परदेशमै हराए श्रीमान, तर हराएको छैन माया र समर्पण

३० मंसिर, काठमाडौं । सिन्धुली मरिणखोलाकी सविता राई २८ वर्षकी थिइन्, जब श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया उडे । अहिले उनी ३८ वर्षकी भइसक्दा पनि श्रीमान फर्केर आएका छैनन् ।

१० वर्ष अगाडि ऋणधन गरेर श्रीमानलाई विदेश पठाउँदा सविता राईको काखमा थियो सानो छोरा । आँखामा थिए सुन्दर भविष्यका सपनाहरु । श्रीमानले विदेशबाट पैसा कमाउलान् र जीवनयापन सहज होला भन्ने उनको सपना अब खण्डहर भइसकेको छ ।

म्यानपावरलाई ९५ हजारको थैलो बुझाएर मलेसिया उडेका थिए शुक्ले राई । विदेश गएको ३ वर्षसम्म उनले केही रकम पठाए पनि । सविताको जीवन लयमा फर्किँदै थियो । तर, एकाएक सबै कुरा बदलियो ।

सविता आफ्नो श्रीमान घर फर्किने दिन गन्दै थिइन्, तर श्रीमान भने उनीसित अकारण टाढिन थाले । आक्कलझुक्कल मात्रै फोन गर्थे । आफूले धेरै दुःख पाएको भन्दै रुन्थे । सविताले कामको बोझले होला भनेर केही समय मन बुझाइन् । फर्किन आग्रह नगरेकी पनि होइनन्, तर शुक्लेले जहिल्यै टारीरहे ।

आक्कलझुक्कल मात्रै सम्पकमा आउँथे शुक्ले । आफूलाई मलेसियाबाट नेपाल फर्काउन आग्रह गर्दै रुन्थे । तर आफू कहाँ छु भन्ने आफूलाई नै थाहा नभएको बताउँथे । श्रीमानले भनेको कसरी नपत्याउन् सविताले !

धैर्यता टुटेपछि सविताले आफ्नो श्रीमानलाई नेपाल फिर्ता ल्याउन विभिन्न निकाय धाइन् । अनुनय विनय गरिन् । अनि पो पत्ता लाग्यो शुक्लेले मलेसियामा अर्को विहे गरेर बसेका छन् । फिलिपिनो युवतीसँग उनले विहे गरेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को अध्ययनमा देखिन्छ तर, उनी कहाँ, कुन ठाउँमा, कस्तो अवस्थामा बसेका छन् भन्ने पत्तो छैन । शुक्लेको फिलिपिनो युवतीबाट एक सन्तान पनि भइसकेको पत्ता लागेको छ ।

२ वर्षअघिसम्म शुक्ले परिवारलाई कहिलेकाँही लुकीछिपी फोन पनि गर्थे । ‘यता हामीसँग कुरा गरेको थाहा पाएपछि त्यो केटीले फोन खोस्दिने रहिछे,’ सविता भन्छिन्, ‘पोहोर दुई घण्टासम्म लगातार जंगलतिरबाट फोनमा कुराकानी गर्नुभयो । छोराछोरीसँग पनि बोल्नुभयो । त्यसपछि फोन नम्बर ब्लक छ । कहाँ कता हुनुहुन्छ केही पत्तो छैन ।’

अन्तिम पटकको कुराकानीमा छोरीले उनलाई जहाँ भए पनि आफूहरुले नेपाल ल्याउने बताएकी थिइन् । तर, उनले ठेगानासम्म भन्न नसकेको सविता बताउँछिन् ।

एक त रोगी ज्यान, अर्कोतर्फ परिवारको लालनपालनको दायित्वले थिचिएकी छिन् सविता । आफूले धेरै दुःख भोग्नु परे पनि श्रीमानलाई परिवन्धबाट छुटाउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ ।

‘हामीलाई ठूलो ऋण छ, घरमा बसेको भाडा तिर्न नसकेर घरबेटीले निकालिदिए,’ सविता भन्छिन्, ‘जेनतेन गरेर गुजारा गरिरहेका छौं, उहाँलाई फर्काउन पाए सुखदुःख सँगै झेल्न पाइन्थ्यो ।’

सवितालाई आफ्ना श्रीमानप्रति अहिले पनि त्यतिकै माया र सद्भाव छ । श्रीमान कुनै परिवन्धमा फसेका हुन् भन्ने लाग्छ उनलाई । त्यसबाट मुक्त गराएर नेपाल फर्काउन पाए नयाँ जीवन नै पाइन्थ्यो कि भन्ने सोच्छिन् । तर सविताले सोचेजस्तो केही भइरहेको छैन ।

१० वर्षका बीचमा सविताले कति आँशु खसालिन् त्यसको हिसाव स्वयम् सँग छैन । अब त आँसु रित्तिए जस्तै भइसक्यो । अझै पनि उनमा शुक्ले फर्कन्छन् भन्ने भरोसा टुटेको छैन । तर, कहिले, कसरी.. ?

गोरखाकी पुजा गुरुङको कथा पनि सविताभन्दा फरक छैन । साउदी पुगेका उनका श्रीमान गणेश गुरूङ पनि ३ वर्षदेखि सम्पर्कविहीन छन् ६ महिनासम्म गणेश फोन गर्दै थिए, कमाइ राम्रो नभएको गुनासो सुनाउँथे । केही पैसा पठाएका पनि थिए । तर, एकाएक उनी सम्पर्कबाट बाहिर भए ।

फोन सम्पर्क नभएपछि सोधखोज सुरु भयो । उनका साथिहरुले रक्सी खाएर गणेश बिरामी भएको र हस्पिटल लगिएको जवाफ दिए । कुन हस्पिटल ? कसैले जवाफ दिएनन् । एकपटक–होइन पटक–पटक सोधियो । तर, उनका साथीहरु त्यसको जवाफा नदिइ तर्किरहे ।

‘मेरो बुढा त रक्सी नै खाँदैन थिए । त्यतिबेलै त्यो कुरामा मलाई विश्वास थिएन,’ पुजा भन्छिन्, ‘ढाँटिएको हो भन्ने लागिरहेको थियो । पापी मनले केही नराम्रो पो भयो कि भन्ने नसोचेको पनि कहाँ हो र !’

त्यतिबेला साउदीका धेरै हस्पिटलमा सोधखोज गर्दा पनि गणेश भटिएनन् । पछि गणेशका नुवाकोटका साथी अनिल बीसी नेपाल फर्किएपछि कुरा फेरिन पुग्यो ।

बीसीकाअनुसार तलब चित्तबुझ्दो नभएपछि गणेश र उनले कम्पनी फेरेका थिए । यसो गर्नु साउदीमा अवैधानिक मानिन्छ । अनिलले गणेश र आफू बाटो काट्ने क्रममा सडक दुर्घटनामा परेको दाबी गरेका छन् । बाटोबाट घाइते गणेशलाई प्रहरीले उठाएर लगेको तर कहाँ पुर्‍याइयो भन्ने आफूलाई जानकारी नभएको अनिलले बताएका छन् । अनिल त्यसपछि यस विषयमा थप बोल्न मानेका छैनन् ।

पुजालाई यी कुराहरुले झन् अलमल र उल्झनमा पारेको छ । उनलाई अझै पनि आफ्ना श्रीमानलाई केही भएको छैन भन्ने विश्वास छ । त्यही विश्वासले पनि उनी अझै गणेशलाई कुरिरहेकी छिन् ।

‘दुर्घटनामा परेर मर्‍यो भन्छन्,’ उनी भन्छन्, ‘त्यस्तो होइन होला, कतै अप्ठेरोमा परेका होलान् पुजा र उनका परिवारलाई लाग्छ, मरेको भए कतै त लास भेटिन्थ्यो होला नि उनलाई पनि आफ्नो जीवनसाथीको साथ विना पल–पल काट्न कम्ता मुस्किल भएको छैन । तर, पुजालाई थाहा छ, जति पीडा भए पनि सहनुको विकल्प छैन ।

पुजा आफ्नो मनको पीडा लुकाएर पनि हाँस्ने कोसिस गर्छिन् । फेरि पनि जब गणेश सम्झनामा आउँछन् आँखा त छचल्किन्छ नै । भक्कानो फुट्छ नै । काँखमा जब लुटपुटिँदै अवोध सन्तानले ‘बाबा कहिले आउने भनेर ?’ सोध्छन् , पुजाले के जवाफ दिनु ?

समस्या बढ्दै, समाधान कठिन

पुजा र सविताको जस्तो कथा अहिले धेरै परिवारले भगिरहेका छन् । वैदेशिक रोजगारमा गएका नेपालीहरु विभिन्न कारणले सम्पर्कविहीन हुने क्रम पछिल्लो समयमा बढ्दो छ । तर, यस्ता विदेशमा बेपत्ता कामदार कति छन् भन्ने कुनै तथ्याङ्क छैन ।

पीएनसीसीका अनुसार बितेको ६ वर्षमा संस्थामा मात्रै ३ सय ८८ वटा यस्तै प्रकृतिका विदेश पुगेका व्यक्ति बेपत्ता भएको भन्दै खोजतलासको निवेदन दर्ता भएका थिए । त्यसमध्ये धेरै मुद्दा मलेसियाका थिए । संस्थाले २३१ जना कामदारको अवस्था पत्ता लगायो । त्यसमध्ये कतिलाई फर्काएर पारिवारिक पुर्नमिलन गराइयो भने कतिलाई फर्काउन नै नसकिएको संस्थाकी कार्यक्रम अधिकृत शान्ति सिंह बताउँछन् १०४ वटा निवेदन अनुसार व्यक्तिको खोजतलास भइरहेको तरे ५७ वटा निवेदन भने अघि बढाउन नसकिएको उनले बताइन् ।

‘कतिपय मुद्दामा हराएका भनिएका व्यक्तिको नाम मात्रै हुन्छ, कहाँ गएको, पासपोर्ट नम्बर कति हो भन्ने सम्मका आधारभूत विवरण पनि नहुँदा खोज्न गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘विवरण स्पष्ट भएका कामदारको हकमा हामी निरन्तर विभिन्न माध्यममार्फत पहल र समन्वय गरेर खोजतलास गर्छौं ।’

पीएनसीसीका अनुसार विदेशमा मृत्यु भएमा, दुर्घटनामा परेमा, अकस्मात जेल परेमा, प्रेम सम्बन्धसहित अन्य भुलभुलैयामा परेमा, पारिवारिक मनमुटाव र विवाद भएमा, र रोजगारदाताले नै असहयोग गरेमा धेरै कामदार बेपत्ता हुने गरेका छन् ।

‘तर कतिपय भने परिवारबाट नै स्वेच्छाले टाढा बस्न खोज्छन्, त्यसमा विविध कारणहरु हुन सक्छन्,’ कार्यक्रम अधिकृत सिंह भन्छिन्, ‘कतिपयले उतै घरजम गरेर परिवारबाट टाढा बस्न पनि खोजेका हुन्छन् । यस्तो अवस्थामा व्यक्तिलाई सम्पर्क गरेर फिर्ता ल्याउन निकै कठीन छ ।’

यस्ता बेपत्ता कामदार खोज्न पर्याप्त विवरणहरु नहुँदा धेरै समस्या हुने गरेको छ । बेपत्ता कामदार खोजी गर्न सरकारको आधिकारिक संयन्त्र पनि छैन । कतिपय घरेलु कामदारको रोजगादाताले मोबाइल पनि नदिने र परिवारसँग सम्पर्कमा नै बस्न नदिने गरेका कारण समस्या भएको सिंह बताउँछिन् ।

‘अब सरकारले नै बेपत्ता कामदारको तथ्यांक संकनलका लागि व्यवस्थित प्रणाली बनाउनुपर्छ, अभिमुखीकरणमा यस्ता विषय समेत समावेश गर्नुपर्छ,’ उनले भनिन्, ‘दूतावासहरुलाई थप जिम्मेवार बनाउँदै सामाजिक सञ्जाल र वेबसाइटहरुको उपयोग गरेर पनि हराएका कामदार खोज्ने पद्धति विकास गर्नुपर्छ ।’

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ सरकारी तथा गैरसरकारी निकायबीच समन्वय र सहकार्य बढाएर यस्ता समस्यालाई सल्ट्याउँदै लैजानुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *