जब फुटपाथमा हिँडिरहेकी महिलामाथि कार जाेतियाे, मदिरा र युवतीसँग मस्तीमा थिए चालक

काठमाडौं, ४ पुष । मदिराले लट्ठ भएका एक चालकले फुटपाथमा हिडिरहेकी महिलाको ज्यानै लिएपछि उनी अहिले प्रहरी हिरासतमा छन् गत शनिबार बिहान बुढानीलकण्ठ नगरपालिका– ५ स्थित बसपार्क नजिकैको सडकमा बत्तिँदै आएको एउटा कारले फुटपाथमा हिडिरहेकी लीला देवकोटालाई ठक्कर दिएको थियो । तीव्र गतिमा हुइँकिँदै आएको बा१४च ६१२३ नम्बरको सुजुकी कार अनिन्त्रित रुपमा फुटपाथमा जोतिएको थियो । यसरी अनियिन्त्रित रुपमा कार हाँक्ने चालक थिए २१ वर्षीय पृथ्वी मल्ल ।

मृतक देवकाेटा र चालक मल्ल

बत्तिँदै आएको सो कार देखेर फुटपाथमा हिडिरहेकाहरु डराउँदै बाटो छाड्दै थिए । तर बुढानीलकण्ठ स्कुलको गेटैमा पुगेपछि भने कार फुटपाथमा जोतिएरै छोड्यो, जसको सिकार बनिन् लीला देवकोटा । कारको ठक्करसँगै उनी सडकमा बजारिइन् । उनी त्यस बिहानै टुँडिखेलस्थित संकटा मन्दिर दर्शन गरेर फर्किरहेकाे बेला ठक्कर दिएकाे थियाे । कार भने हुत्तिँदै अलि पर बिजुलीको पोलमा गएर ठोक्किएर अडिएको प्रतक्षदर्शीले बताएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी देवकोटालाई तुरुन्तै नजिकको बाँसबारी न्युरो अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकहरुले तत्कालै मृत घोषित गरिदिएको मृतकका आफन्तले बताए । देवकोटाको मृत्युको खबर पाएर उनी काम गर्ने पस्मिना उद्योगका मजदूर साथीहरु अस्पतालमै आइपुगेका थिए । घटनामा प्रहरीले हतारहतार मुचुल्का उठाउन र जाहेरी दिन दबाब दिएको तर पीडित पक्षले पहिले पीडकको परिवारसँग छलफल गर्न चाहेको स्रोत बताउँछ ।

ठक्कर दिने कारभित्र ४ जना सवार रहेको र तीमध्ये घटना लगत्तै तीन जना बाहिर निस्किएर भागेको बताइएको छ । चालक पृथ्वी मल्ल भने तत्काल कारबाट बाहिर निस्कन सकेनन् । अत्यधिक मदिरा सेवन गरेर हाँकिरहेका उनी मदहोसी थिए, के भइराछ भन्ने नै थाहा थिएन । मृतकका आफन्तहरुले प्रहरीमा दबाव दिएपछि चालक मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । हाल मल्लमाथि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा मुद्दा चलिरहेको छ । यद्यपि चालक मल्ललाई छुटाउने र मिलापत्र गर्ने चलखेलमा उनका आफन्तहरु लागिपरेको स्रोत बताउँछ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी उत्तमराज सुवेदीले न्युज २४ लाइ दिएकाे जानकारीअनुसार ठक्कर दिने चालक मल्लविरूद्ध मृतकको परिवारबाट जाहेरी लिएर कारबाही प्रक्रिया थालिएको छ । चालक मल्लविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको हाे ।

प्रहरीका अनुसार कारबाट भागेका अन्य तीनजनालाई पनि नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । मल्लले हाँकेको सो कारमा सवार ती तीनजना मोडल प्रतिमा राना, मनिष महर्जन र करिश मास्के रहेको खुलेको छ । उनीहरूलाई सोधपुछपछि लिएर छाडिसकिएकाे छ ।

दुर्घटनाग्रस्त कारभित्र मदिराका बोतल तथा गाजा र कोकिन समेत फेला परेको प्रहरीले जनाएको छ । चालकसहित कारभित्र बसेका सबैले मदिरा सेवन गरेको अनुसन्धानबाट पुष्टि भएको छ । उनीहरु शनिबार बिहान शिवपुरीबाट आउँदै थिए । त्यस अघिल्लो राति ठेमलस्थित एलओडी नाइट क्लबमा ड्रिंकसहित मस्ती गरेर सोही कारमा उनीहरु शिवपुरी नजिककैको डाँडागाउँ पुगेको विभिन्न जानकारीबाट खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *