नेपालमा रोहिंग्या शरणार्थीको भीड, ५० परिवारले बनाए २३ टहरा

म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो । उनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए ।

‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने।‘काठमाडौंको बूढानिलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौँ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

माइतीघर–तीनकुनेमा साइकल लेन निर्माण गरिँदै
काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेको हो ।

साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

“कम लागत लाग्ने र धेरैले प्रयोग गर्न सकिने हुनाले यहाँबाट साइकल लेन सञ्चालनको सुरुवात गर्न लागेका छौँ”, उनले भने, “सहरी योजनाको सिद्धान्तअनुरूप साइकल लेन र पैदलमार्ग व्यवस्थित गर्नेछौँ । ”

अहिले भएको साइकल लेनको उचित प्रयोगको वातावरण सिर्जना गरी भविष्यमा साइकल लेनको थप सञ्जाल विकास गर्ने गुरुयोजना तयार पारिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *