घरमा पो बुढाबुढी हौं, खेलकुदमा दुश्मन !

काठमाडौं । पहिले जुनियर र सिनियर खेलाडी । त्यसपछि लभ जोडी । अनि श्रीमान–श्रीमती । गोल्ड मेडलिस्ट । फेरि प्रशिक्षक र खेलाडी । यी हुन् तेक्वान्दो खेलाडी आयुशा शाक्य र दीपक विष्टका सम्बन्धका आयाम ।एउटै व्यक्तिसँग चाहेर नपाइने अनेक आयामले उनीहरुलाई रोमाञ्चक बनाएका छन् । दीपक विष्टलाई नै सुनौँ न, जीवनको नयाँ–नयाँ अनुभूतिले कति रोमान्टिक बनाउँछ ।

के उनीहरुको जीवनमा भावीले यस्तै लेखेर पठाएका होलान् त ? पक्कै होइन । यी आयामहरु त एक अर्काप्रतिको समर्पणले कोरेका हुन् । पति–पत्नीबीचको सम्मानले रचेका हुन् ।

नत्र आयशा शाक्य अहिले दुई छोरा भुलाउँदै घरमा खाना पकाइरहेकी भेटिन्थिन् । कहाँ दक्षिण एशियाली खेलकुद (साग) मा दुईदुई वटा स्वर्ण पदक जितेर सारा नेपालीलाई गौरवान्वित बनाउन सक्थिन् ? कहाँ जुझारु आमाको छवि स्थापित गर्न सक्थिन् ?

आयशाको अनुभवले नै भन्छ, ‘महिलाले बिहे गरेपछि एउटा आमाको, एउटा छोरीको, एउटी बुहारीको, एउटी श्रीमतीको भूमिका निभाउनुपर्दो रहेछ । त्यसमा बाँधिएपछि आफूले बनाउँदै गरेको करिअरलाई निरन्तरता दिन गाह्रो हुन्छ । मलाई श्रीमानले परिवारमा बनाएको खेलमय वातावरणले सहयोग गर्‍यो।’

सायद यस्तै कठिनाइबाट उम्रिएको भएर हुनुपर्छ, तेक्वान्दोको पुम्सेतर्फ दुई स्वर्ण पदक घाँटीमा भिर्दा उनका आँखा अविरल छचल्किए । अंगालोमा बेरिएका श्रीमान दीपकका आँखा पनि रोकिएनन् । सामाजिक सञ्जालमा भाइरल यो तस्वीरले थुप्रैलाई भावुक बनायो र, थुप्रैलाई उत्प्रेरणा दियो ।

यी दुईका जीवन भोगाइले मानिसलाई अझ धेरै उर्जा भर्नेछ ।नौ वर्ष भयो दीपक विष्ट र आयशा शाक्यको बिहे भएको । बिहे गर्दा आयशाले होइन, दीपकले चाहिँ सर्त राखेका थिए, ‘बिहेपछि पनि तिमीले खेल्न छोड्नुहुन्न है !’

दीपक यस्ता मान्छे हुन्, जोसँग नेशनल च्यापियनमा हारेको रेकर्ड छैन । लगातार चारवटा सागमा चार स्वर्ण पदक जितेको कीर्तिमान उनकै नाममा छ । यस्ता मान्छेको त्यस्तो प्रस्ताव आयशालाई अद्भुत लागेको थियो । ‘लाइफ पार्टनरले आफ्नो को–पार्टनरको ईच्छाशक्ति मार्न दिनुहुन्न भन्ने मेरो मान्यता हो’, दीपक आयशातर्फ हेर्दै बोल्छन्, ‘उसले मेरो सपनामा सहयोग गर्‍यो, मैले उसलाई सहयोग गरेँ ।’

सोफामा बसेकी आयशा टोलाइरहेकी छिन् ।यो जोडी पनि त यही तेक्वान्दोले नै जुराइदिएको थियो । जतिबेला दीपक सिनियर र आयशा जुनियर खेलाडी थिए ।तर, त्यतिबेला थुप्रै पटक आयशाको मन दुखेको छ । स्पाइरिङ गर्दा या क्याप्टेन भएर काम गर्दा होस्, आयशाले थुप्रै पटक दीपकको कुटाइ खाएकी थिइन् । कहिलेकाहीँ आयशाको मनमा हुन्छ, ‘कहिल्यै माया गर्दैन, जहिले पिट्या पिट्यै गर्छ ।’

एकपटक स्पाइरिङ गर्दा दीपकले एडीले आयशाको ढाडमा हिर्काए । ‘निकै जोडसँग लाग्यो । मेरो सासै रोकिएजस्तो भयो’, आयशा अनुभव सुनाउँछिन्, ‘एकदमै चित्त दुखेको थियो । रोएकी पनि थिएँ । खेल जीवनमा सबैभन्दा दुःख लागेको समय थियो त्यो ।’

यो किनभने दीपक खेलाडी वा क्याप्टेन मात्र थिएनन्, आयशाका प्रेमी पनि थिए । ‘उहाँ कोच मात्र भएको भए केही फरक पर्थेन, तर आफ्नो मान्छेले गाली गर्दा, पिट्दा अलि बेसी मन दुख्दोरहेछ’, आयशाको कोमल हृदय बोल्छ ।

‘माया गरेर स्पाइरिङ गर्‍यो भने उसको स्पाइरिङ कसरी हुन्छ ?’, दीपक प्रतिप्रश्न गर्छन् । खेलका आफ्ना नियम हुन्छन् । नियमबाहिर गयो भने जोसुकै पनि कारवाहीको भागिदार बन्नुपर्छ । यो दीपक विष्टको सिद्धान्त हो । त्यसैले दीपक भन्छन्, ‘कोच वा क्याप्टेन हुँदा अरु खेलाडीलाई जस्तो गरें, उसलाई पनि त्यही नजरले हेरेँ । खेल माया साट्ने ठाउँ होइन ।’

यतिसम्म त ठिकै छ । तर, बिहेपछि पनि स्पाइरिङका क्रममा दीपकले आयशाका हातका औँला नै भाँचिदिएका छन् । आयशाको भाँचिएको साइली औँला समाउँदै दीपक बोल्छन्, ‘यो भवितव्य हो । तर उसको औँला बांगिएको देख्दा चाहिँ माया लागेर आउँछ ।’ उनलाई लाग्छ, घरमा पो बुढाबुढी खेलमा दुश्मनजस्तै गरी खेल्नुपर्छ ।खेलप्रतिको यही लगावले त सागमा तेक्वान्दो खेल्न २०१० मा सँगै बंगलादेश पुगेका आयशा र दीपक स्वर्ण पदक भिरेर स्वदेश फिरेका थिए ।

आयशाको संघर्ष त तब शुरु भयो, जब छोरा जन्मिए । छोरा पनि नर्मल होइन, पेट चिरेर जन्म दिइन् आयशाले । तर यस्तो अवस्थामा कस्तो परिवारिक वातावरण बन्यो ? आमाले भनेकी थिइन्, ‘तिमी स्वस्थ हुनका लागि खेल पनि खेलिरहनुपर्छ है ।’

उनको अलिकति शारीरिक बनावट परिवर्तन भयो । तर, उनलाई खेल्न सक्दिनन् भन्ने चाहिँ कहिल्यै पनि लागेन । पहिलो छोरा १० महिना मात्र भएका बेला सेकेण्ड माउण्ट एभरेस्ट खेल्न पुगिन् । छोरालाई बिहान बेलुकी आमा र भाइको जिम्मा लगाइन् अनि ट्रेनिङमा सहभागी भइन् । श्रीमान पनि घरमा थिएनन्, उनी गेमका कोच थिए । त्यतिबेला पनि आयशाले केही असहज अनुभूति गरिनन् ।

त्यसको चार महिनापछि १६ औँ एशियन गेममा ४५ दिनका लागि कोरिया लागिन्, छोरा सासू ससुराको जिम्मा लगाएर । ‘सँगै च्यापेर सुत्ने बच्चालाई त्यो दिनबाट छुट्याएर सुत्नुपर्‍यो । एकदमै रोएकी थिएँ’, एउटी आमा बोल्दैछिन् आयशा ।

कोरियामा उनी रातभर निदाउन सकिनन् । ननिदाएर नै एक हप्ता बित्यो । ‘बच्चालाई छाडेर हिँड्दा एउटी महिलालाई निकै गाह्रो हुँदोरहेछ’, आयशा पग्लन थाल्छिन् ।छोरा के खाएर सुत्यो होला ? कति रोयो होला ? बिरामी पो भयो कि ? आयशाको हर पल छट्पटीमा बित्थ्यो । कहिलेकाँही सोच्थिन्– होइन, नआएको भए पनि त के बित्थ्यो र ?

उनले घरमा भनेकी थिइन्, बाबुको प्रत्येक दिनको भिडियो पठाउनु, चाहे एक मिनेटकै किन नहोस् ।तर, ट्रेनिङको समय मोवाइल चलाउने अनुमति थिएन । डाइनिङमा मात्र इन्टरनेट र मोवाइलको सुविधा थियो । उनी भन्छिन्, ‘कतिबेला ट्रेनिङ सकेर डाइनिङ जाउँ र भिडियो डाउनलोड गरेर छोराको स्वर सुनौं भन्ने लाग्थ्यो ।’

हुन पनि उनले छोरालाई छाड्दा भर्खर चार/पाँच पाइला सार्न शुरु गरेका थिए । ‘त्यतिबेला ग्रोथ भएको हेर्न मन लाग्ने के ! त्यो मुभमेन्ट मिस गरेजस्तो लाग्ने’, आयशा सम्झन्छिन् ।

तर दीपक घरबाट जहिल्यै आयशाको मनोबल बढाइरहेका हुन्थे । बच्चा आमालाई खोजेर रोइरहेका हुन्थे । तर घरबाट भन्थे, ‘छोरो राम्रोसँग बसेको छ । केही चिन्ता नगर, जितेर फर्कनुपर्छ ।’अर्कोतर्फ आयशाले सोच्थिन्, ‘यस्तो परिवार कसले पाउँछ र !’ भिड्नु त छँदै थियो, उनी प्रतिस्पर्धा पनि गर्न थालिन् । तर क्वार्टरफाइनलभन्दा माथि उक्लिनन् । उनले मनमनै सोचिन्, ‘मलाई छोराको श्राप लाग्यो ।’

‘कहिलेकाँही आमाहरुलाई बच्चाले पनि कमजोर पार्दोरहेछ’, आयशाले अरुलाई हेरेर मूल्याङ्कन गर्छिन्, ‘म खेलाडीलाई त यस्तो छटपटी भयो, अझ अरु नेपाली आमाहरुले त तीन महिनामै बच्चा छोडेर हिँड्नुपर्ने बाध्यता छ । साँच्चिकै ‘स्ट्रोङ’ छन् नेपाली महिला ।

आयशा पदकविहीन भएर नेपाल फर्किइन् । तर उनको मनमा डर मडारिएको थियो – कतै छोराले नचिन्ने पो हो कि ! ‘१४ महिनामा छाडेको बाबुलाई एकै पटक १६ महिनापछि भेट्दै थिएँ’, आयशा आफ्नो छटपटीबारे बताउँछिन्, ‘त्यो दुई महिना मैले जिन्दगीभरिका लागि गुमाएकी थिएँ ।’

जब आयशा घर आइपुगिन्, छोरा ममी भन्दै रुँदै अँगालोमा बेरिन आइपुग्यो । आयशा त्यो क्षणबारे बोल्छिन्, ‘त्यतिबेला संसार बिर्सिएँ र उसलाई हग गरे । खेल पनि बिर्सिएँ ।’तर, आयुशाले तेक्वान्दो खेल्न छाडिनन् । ‘एउटै पेसाको मान्छे, धेरै कुरा अन्डरस्ट्यान्डिङ पनि मिल्दोरहेछ’, दीपक भन्छन् । घरमा पनि अधिकांश खेलकै विषयमा कुरा हुन्थे । एकले अर्कालाई सल्लाह दिन्थे ।

२०१४ मा एसियन गेममा आयशा खेलाडी र दीपक कोच भएर पुगे । २०१६ मा १२औँ साफमा पनि दीपक आयशाको कोच भएर पुगे । आयशाले रजत पदक लिइन् । आयशाले आधा दर्जन अन्तराष्ट्रिय मेडल कोठामा सजाएकी छिन् ।आयशा फेरि गर्भवती भइन् । फेरि पनि सिजरिङ डेलिभरी ।

त्यहीबेला नेपालमा सागको तयारी चल्यो । आयशा २० महिनाको छोरालाई छाडेर फेरि क्लोज क्याम्पमा पुगिन् ।उता दीपक विष्टले आरोप खेप्नुपर्‍यो, ‘अब आफू खेल्न छाडेपछि बुढीलाई खेलाउने ? बच्चाकी आमाले के खेल्छे ?’दीपकलाई यसले त्यति धेरै छोएन । ब्याक बाइटिङ नेपालीको परम्परा नै हो जस्तो लाग्छ उनलाई । दीपक भन्छन्, ‘क्षमता र आत्मविश्वास हुनुपर्छ, मान्छेको प्रतिभालाई कसैले रोकेर रोक्न सकिँदैन ।’

दुई–दुईजना बच्चालाई पाँच महिना नजरबाट बाहिर राखेर तालिममा केन्द्रित हुन यसपालि पनि सजिलो थिएन आयशालाई । तर खेल नेपालमै हुँदै थियो । उनी हप्ताको एकदिन बेलुकी घर आउँथिन्, अनि बच्चालाई सुताएर क्लोज क्याम्प पुग्थिन् ।कहिलेकाहीँ घर नपुग्दै निदाइसकेका बच्चाको अनुहार हेरर निराश हुँदै फर्कन्थिन् ।

श्रीमान पनि घरमा थिएनन् । यसपालि आयशा पुम्सेको खेलाडी, दीपक गेरुगीका कोच । फोनमा भएपनि दीपकले आयशालाई हिम्मत चाहिँ दिइरहन्थे, ‘तिमीले देखाउनुपर्छ । तिमी गर्न पनि सक्छ्यौ । सब बिर्सेर मेहनत गर्नू ।’जेठा छोराले सोध्थे, ‘ममी तपाई कहिलेदेखि हामीसँगै हुने । छिटो आउनु न है ।’ आमाको मन न हो, आयशालाई कटक्क हुन्थ्यो ।

जब विदेश यात्रामा मलेसिया जानुपर्‍यो, त्यसपछि सकस पर्‍यो आयशालाई । उनलाई फेरि निद्रा लाग्न छाड्यो । रातिको सेसन सकेर होटल पुग्दा ११ बजिसकेको हुन्थ्यो । उनी तीन/चार बजेसम्म छोराको सम्झनामा हराउँथिन्, अहँ निदाउन सक्दिनथिन् । आयशा सुनाउँछिन्, ‘पूरै महिना, पूरा निद्रा सुत्न सकिनँ ।’त्यसबेला दीपक पनि चीनमा थिए ।

र, पनि आयुशाले हिम्मत लिएर तालिम सकिन् र हिम्मत लिएर भिडिन् । भारतकी प्रजाकितासँग भिड्न फाइनलमा पुगिन् ।एक टकले सुनिरहेका दीपक फ्याट्ट बोल्छन्, ‘उनले खेल्दा एउटा गल्ती गरेकी थिइन् । त्यतिबेला माहौल नै इमोसनल बनेको थियो । तर आयशाले गोल्ड मेडल जितिरै छाडिन् ।’

जब आयशाले विजयको झण्डा फहराइन्, सिधै दीपकलाई हक गर्न पुगिन् । ‘ती छोराहरुले मलाई कति धेरै सम्झिए होलान् । छोराहरु छोडेर हिँड्दा बाबाको कति चित्त दुख्छ होला’, आयशाको मात्र होइन, दीपकको पनि यतिबेला आँखा ओसिला बनेका छन्, ‘आफ्नो दुःख भुलाउनका लागि हामीले हग गरेका थियौँ । मैले सारा दुःखहरु आँशुबाट बगाएर सक्काएँ ।’

आयशाले दुई स्वर्ण नै दुई छोराका लागि समर्पित गरिन् । आमा–बाबा छोराछोरीका लागि रित्तिदा रमाउँछन् ।३२ वर्षीया आयशाको म्याराथन अझै टुंगिएको छैन । उनीभित्र ओलम्पिकसम्म पुग्ने सपना अझै ज्युँदै छ ।दीपकलाई भने आयशा कोच भएर उनीभन्दा क्षमतावान खोलाडी जन्माएको हेर्ने रहर छ ।नेपाली आमाहरुका लागि पनि आयशाले केही बोल्नुपर्‍यो नि !

उनी एक सासमा बोल्छिन् –

हो, आमाहरुलाई ‘डवल च्यालेन्ज’ छ । तर अप्ठ्यारो आएर नै मानिस सफल हुन्छ । सबै इच्छा पूरा भए त उसँग चाहना नै केही हुँदैन । अप्ठ्याराहरुले बलियो बनाएर अगाडि बढ्न सहयोग पुर्‍याउँछ । आफ्नो रुचीको विषयमा ब्याक हुने होइन, अगाडि बढ्नुपर्छ । सक्छु भनेर अगाडि बढ्नु नै सबैभन्दा ठूलो सफलता हो । मान्छे सफल होस् वा नहोस् । तर, मलाई त लाग्छ, संसारमा सबैभन्दा स्ट्रोङ नै आमाहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *