आमा-बुबा दुवै ‘पोइला’ गए : भाइ-बहिनीको जिम्मेवारी १४ वर्षिया अनिताको थाप्लोमा !

कालिकोट । जाडोको मौसम त्यहाँमाथि पातलो कपडा, न ओड्ने छ न तातो कपडा नै । चिसोले सुन्निएको ज्यान । आगोको धुँवाले सुन्निएको आँखा । मनभरी पीडाको भारी बोकेर निराश भएर आँगनका डिलमा बसेकी छिन् अनिता शाही । जिल्लाको शुभकालिका गाउँपालिका–४ की १४ वर्षीया अनिता एक भाइ सुनील र एक बहिनी मीनाकी अभिभावक हुन् । उनले सानैमा आमाबुबाको माया गुमाइन् र माया पाउने आश पनि मारिसकिन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

अनिताकी आमा मनकला शाहीले नजिकैको दलित बस्तीमा दोस्रो बिहे गरिन् । अनिताका बुवा तिलबहादुर शाहीले पनी दोस्रो विवाह गरेर फरार भएका छन् । अहिलेसम्म कुनै अत्तोपत्तो छैन । आमाबुबा दुवैले दोस्रो बिहे गरेर जाँदा उनीहरूको जीवन कष्टकर भएको छ । उनीहरूलाई एक छाक टार्न पनि मुस्किल छ । कसैले दया गरेर दिए भने मात्र उनीहरुको चुलो बल्छ । पढ्ने लेख्ने उमेरमा अनितालाई भाइबहिनीको स्याहार गर्नमै दिन बित्छ ।

उनी भन्छिन्, ‘भएको पुख्र्यौली जमिन पनि बुबाआमाले बेचेर गए । आफू जन्मेको घरको माया धेरै लाग्छ तर घर भत्किएर हेर्न लायकको समेत छैन ।’ अनिताले अहिले साना भाइबहिनीलाई दुःख कष्ट, हारगुहार गरेर भए पनि नजिकैको विद्यालयमा अध्ययन गराइरहेकी छन् । उनीहरू अहिले अर्काको घरमा बसेका छन् । ९ कक्षामा अध्ययनरत अनिता र उनका भाइबहिनी दुःखद् जीवनमा पनि रमाइरहेका छन् ।

अनिताले आँखाभरी आएका आँसु लुकाउन खोज्दै भनिन्, अब बाँच्ने रहर पुग्यो, यति सानो उमेरमा यसरी दुःख कष्ट भोग्दा म नजिन्मएकै वेश तैपनी यो समाजबाट हार खान्न, साना भाइबहिनीलाई पढाइलेखाई ठूर्ला बनाउने हो । भोलि यिनीहरूले कस्तो हिसाबमा बुझ्छन् ।’ गहभरी आएका आँसुलाई रोक्न नसकेर आवाज अट्किएको जस्तो गर्दै धरधरी रुन थालिन् । उनीसँगै उनका दुई भाइबहिनी पनि भक्कानिएर रुन थाले ।

१४ वर्षीया दिदी नै हाम्री आमा हुन् । धौधौ सान्त्वना मिलेको उनीहरूको मन केही समयपछि स्थिर भयो । अनिताका भाइ सुनीलले भने, ‘अरूले बाबा भनेर बोलाउँदा पनि मन चसक्क हुन्छ । मेरो पनि बाबा भएको भए आज यसरी नै बोलाउने थिएँ होला ।’ सुनीलको कुरा काट्दै अनिताकी सानी बहिनी मीनाले भनिन्, ‘बाबा मात्रै हैन आमा भएको भए पनि हामी यति दुःखी हुने थिएनाँै होला । सबैका छोराछोरीलाई आमाबुबाले स्याहार, सम्भार गर्दा मनमा गहिरो चोट पर्छ । अरूको रिसले होइन हाम्रा आमाबुबा छैनन् भनेर हो ।’

मीना र सुनील दुवैले एकचोटी भने, ‘आमाबुबाले छोडेर गए पनि आमाबुबाको माया दिने दिदी भेटाएका छौँ । हामीले टुहुरो महसुस गरेका छैनौँ ।’ दुःखी अनि गरिब घरपरिवारका यी बालबालिकालाई गाउँपालिकाले पनि आर्थिक तथा भौतिक सहयोग गर्ने बताएको छ । गाउँपालिका अध्यक्ष खडानन्द चौलागार्इंले आगामी दिनमा अन्य गरिब दुःखीभन्दा अनिताका भाइबहिनीलाई सहयोग गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *