नेकपा स्थायी कमिटी बैठक : पार्टीभित्र गुट झांगिँदा अनुशासन कमजोर

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र गुटहरू झांगिँदै जान थालेको निष्कर्ष निकालेको छ । घात, अन्तर्घात र अराजक प्रवृत्ति बढ्दै गएको र अनुशासनको स्तर दयनीय अवस्थामा पुगेको सो पार्टीको ठहर छ ।

आइतबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदनमा पार्टी एकता प्रक्रियालाई पूर्णता दिन ढिलाइ भएको, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण पार्टी संगठन अन्योलग्रस्त भएको उल्लेख छ ।

पार्टीलाई संस्थागत एवं सांगठनिक रूपमा अगाडि बढाएर पार्टीभित्र सुधार ल्याउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र संकल्पसाथ अगाडि बढ्नुको विकल्प नभएको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष दाहालले स्थायी कमिटीमा छलफलका लागि पेस गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकता, सरकारको समीक्षा, उपनिर्वाचनको समीक्षा र आगामी कार्ययोजनाबारे समेत उल्लेख छ । अध्यक्ष दाहालले सोमबार पुनः बस्ने बैठकमा आफ्ना धारणा राख्न निर्देशन दिएका छन् तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा तीन महिनामै एकताको सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरे पनि एकताको काम ढिलाइ भएकामा नेतृत्वले आत्मालोचना गरेको छ ।

‘यसमा हुन गएको ढिलाइ र त्यसबाट उत्पन्न समस्या मुख्यतः आम पार्टी पंक्ति र जनसमुदायमा समेत केही हदसम्म उत्पन्न अन्योल, आशंका र निराशा र सरकारका काम कारबाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीका कारण उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समीक्षा, आत्मालोचना र जिम्मेवारी लिनैपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

विश्वको राजनीति अमेरिका र चीन वरिपरि

अहिले विश्वको राजनीति अमेरिका र चीनको वरिपरि घुम्न थालेको निष्कर्ष निकाल्दै नेकपाले नेपालका लागि एकैसाथ चुनौती र सम्भावना बोकेर आएको जनाएको छ आफ्नो अति महाशक्तिको स्थिति कायम राख्ने संयुक्त राज्य अमेरिकाको चाहना र त्यसको प्रतिवाद गरी आफूलाई विश्व अर्थतन्त्र र शक्तिको केन्द्र बनाउने चिनियाँ रणनीति वरिपरि विश्वको राजनीति घुम्न थालेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘दक्षिण एसिया र नेपालको भू–राजनीतिक अवस्थितिको संवेदनशीलताका कारण उपर्युक्त विश्व राजनीतिक परिस्थितिका संकेतहरूले एकै साथ हाम्रा अगाडि चुनौती र सम्भावना बोकेर आएका छन् ।’

चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिटेटिभ’ र संयुक्त राज्य अमेरिकाले विकसित गरिरहेको ‘इन्डो प्यासिफिक रणनीति’ आपसमा टकराइरहेको निष्कर्ष नेकपाको छ चीन र भारतको बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवैसँग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित्त सकारात्मक पहल बढाउनु, दुवै छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कूटनीतिमा अगाडि बढ्नु तथा देशको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडि बढ्नु नै आजको आवश्यकता रहेको नेकपाले जनाएको छ ।

भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालका कालापानी क्षेत्र, लिपुलेक र महाकालीको मुहान लिम्पियाधुरालाई समेत आफ्नो भू–भागमा राखेकामा नेकपाले आपत्ति जनाउँदै सो नक्सा सच्याउन भारतलाई सुझाव दिएको छ ।

‘हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनीतिक र कूटनीतिक संवादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन र नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ । हाम्रो पार्टी र सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिममा भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रियावादी दलाल अस्थिरता सिर्जना गर्न कसरत गर्दै

नेकपाले लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तŒवहरूले आज पनि अन्योल र अस्थिरता सिर्जना गर्न कसरत गरिरहेको जनाएको छ ।

देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट पार्टीमाथि अधिनायकवादीको झुटो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेको ठहर नेकपाको छ निरंकुश राजतन्त्रका पक्षपोषकहरू, परिवर्तनविरोधी यथास्थितिवादी शक्तिहरू, विभिन्न रूप र रंगका साम्प्रदायिक एवं अतिवादी तत्वहरूलाई कम्युनिस्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको कुरा बिलकुल नपचेको निष्कर्ष नेकपाको छ ।

पार्टीलाई सुदृढ बनाउने प्रस्ताव

नेकपाले पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाइमा एकरूपता ल्याउन प्रशिक्षण आयोजना गर्ने प्रस्ताव गरेको छ ।

पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद रहेको र तात्कालीन ठोस कार्यक्रम समाजवाद उन्मुख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गर्न प्रशिक्षण आवश्यक रहेको ठहर नेकपाको छ ।

यस्तै, पार्टी मुखपत्र एवं अन्य वैचारिक र राजनीतिक प्रकाशनलाई नियमित र योजनाबद्ध रूपमा प्रकाशन गर्ने, वितरण गर्ने तथा सिंगो पार्टी पंक्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउन योजना बनाएर कार्यान्वयनमा जानुपर्ने प्रस्ताव गरिएको छ ।

यसैगरी, पाटीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेकोस्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित बनाउन सदस्यता नवीकरण, कमिटीहरूको नियमित बैठक सञ्चालन, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटीको कम्तीमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधिसंगत, सामूहिक र संस्थागत बनाउन आवश्यक रहेको नेकपाले जनाएको छ ।

सबै पार्टी कमिटी, विभाग, मोर्चा र संयन्त्रहरूले कम्तीमा तीन महिनाको कार्ययोजना तयार पारी कार्यन्वयनमा जानुपर्ने निष्कर्षसहित नेकपाले कार्यान्वयन प्रक्रियाको समीक्षा गरी सामूहिक निष्कर्षसहित पुनः नयाँ योजना निर्माणको प्रक्रिया अगाडि बढाउने प्रस्ताव राखेको छ ।

पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्धतिविपरीत बोल्ने र लेख्ने पार्टी नीतिविपरीत भेला र बैठक गर्ने काम बन्द गर्न निर्देशन दिइएको छ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्दै अनुशासनहीनलाई कारबाहीको दायरामा ल्याउने नेकपाले जनाएको छ ।

सरकारको काम मूलभूत क्षेत्रमा उल्लेख्य सफलता

नेकपाले सरकारको काम मूलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको निष्कर्ष निकालेको छ । सरकारले अनेकौं जटिलता, चुनौती र प्रतिकूलताका बाबजुद संविधान कार्यान्वयन, विकास, निर्माण, सामाजिक न्याय, सामाजिक सुधार, आर्थिक वृद्धि र वैदेशिक सम्बन्ध विस्तार आदि जस्ता मूलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको नेकपाले जनाएको छ ।

उपनिर्वाचनले गम्भीर प्रश्न र शिक्षा दियो

नेकपाले हालै सम्पन्न उपनिर्वाचनको परिणामले पार्टीलाई गम्भीर शिक्षा दिएको निष्कर्ष निकालेको छ एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य र ४८ स्थानीय तहका रिक्त स्थानसमेत गरी जम्मा ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणामले पार्टीलाई केही गम्भीर प्रश्न र शिक्षा दिएको निष्कर्ष नेकपाको छ ।

माघमा केन्द्रीय कमिटी बैठक

नेकपाले आगामी माघ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउन प्रस्ताव गरेको छ । पार्टी एकताको डेढ वर्षमा केन्द्रीय कमिटीको बैठक अहिलेसम्म भएको छैन ।

केन्द्रीय कमिटीको बैठकबाट तीन महिने ठोस कार्यक्रम निर्धारण गरी सातै प्रदेश एवं विशेष प्रदेशमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने प्रस्ताव नेकपाले बैठकमा गरेको छ । सबै प्रदेश, विभाग, जवस र मोर्चाहरूलाई आ–आफ्नो कार्यक्षेत्रभित्र तीन महिने कार्यक्रम बनाई संगठन विस्तार र सुदृढ गर्ने तथा जनसम्बन्ध विस्तार र सदृढ गर्न ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिने नेकपाले जनाएको छ ।

प्रदेशका तर्फबाट सबै जिल्लामा भेला, प्रशिक्षण र बैठकको आयोजना गर्ने तथा व्यापक जनपचिालनमा जोड दिने प्रस्ताव गरिएको छ । फागुन र चैतमा सातवटै प्रदेशमा बृहत् जनसभा आयोजना गर्ने तथा ती सभामा प्रदेश र केन्द्रीय नेतृत्व समेतबाट सम्बोधनका कार्यक्रम राखिनेछ ।

केन्द्रीय समितिको बैठकको लगत्तै संगठन विभागका तर्फबाट पार्टी सदस्यको अभिलेख संकलन, सदस्यता नवीकरण, लेबी कोटा उठाउनेदेखि अन्य संगठनात्मक कामलाई व्यवस्थित गर्ने प्रस्ताव बैठकमा गरिएको छ पहिलो तीन महिने कार्ययोजना पूरा गरी अर्को कार्ययोजना अवधिलाई जिल्ला पार्टी अधिवेशन तयारी अवधिका रूपमा अगाडि बढाउने प्रस्ताव नेकपाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *