ओली सरकारको ६ करोड लुटतन्त्रविरुद्ध सर्वाेच्चमा कांग्रेसकी यी सांसदको मुद्दा

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सांसदलाई ६ करोड रुपैयाँ बाँडेर लुटतन्त्र मच्चाएको भन्दै नेपाली कांग्रेसका सांसदले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा कम्युनिस्ट सरकारले राज्यको ढुकुटीमाथि लुटतन्त्र मच्चाएको भन्दै कार्यक्रमका कुनै पनि काम अघि नबढाउन माग गर्दै सांसदहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

कांग्रेस सांसद रंगमती शाही, प्रकाश पन्थ र प्रकाश रसाइली ‘स्नेही’ले कार्यक्रमको कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा धुलोधुवा नभएको अभिव्यक्ति दिएपछि सांसद शाहीले ओलीलाई स्कुटरमा चढेर काठमाडौं घुम्न चुनौती दिएको घटना चर्चित भएको थियो ।

सांसदहरूले कार्यक्रमको नियमावली नेपालको संविधानको धारा १८, ८३, ८४ र ८६ सँग बाझिने भन्दै उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरेका छन् । ओली सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७६ मार्फत प्रतिनिधि सभाका हरेक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो कार्यक्रम कार्यकर्तालाई बाँड्न वितरण गरिएको भन्दै बजेट आउँदा नै आलोचना भएको थियो ।

कार्यक्रम अन्तर्गत योजना छनोटको मुख्य जिम्मेवारी रहेको कार्यक्रम परामर्श समितिको अध्यक्ष सम्बन्धित क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहने व्यवस्था रहेको छ । नियमावलीको नियम ७ (५) (६) र १४ (१) को व्यवस्था संविधानको धारा १८, ८३, ८४, ८६ र अर्थमन्त्रीले पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यको बुँदा २१३ को विपरीत रहेको भन्दै रिटमा नियमावलीको व्यवस्थालाई उत्पे्रषणको आदेशद्वारा अमान्य र बदर घोषित गर्न माग गरिएको छ ।

नियमावलीको नियम ७ (५) (६) र १४ (१) को व्यवस्थाले प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद र राष्ट्रियसभा सदस्यबीच विभेद गरेको भन्दै यसलाई परिमार्जन गराउन परमादेश पनि माग गरिएको छ ।

कांग्रेस सांसद रंगमती शाहीले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेटले भोट किन्ने बेच्नेबाहेक केही काम नगरेको दाबी गरेकी छन् । ‘कार्यक्रमले भोट किन्नेबाहेक अरु काम गर्दैन,’ उनले भनिन्, ‘यो पैसा गएन भने बल्ल स्वच्छ छवि भएको नेतृत्व आउन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *