२०१९ मा विश्वका २५० पत्रकार जेलमा, पत्रकारलाई सबैभन्दा अप्ठेरो चीन, टर्की, साउदी अरेबिया र इजिप्टमा

न्यूयोर्क । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले प्रकाशित गरेको पछिल्लो रिपोर्टमा जनाइएअनुसार सन् २०१९मा कम्तिमा २५० पत्रकार जेलमा रहेको पाइएको छ ।

सबैभन्दा बढी पत्रकारलाई दमन गर्ने मुलुकको रुपमा चीन, टर्की, साउदी अरेबिया र इजिप्ट रहेको सीपीजेको रिपोर्टमा उल्लेख छ । त्यसपछि इरिट्रिया, भियतनाम र इरान पत्रकार दमन गर्ने मुलुकका रुपमा उल्लेख गरिएका छन् ।

अधिकांश पत्रकारहरुलाई राज्य विरोधी गतिविधिको अभियोग लगाइएको रिपोर्टमा उल्लेख छ । कतिपयलाई गलत समाचार लेखेको अभियोग लगाइएको छ । अघिल्लो वर्ष गलत समाचार लेखेको अभियोग २८ जनालाई लागेकोमा यसपालि सो संख्या ३० पुगेको छ । पछिल्लो समयमा रसिया र सिंगापुरले पनि गलत समाचार लेख्ने कामलाई फौजदारी अभियोग लगाउने कानुनी व्यवस्था गरेको सो रिपोर्टमा उल्लेख छ ।

टर्कीमा अघिल्लो वर्ष ६८ पत्रकार जेलमा भएकोमा अहिले ४७ मा झरेको रिपोर्टमा जनाइएको छ । जेलमा नपरे पनि दर्जनौं पत्रकारले अहिले बाहिर रहेरपनि मुद्धा खेपीरहेको रिपोर्टमा उल्लेख छ । सीपीजेका अनुसार चीनमा सन् २०१९मा कम्तिमा ४८ पत्रकार जेलमा छन् । यो संख्या अघिल्लो वर्षको भन्दा एक जना बढी हो ।
साउदी अरेबियामा २६ पत्रकार अहिले जेलमा रहेको जनाइएको छ । इजिप्टमा पनि जेलमा रहेका पत्रकारको संख्या २६ छ ।

इरानमा ११, रसियामा ७, इरिट्रियामा ३९ र भियतनाममा १२ जना जेलमा रहेको रिपोर्टमा उल्लेख छ । कूल जेलमा रहेका मध्ये ८ प्रतिशत महिला छन् । साउदी अरेबिया र चीनमा बाहेक अन्यत्र आफ्नै देशको समाचार लेख्दा पत्रकार जेल परेको जनाइएको छ । पत्रकारलाई जेल हाल्ने विषय राजनीति, मानवअधिकार र भ्रष्टाचार सम्बन्धी मुख्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *