सबैको रहरको सहर बनाउन सम्भव छ काठमाडौं

म सानो छँदा गाउँघरमा काठमाडौं सहरलाई नेपाल भन्ने चलन थियो। पहिलो पटक मलाई मेरो बुवाले काठमाडौं घुमाउन लैजाँदा सायद म ६-७ वर्षको मात्र हुँदो हुँ। त्यसताका उकाली ओराली, जङ्गल, नदी, भञ्ज्याङ अनि चौतारी हुँदै ५-६ घण्टाको पैदल हिँडेपछि बल्ल काठमाडौंको लागि बस चढ्ने ठाउँ पुगिन्थ्यो।

बस कुरिरहेको ठाउँमा बस आएर रोकिएपछि ड्राइभरले हर्न बजाउँदै बसको एक्सिलेटर दबाउँदा बसको साइलेन्सरबाट प्रशस्त धुँवा निस्कँदै गर्दा ‘बसले पोल्छ नाइँ म बस चढ्दिनँ’ भनेर रोइकराई गरेको घटना आज पनि मेरो मानसपटलमा ताजा नै छ।

पहिलो पटक बस देखेको र चढेको मेरो त्यो अनुभव आफैंमा स्मरणीय त थियो नै त्यससँगै बसको झ्यालबाट बाहिर हेर्दा बस होइन बाटो छेउका रुख बिरुवाहरू हिँडे जस्तो देखिने नौलो अनुभवले मलाई निकै कौतूहल पनि बनाइरहेको थियो।

सिन्धुपाल्चोक राजधानीसँगै जोडिएको जिल्ला भए पनि सडक, बिजुली र यातायातको सुविधा नपुगेको गाउँबाट पहिलो पटक बाल्यकालमा यो सहरमा पाइला टेक्दा काठमाडौं निकै राम्रो लागेको थियो।

त्यसताका काठमाडौं अहिले भन्दा सुन्दर नै थियो। अहिले भन्दा निकै थोरै घरहरू, भएका सडक पेटीहरू व्यवस्थित र सफा, ट्राफिक बत्ती र जेब्रा क्रसिङ पनि देखिन्थे। त्यसताका गाउँबाट पहिलो पटक सहर झर्ने जो कोहीको लागि यो रहर लाग्दो सहर नै थियो।

५१ वर्ग किलोमिटरमा फैलिएको काठमाडौं उपत्यका स्वयम्भू पुराणमा उल्लेख भए अनुसार प्राचीन समयमा एक दह थियो। बुद्ध धर्मका बोधिसत्त्व मञ्जुश्रीले यस दहमा अलौकिक रश्मि देखेर यहाँ मानव बस्ती निर्माण गर्ने निधो गरेर उनले यस दहको दक्षिणमा रहेको कच्छपाल पर्वत (चोभारको गल्छी) मा चन्द्रह्रास खड्गले प्रहार गरि यहाँको पानी निकास गरिदिए। तत्पश्चात् काठमाडौंमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी यहाँ मानव सभ्यताको सुरूआत भएको भन्ने किंवदन्ती रहेको छ।

काठमाडौं आफैंमा मानव सभ्यताको लामो इतिहास बोकेको एउटा पुरानो सहर हो भन्ने कुरा काठमाडौंको माली गाउँमा रहेको १८५ इस्वी सम्बतको मूर्ति र चाबहिलमा अवस्थित सम्राट अशोकको पुत्रीद्वारा निर्मित करिब दुई हजार वर्ष पुरानो धन्दो चैत्यले पुष्टि गर्दछ।

कला र संस्कृतिले धनी काठमाडौं, हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न कालखण्डमा निर्मित दरबारहरू, मठ मन्दिरहरूमा कुँदिएका अनुपम कला भरिएका बुट्टाहरूले मन मोहित नहुने सायदै होलान्। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र सांस्कृतिक महत्त्वका महत्त्वपूर्ण स्थलहरू पनि यही रहेका छन्।

बाग्मती, विष्णुमती, मनोहरा, नख्खु खोला लगाएत अन्य नदीहरू समेत रहेको काठमाडौंलाई वरिपरिबाट घेरिएको हरियो पहाड र पहाडको ठीक पछाडीपट्टि देखिने हिमालहरूले झन् सुन्दरता थपिरहेको अनुभूति गराउँछ।

सुविधा सम्पन्न काठमाडौं हरेक नेपालीको पहिलो रोजाईमा पर्छ।

अवसरको खोजीमा काठमाडौंमा आउने र स्थायी बसाइसराइ गरेर आउनेको कारणले १०० वर्ग मिटर भन्दा सानो जमिनमा समेत घरहरू बनिरहेका छन्। विश्व सम्पदा सूचीमा सूचिकृत प्राय सबै संरचनाहरूलाई चारैतिरबाट निजी घरहरूले घेरेका छन्, प्रायजसो घरहरू एक अर्कामा जोडिएका छन्, खुला ठाउँहरू छैनन्, आपतकालीन सेवा जस्तै आगलागी हुँदा होस् या भूकम्प जाँदा होस् दमकल, एम्बुलेन्स लगाएतका साधनहरू पुग्ने बाटाघाटा छैनन्, पर्याप्त खाने पानीको अभाव छ। नदीनाला तथा सार्वजनिक जग्गा निरन्तर अतिक्रमण गरी निजी आवासहरू बनाउने क्रम रोकिएको छैन।

सभ्यताको यति धनी सहर दिनानुदिन कुरूप बन्दै गइरहेको छ।

हजारौं वर्ष पुरानो मानव सभ्यताको इतिहास, कला, संस्कृति, परम्परा, मौलिकता बोकेको काठमाडौं सहरलाई यसको मौलिकताको संरक्षण गर्दै मानव सभ्यताको सुविधा सम्पन्न आधुनिक सहरमा प्रवर्द्धन गरी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल मध्येको एक बनाउन अब नेपाल सरकारले ढिला गर्नु हुँदैन। कम्तीमा पनि आगामी १०० वर्ष पछिको काठमाडौं कस्तो हुने परिकल्पना गरी एक विशेष नीतिमार्फत् यो सहरलाई पुनर्संरचना गर्नुपर्छ।

विश्वमा यस्ता कैयौं शहरहरू छन् जसको कुरूप रूपहरूलाई पुनर्संरचना गरी सुन्दर बनाइएका उदाहरणहरू छन्। काठमाडौं सहरलाई पनि निम्नलिखित प्रावधान सहितको विशेष नीतिमार्फत् पुनर्संरचना गरी विश्वकै ध्यान आकर्षित गर्न सक्ने सबैको रहरको सहर बनाउन सम्भव छ।

१. सिंगो काठमाडौं उपत्यका एकै प्रशासनिक नियन्त्रणमा हुनुपर्छ:

काठमाडौं उपत्यका अहिले तीन वटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेको छ र विभिन्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा विभाजित छ। यी प्रत्येक एकाइहरूको कार्यशैली आ-आफ्नै किसिमको छ। एक अर्काको बीचमा पर्याप्त समन्वय हुन नसक्ने अवस्थाको अन्त्य गर्दै काठमाडौं उपत्यकालाई मेगासिटी (Megacity) मा परिणत गरी सिंगो उपत्यकाको दीर्घकालीन विकास योजना तर्जुमा गर्नु उचित हुनेछ।

२. विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा वरिपरि निजी संरचना हटाउनुपर्छ:

काठमाडौं उपत्यकाभित्र काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण ‎मन्दिर सहित सात विश्व सम्पदा सूचीमा सूचिकृत रहेका छन्। यद्यपी यी सबै सम्पदाहरू व्यवसायिक तथा निजी आवासहरूले ढाकेर राखेका छन्। यस अवस्थालाई सुधार गर्दै कम्तीमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा र अन्य यस्तै महत्त्वपुर्ण सार्वजनिक सम्पदाबाट कम्तीमा ५०० मिटरसम्मका निजी संरचनाहरू भत्काई त्यहाँ बगैंचा, बस्ने ठाउँहरू लगायतका संरचना निर्माण गर्नुपर्छ जसले त्यस्ता सम्पदाहरू टाढैबाट स्पष्ट देखिने होस्, स्वच्छ होस् र सबैलाई आकर्षित गर्न सकोस्।

३. टोल टोलमा खुला स्थानको व्यवस्था:

सार्वजनिक जग्गाजमिनको अतिक्रमण र अव्यवस्थित आवास निर्माणको परिणाम स्वरूप काठमाडौंका लगभग सबै टोलहरूमा भुकम्प, आगलागी जस्ता विपत्तिको समयमा पनि घरबाट बाहिर निस्केर जाने सुरक्षित स्थानको अभाव छ। घर बनाउँदा न्यूनतम ५०० वर्ग मिटरको जग्गा हुनैपर्ने भवनहरू एक अर्कासँग जोडेर बनाउन नपाउने, प्रत्येक टोलमा खुला सार्वजनिक स्थान अनिवार्य हुनुपर्ने जस्ता व्यवस्थाहरू गर्नुपर्छ।

४. पूर्वाधार निर्माणमा एक द्वार नीति:

विशेषत: काठमाडौं लगाएर सहरी क्षेत्रमा धेरै किसिमका पूर्वाधार निर्माणका कार्य एकै पटक समानान्तर रूपमा हुने गरेका छन् र यिनीहरू एक अर्कासँग अन्योन्याश्रित पनि हुन्छन्। उदाहरणको लागि खानेपानी, ढल निर्माण, बिजुलीका खम्बा तारका संजाल आदि सडकसँग जोडिएका छन्। यी सबै निकायहरूले आ-आफ्नै किसिमले पूर्वाधारहरू निर्माण गर्दा पालैपालो सडक भत्काउने र बनाउने गर्दा एकातिर सडक बाह्रै काल लथालिङ्ग हुने, धुलाम्मे वातावरणले जनस्वास्थ्यलाई प्रतिकूल असर पारिरहने अनि अर्कोतिर एउटै सडक अलग अलग प्रयोजनको लागि पटक पटक भत्काउने र बनाउने प्रक्रियाले हरेक परियोजनाहरूको लागत पनि उच्च हुने हुँदा सम्पूर्ण विकास निर्माणको लागि एकद्वार नीतिको व्यवस्था हुनु जरुरी छ।

सम्भवत: पूर्वाधार विकास मन्त्रालयको गठन गरी राष्ट्रिय योजना आयोग समेत यसैको मातहतमा रहने गरी प्रशासनिक संरचना निर्माण गर्न सक्दा काठमाडौंलाई रहर लाग्दो बनाउने मात्र होइन समग्र राष्ट्र कै पूर्वाधार निर्माणमा उल्लेख्य रूपमा लागत घटाउन सकिनेछ र विकासले पनि गति लिनेछ।

५. नदी र खोलाहरूको उचित व्यवस्थापन र प्रयोग:

हाम्रो देश नेपाललाई प्रकृतिले कैयौं वरदानहरू दिएको छ त्यसमध्येको एउटा यहाँका नदी र खोलाहरू पनि हुन्। काठमाडौं उपत्यकामा पनि बाग्मती, विष्णुमती, मनोहरा, नख्खु खोला जस्ता नदीहरू बहने गर्छन्। अग्रजहरूको अनुभव सुन्ने हो भने ४० को दशकसम्म यी खोलाहरूबाट बग्ने पानी पिउन योग्य थियो।

तर हाम्रै अदूरदर्शिता र अकर्मण्यता कै कारण ती सबै नदीहरू ढलमा परिणत भइसकेका छन्। ती नदीहरूलाई पुन: स्वच्छ बनाउन साप्ताहिक रुपमा बाग्मती सफाई अभियान चलाएर मात्र पुग्दैन। त्यसैले प्रत्येक भवन निर्माण गर्दा सेप्टिक ट्यांक अनिवार्य राख्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ।नदीहरूमा ढल मिसाउन बन्द गर्दै विस्तृत इन्जिनियरिङ अध्ययन पश्चात सबै नदीहरूको बहाबको लागि पर्याप्त खुल्ला क्षेत्र अनिवार्य छोडी दुवै तर्फ हिँडडुल गर्ने बाटा र टहलाउने उद्यान बनाउनु पर्छ। जसले वास्तविक रुपमा नै काठमाडौंलाई श्रृङ्गार गरी सुन्दरता थप्नेछ।

६. यातायात व्यवस्थापनको लागि भौतिक संरचनामा सुधार र प्रविधिको प्रयोग:

दैनिक जसो हुने सडक जामलाई हेर्दा यातायात व्यवस्थापन आजको काठमाडौंको निकै ठूलो चुनौती जस्तो देखिन्छ तर थोरै मात्र बुद्धिमत्ता अपनाउने हो भने अहिलेको सवारी चाप व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन खासै ठूलो विषय हुनेछैन जसको लागि भएकै संरचनामा केही सुधारको आवश्यकता देखिन्छ:

· रिङ्गरोडसँग जोडिएका मुख्य चोकहरूमा निरन्तर सवारी पास हुनको लागि क्रस ओभर अथवा सब वेको निर्माण गर्ने।

· सबै चोकहरूमा अनिवार्य ट्राफिक बत्ती अनिवार्य जडान गर्ने।

· सबै गल्लीहरू र साना बाटालाई एकतर्फी गर्ने।

· बाटो काट्न निश्चित क्षेत्रहरू निर्धारण गर्ने र जथाभाबी बाटो काट्नेलाई जरिवानाको गर्ने।

· निश्चित दूरीमा मात्र यात्रुहरू चढाउन र ओराल्न बस बिसौनीहरू तोक्ने र यसलाई कडाइको साथ लागू गर्ने।

· साना सार्वजनिक सवारीसाधनहरू पूर्ण रूपले विस्थापित गर्ने।

· उपत्यकाभित्र कम्तीमा ४० सिट भन्दा धेरै सिट क्षमता भएका सिटिबस र ट्याक्सी मात्र चलाउन अनुमति दिने।

· व्यवसायिक भवनहरू निर्माण गर्दा पार्किङ सुविधा बनाउनै पर्ने अनिवार्य सर्त कडाइका साथ कार्यान्वयन गर्ने।

· सडकमा पार्किङ पूर्ण निषेध गर्ने।

· व्यापारीहरूलाई सडक पेटीमा सामान फैलाएर आवागमनमा असर पार्नबाट रोक लगाउने।

· सडक बत्ती र सडक पेटीको उचित व्यवस्था गर्ने।

· रोड मार्किंङ, ट्राफिक साइन र दिशा तथा स्थान खुलाउने बोर्डहरू टाढैबाट स्पष्ट देखिने गरि रोशनीदार रंगको प्रयोग गरी लगाउने ताकी रातको समयमा पनि सजिलै देखिन सकियोस्।

· सडक छेउहरूमा सडकसँग सम्बन्धित साइनबोर्ड बाहेक निजी विज्ञापनका बोर्डहरूलाई पूर्ण रूपमा हटाउने।

७. केवल तथा तारहरूको व्यवस्थापन

टेलिफोन, टेलिभिजनका केबल, बिजुलीका तारहरूले काठमाडौं सहरको सुन्दरतालाई जिस्काई रहे जस्तो लाग्छ त्यसैले यसको उचित व्यवस्थापन गरी जथाभावी टाँगिएका यस्ता तारहरूलाई हटाउन उचित कदम चाल्नु पर्छ।

बाल्यकालमा रहर लागेको काठमाडौं सहरमा भलै मैले पनि एउटा कंक्रिटको रुख रोपेको हुँ तर आज यो सहर मलाई उराठलाग्दो लाग्न थालेको छ। काठमाडौंलाई पुन: सबैको लोभलाग्दो सहरमा परिणत गर्न कुशल र उच्च इच्छाशक्ति भएको नेतृत्व आज यो विशाल सभ्यताको नगरीले खोजिरहेको जस्तो भान हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *