खेलकुदमा लगानी : देशलाई के फाइदा ?

भर्खरै नेपालले दक्षिण एसियाली खेलकुद (साग) को भव्य र सफल आयोजना गर्‍यो । सायद ‘साग’ मात्र एक अन्तर्राष्ट्रिय खेलकुद समारोह हो, जसमा नेपालले पदक तालिकामा अलि राम्रो स्थान पाउँछ । ओलम्पिक र एशियाली खेलकुदजस्ता अन्य विश्वस्तरका प्रतियोगितामा नेपालले सधैंजसो पदकविहीन भएर शीर निहुर्‍याउँदै फर्कनुपर्छ । यसपटक घरेलु मैदानमा आयोजान भएको र नेपालले राम्रो गर्न सक्ने केही खेलहरु आयोजकका नाताले राख्न पाएकाले नेपालले पदक तालिकामा इतिहास रच्न पायो ।

हुन त केही वर्ष यता खेलकुदमा सारकार र जनमानसको चासो बढ्न थालेको छ । तर, पनि समग्रमा भन्दा खेलकुदमा नेपाल निकै नै पछाडि छ हामी यसरी पछाडि पर्नुको मुख्य कारण भनेको सरकार र जनताले खेलकुदको महत्व नबुझ्नु र आवश्यक त्यति ध्यान नदिनु नै हो ।

नेपालको सन्दर्भमा कुरा गर्दा आजसम्म गठन भएका कुनै पनि सरकारहरुले खेलकुदलाई कहिले पनि महत्वका साथ हेरेनन् । जसको परिणाम, सम्पूर्ण नेपाली समाजमा नै खेलकुदको महत्व जान्नबाट वञ्चित भयो र खेलकुदलाई जनताले गम्भीरतापूर्वक लिएनन् । सरकारले झारा टार्ने पारामा पाठयक्रममा केही खेलकुदका पाठहरू राख्ने अनि कहिलेकाहीँ सानातिना प्रतियोगिता गराउने बाहेक अरु केही गरेन । न त संथागत र व्यावसायिकरुपमा खेलाडीहरु निर्माण गर्ने काम गर्‍यो, न त आफ्नै मेहनत र लगानीले बनेका खेलाडीहरुलाई प्रोत्साहन गर्ने र उनीहरुको विकासका लागि काम गर्ने योजनाहरु नै ल्यायो ।

खेलकुद मन्त्रालय र संगठनहरु खेलकुदलाई प्रवद्र्धन गर्ने भन्दा पनि आफ्ना मान्छे भर्ना गर्ने, भ्रष्टाचार गर्ने र राजनीतिको थलो बन्न पुगे । त्यसैको परिणाम, नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक नल्याउने मात्र नभई देश र जनतालाई नै यसले दुरगामी असर पारिरहेको छ खेलकुदले कुनै देशको इज्जत राख्ने मात्र होइन, यसले जनताको स्वास्थ्यमा त सोझो असर गर्छ । देशको विकास पनि खेलकुद जोडिएको हुन्छ ।

खेलकुद र जनस्वास्थ्य

निसन्देह, खेलकुद एउटा व्यायाम हो, जसले शारीरिक विकासमा योगदान पुर्‍याउँछ । तर, त्यति मात्र नभएर खेलकुदका अन्य धेरै प्रत्यक्ष र परोक्ष फाइदा छन् । लगभग सबैजसो खेलकुदमा दिमाग केन्द्रित गर्नुपर्ने हुन्छ त्यसले गर्दा कुनै खेलमा भाग लिँदा दिमागको पनि व्यायाम हुन्छ । त्यसैले खेलकुदले शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउन पनि निकै ठूलो मद्दत गरेको हुन्छ ।

डा. राजु अधिकारी

खेलकुदको एउटा विशेषता के हो भने सबै खेलकुदहरु सामुहिक हुन्छन् । लगभग सबैजसो खेलकुदमा कम्तिमा पनि एउटा प्रतिद्वन्दी हुन्छ नै । त्यसैले फुटबल होस् या कबड्डी, अथवा डन्डीबियो या चेस नै किन नहोस्, सबै खेलहरु समूह बनाएर खेलिन्छ । मानिस सामाजिक प्राणी हो, त्यसैले समुहमा काम गर्दा मानिसले खुशी प्राप्त गर्छ । त्यसको अतिरिक्त सामुहिक कार्य भएकाले खेलकुदले सामुहिक कार्यमा कसरी एक अर्कासँग मिलेर काम सम्पन्न गर्न सकिन्छ भन्ने कुरो पनि सिकाउँछ । त्यसले गर्दा मानिसलाई समाजमा अरुसँग घुलमेल भएर खुशीसँग बाच्न सजिलो हुन्छ ।

नेपालीहरुको अहिले औसत आयु अन्य देशको तुलनामा कम छ । उचित खानपान र पौष्टिक तत्वको कमीका साथै त्यसमा पनि खेलकुदको कमीले केही न केही असर गरेको छ भन्दा अत्युक्ति नहोला । शारीरिक र मानसिक स्वास्थ्यले मान्छेको आयु निर्धारण गर्छ । राम्रो खानपान पाएका र शारीरिकरुपमा केही न केही गरिरहने मान्छे बढी बाँच्छन् भन्ने कुरो विज्ञानले नै प्रमाणित गरिसकेको छ । त्यसैले खानपानका साथै खेलकुद या व्यायामले मान्छेको आयुमा ठूलो भूमिका खेलेको हुन्छ ।

नियमित रुपमा खेलकुदमा भाग लिँदा, खाना राम्ररी पच्छ, रगत सञ्चालन राम्रो हुन्छ, राम्रोसँग निद्रा लाग्छ र रोगसँग लड्ने क्षमता पनि वृद्धि हुन्छ, जसले गर्दा मानिसको स्वास्थ्य राम्रो हुन्छ ।यो त भयो स्वास्थ्यको कुरो । खेलकुदसँग जोडिएको अर्को कुरो हो देश विकास ।

खेलकुद र देश विकास

खेलकुदसँग सोझै जोडिएको कुरो देशको इज्जत हो भन्ने त हामी सबैले देखेकै कुरो हो । त्यसबाहेक खेलकुद र देश जोडिएको अर्को विषय हो– देश विकास । सुन्दा अलिकति अनौठो सुनिएला, तर खेलकुद र देश विकासमा समानुपातिक सम्बन्ध छ । केही अपवादलाई छाड्ने हो भने संसारका धेरैजसो खेलकुदमा राम्रो गर्ने देशहरु सबैजसो विकसित देशहरु नै हुन्छन् । विकसित देशमा सरकारले खेलकुदमा राम्रो लगानी गरेको हुन्छ, त्यहाँका सबै जनता खेलकुदको फाइदाप्रति सचेत हुन्छन् । त्यसैले सानैदेखि उनीहरुमा खेलकुदप्रति रुची हुन्छ र पदक पाउनका लागि भन्दा पनि आफ्नो स्वास्थ्य राम्रो राख्नका लागि सबैले सानातिना भए पनि खेलकुदमा भाग लिइराखेका हुन्छन् ।

खेलकुदमा भाग लिँदा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुने नै भयो, जनता सामाजिक हुने भए । स्वस्थ र सामाजिक जनताको उत्पादकत्व अस्वस्थहरुको भन्दा बढी हुने नै भयो । अनि, उत्पादकत्व बढी भएमा देश विकास छिटो हुने नै भयो ।

त्यसको अतिरिक्त जुनसुकै खेलकुदमा पनि दुवै पक्षलाई मान्य हुने गरी नियमहरु बनाइएका हुन्छन् । त्यसैले खेलकुदमा भाग लिने मान्छेहरु नियम र अनुशासनले बाँधिएका हुन्छन् । उनीहरुलाई कानुनको सर्वोच्चता थाहा हुन्छ । उनीहरुले नियम मिच्ने काम गर्दैनन् । त्यसैले नियम मान्ने मान्छेहरुबाट स्वतः रुपमा कानुनको राज्य स्थापना गर्न सजिलो हुन्छ र कानुनी राज्य स्थापना भएमा देश विकासमा टेवा पुग्ने नै भयो ।

त्यस्तै, हरेक खेलकुदमा अवसर अवसर छोप्न नसके परास्त भइन्छ । जो चनाखो हुन्छ र आएको राम्रो अवसरलाई खेर जान दिँदैन, उसैले खेलमा विजय हासिल गर्छ । खेलकुदमा भाग लिएका मान्छेहरुलाई जीवनमा त्यो पाठ लागु गर्न सजिलो पर्छ अनि जीवनमा आएका हरेक राम्रा अवसरहरुलाई उनीहरुले खेर जान दिँदैनन् । ती हरेक राम्रा अवसरहरुलाई पुरापूर उपयोग गर्ने व्यक्तिहरुले आफ्नो व्यक्तिगत र पारिवारिक विकाससँगै देशको विकासमा पनि टेवा पुर्‍याएका हुन्छन् ।

देश विकास मात्र होइन, खेलकुदले राष्ट्रियता सुदृढ बनाउन पनि मद्दत गर्छ । हामीले देखेकै छौँ क्रिकेट या फुटबलको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन थाल्यो भने हिमालदेखि तराईसम्मका र पूर्वदेखि पश्चिमसम्मका युवायुवतीहरु गालामा नेपालको झन्डा टाँसेर नेपाली ‘टिम’लाई समर्थन गर्न र उनीहरुको हौसला बढाउन स्वतःस्फूर्त रुपमा निस्केका हुन्छन् । सागको फुटबल फाइनलमा नेपालको समर्थनमा दाशरथ रंगशाला उर्लेको भिडले त्यो कुरो पुष्टि गर्छ । ती युवायुवतीहरुलाई देख्दा थाहा हुन्छ, खेलकुदले राष्ट्रियता र राष्ट्रिय एकताका लागि पनि निकै महत्व पूर्ण योगदान दिएको हुन्छ ।

तर, नेपालमा अझैं पनि सरकार र जनताको तर्फबाट पनि खेलकुदको क्षेत्रमा गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । जब पर्‍यो राति, अनि बुढी ताती भनेझैँ जब–जब खेलकुदका आयोजना शुरु हुन थाल्छन्, अनि मात्र सरकार तात्छ र रङ्गशाला मर्मत गर्न थाल्छ, त्यो पनि विदेशीको सहयोगमा ।

तर, धेरै ढिलो भइसकेको छैन । यदि जनतालाई अनुशाशित तथा स्वस्थ राख्न अनि जनताको उत्पादकत्व बढाउनुछ भने सरकारले खेलकुदमा अहिले नै ठूलै लगानी गर्नुपर्छ । सागले हामीलाई खेलकुदप्रति सचेतना जगाएको छ, यही मौका छोपेर खेलाडीहरूलाई आकर्षिक गर्ने योजना ल्याउनु जरुरी छ ।

अहिले खेलकुदमा गरेको लगानीले कालान्तरमा देशलाई र जनतालाई निकै फाइदा पुर्‍याउनेछ भन्नेमा दुई मत छैन । सरकारले अहिले नै खेलकुदका व्यवसायिक पाठशालाहरु खोल्ने, हरेक स्थानीय तहमा कम्तिमा पनि एउटा रंगशाला या कभर्ड हल खोल्ने, खेलकुदका सामग्रीहरु सुलभ बनाउने, व्यवसायिक खेलाडीहरुलाई समाजका अन्य सम्मानित र उच्च पारिश्रमिक पेशाजत्तिकै पारिश्रमिक दिने, अन्तरराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई राज्यस्तरबाटै सम्मान प्रदान गर्ने, स्कुल देखि नै शारीरिक शिक्षालाई खालि देखाउन लागि मात्रको नभई व्यावहारिक रुपमा कडाइका साथ लागुगर्ने काम तुरुन्त शुरु गर्नुपर्छ ।

त्यसो गर्दा जनताको स्वास्थ्य र देश विकासमा मात्रै सहयोग नभई छिट्टै नेपालका खेलाडीहरुले पनि अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेर पदक पनि प्राप्त गर्नेछन् । अझ, अहिलेको जस्तो कम्प्युटर र मोबाइलमा आफ्नो अधिकांश समय बिताउने नयाँ पुस्ताका लागि त खेलकुदप्रति रुची जगाउनु निकै महत्वपूर्ण भएको छ । यदि तुरुन्तै त्यतातिर सोचेर उचित कदम चाल्न सकिएन भने आउने पुस्ता झन् पछि झन् अल्छी र अस्वस्थ भई देशकै लागि बोझ नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *