिय खेलाडीको भन्दा पनि दर्जाकै वरपर रूमलिएर बित्ने गर्दछ।

एउटा दृष्टान्त- सन् १९९३ मा बंगलादेशको ढाकामा साफ गेम भइरहेको थियो, नेपालले कुनै पनि खेलमा स्वर्ण प्राप्त गर्न सकेको थिएन। अन्तिम दिन फुटबल फाइनल खेल हुँदैथ्यो, जसमा नेपाल भारतसँग भिड्दै थियो। सबैको कामना त्यसमा स्वर्ण जिते हुन्थ्यो भन्ने थियो। फाइनल खेलको अन्तअन्त पुग्न लाग्दा पनि स्कोर बराबरीमै थियो। यस्तैमा खेल सकिन एक मिनेट बाँकी रहँदा भारतका खेलाडी बाबुमनिले नेपाली गोलरक्षक

उपेन्द्रमान सिंहलाई बिट गरेर बल नेपाली पोस्टमा पुर्‍याइसकेका थिए। त्यही बेला चितुवा सरी बेगमा आएर देवनारायण चौधरीले त्यो बल क्लियर गरे। नेपाललाई थप गोल खाएन। केही सेकेन्डमा रेफ्रीले खेल समय सकिएको सिट्ठी फुके। त्यतिखेर हामी पुलिस इन्स्पेक्टरको बेसिक ट्रेनिङ गर्दै थियो। पुलिस एकेडेमीको ब्यारेकमा बसेर टिभीमा देवनारायण चौधरीले बल बचाएर देशको इज्जत जोगाएको दृश्यले भक्कानिएको क्षण अझै सम्झन्छु।

संयोगले देवनारायण नेपाल प्रहरीका खेलाडी थिए। त्यसले हामीलाई झन् भावुक बनाएको थियो। पछि ट्राइबेकरमा नेपालले जित्यो। त्यो सागमा एक मात्र स्वर्ण पदक जितेर देशको इज्जत जोगियो।

त्यो साँझ हामीले ब्यारेकमा विजयोत्सव नै मनायौं। एकापसमा कुरा गर्‍यौं- हाम्रा देवनारायण चौधरी, क्याप्टेन राजुकाजी शाक्यलगायत फुटबल टिमलाई कति भव्य स्वागत हुन्छ होला।

उनीहरू भोलिपल्ट नै स्वदेश फर्कँदै थिए।

स्वागत कस्तो भयो थाहा भएन तर त्यसको ३ दिनपछि हामीले ब्यारेकबाट तल फुटबलका नेशनल हिरो देवनारायण चौधरीलाई देख्यौं, जो स्टिलको थाल बोकेर लाइन बसेर प्रहरी जवानको मेसमा खाना थापिरहेका थिए। किनकी उनी त्यसबखत प्रहरी हवल्दार थिए। नेशनल हिरो देवनारायण चौधरीलाई उनको योगदानलाई भन्दा पनि उनको दर्जाले किचिरहेको देखिन्थ्यो। १७ वर्ष राष्ट्रिय टिमबाट फुटबल खेलर देशको प्रतिनिधित्व गरेका देवनारायण अहिले अमेरिकाको कुनै राज्यमा गुमनाम जीवन बिताइरहेछन्।

अहिले पनि देशको लागि खेलेर पदक थाप्नेहरूको नियति त्यस्तै त हुँदैन? भन्ने प्रश्न यथावत् छ भनिन्छ- देशले के दिन्छभन्दा पनि देशलाई के दिन सकिन्छ? भन्ने सोच्नु। त्यो एउटा नागरिकको कर्तव्य पनि हो।तर खेलाडी नागरिकमात्र नभएर देशको गहना पनि हो, जसले देशको चिनारी नै बदलिदिन सक्छ।

जसको दृष्टान्त हुन् उसेन बोल्ट।

जमैका भन्ने सानो क्यारेबियन टापुलाई संसारमा धेरै कमले चिन्दथे, तर १०० मिटर दौडका रेकर्डधारी बोल्टले संसारमा जमैकालाई यसरी चिनाइदिए की जमैका’ भन्ने राष्ट्रको नाम नसुन्ने खेलप्रेमी बिरलै होलान्।

राष्ट्रले खेलाडीमा गर्ने लगानीले देशलाई दिनसक्ने पहिचान नै फरक हुनसक्छ। त्यसैले राज्यले खेल र खेलाडीसम्बन्धी एउटा नीति नै बनाएर लागू गर्नु उपयुक्त हुन्छ, जसमा खेलाडीले आफ्नो भविष्य सुरक्षित महशुस गर्न सकून्। यस्तो नीति खेलाडी वा टिमले कुनै खेल जितेर काठमाडौं एअरपोर्ट ओर्लिएपछि सरकारी नेतृत्वको लहडमा विनातयारी घोषणा मात्रै गरिने प्याकेजमा नअल्झियोस।

बेलाबेला सुनिन्छ- नेपाली खेलाडी खेल खेल्न विकसित देश गए र उतै लुके। राष्ट्रकै गहना मानिनु पर्ने खेलाडीको यो अवस्था हुनु देशकै लागि दुर्भाग्य हो। यसको कारण पहिल्याउनु आवश्यक छ। जबसम्म खेलाडीले काठमाडौं एअरपोर्ट पुग्नुअगाडि नै आफ्नो भविष्य सुरक्षित महशुस गर्ने वातावरण तयार हुँदैन तबसम्म यस्ता घटना जारी रहन्छन्।

१३ औं साग सकिएको माहौलमा जताततै बधाई र गौरवका कथा गुञ्जिएका छन्। तर यी गौरव र बधाईका शब्दमात्रै पर्याप्त छन् त? गिरिजाप्रसादले मिठाइ दिनु भनेर दिएको पैसा छोरीलाई तेक्वान्दो खेल्न पठाउने बुवाको अनुहार हेरेर अनि जुत्ता नमिलेर पीडित, सुटिङमा प्रतिष्पर्धी खेलाडीसँगै राइफल र गोली माग्दा निहुरिएको खेलाडीको शिर अनि अहिले जितेको पदकसँगै पाउने रकमले सानो घर बनाउछु भन्ने सपना साँचेका खेलाडीका सपना सम्झिएर राज्यले एउटा नीति बनाए नेपाली खेल क्षेत्रले साँच्चै आशाको दीयो बाल्न सक्छ।

साग गेममा २०६ पदक दिलाउने यी राष्ट्रका गहनाप्रति राष्ट्रले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ। जसले गर्दा भावी पुस्तालाई खेलमा आएर देशको प्रतिष्ठा बढाउने प्रेरणा जागोस् अनि अभिभावकको मानसिकतामा मेरो बच्चा खेलेर बिग्रिन लाग्यो भन्ने होइन कि खेलेर देश अनि परिवारको प्रतिष्ठा बढाउने भयो भन्ने महशुस हुने वातावरण बन्न सकोस्। किनकी खेलले देश चिनाउनेमात्र होइन देशभित्र बाँडिएको अनि भाँडिएको मनस्थितिलाई जोड्ने काम पनि गर्दछ।

देशलाई जोडिराख्न सक्ने यस्ता खेल र खेलाडीलाई जोगाउने दायित्व पनि त्यही देश र देशवासीको हो। १३ औं सागमा राष्ट्रको प्रतिष्ठा बढाउने सम्पूर्ण विजयी खेलाडीमा बधाई!

Leave a Reply

Your email address will not be published. Required fields are marked *