जब करिश्मा पहिलो पटक परीक्षा हल पुगिन्…

अभिनेत्री करिश्मा मानन्धर १४ वर्षकी थिइन्। जतिबेला उनी नेपाली चलचित्र क्षेत्रमा पहिलोपल्ट प्रवेश गरिन्। एकपछि अर्को सफलता हासिल गर्दै फिल्म जगतमा चम्किएकी करिश्माको लोक्रप्रियता मोहलाग्दो थियो।

जीवनको लामो संघषर्बाट आफूलाई स्थापित गरेकी करिश्मालाई त्यो लोकप्रियताले खुसी दिन सकेन। उनलाई सधैं अभाव महशुस भइरने एउटै विषय थियो- अध्ययन।अक्षर छिचोल्ने १४ वर्षकै उमेरमा उनले पढाइलाई हाँक्न सकिनन्। ‘त्यही हीनताबोधले मलाई हरेक समय सताइरह्यो,’ करिश्मा सम्झने गर्छिन्।

त्यो हीनताबोध जीवनै पहिलो सुटिङबाट उनले अनुभूत गर्न थालिन्। ‘म १४ वर्षको केटी। त्यतिबेला सुटिङमा मैले गाडी हाँकेर एक ठाउँमा रोक्नुपर्ने थियो। तर मैले त्यो गर्न सकिनँ। गाडी लगेर पर्खालमा हानेँ। गाडी हानिसकेपछि एउटा केटीको लागि त्यो भन्दा ठूलो सजाय के हुनसक्छ र? त्यहीँबाट सुरु हुन्छ मेरो हिनताबोध,’ करिश्माले भनिन्।

त्यो गल्तीमात्र थिएन्। उनले ठानिन्- यसलाई सिकाइको पहिलो खुट्किलो।

फिल्म उद्योगमा चर्चा एक ठाउँमा रहेपनि आफ्ना कमजोरीमा प्रहार गर्नेहरूले भने पढाइलाई माध्यम बनाएको उनको आशय थियो। ‘हाम्रो समाजमा ५ प्रतिशत यस्तो मानसिकता बोकेका मानिस हुन्छन् जसमा नेगेटिभ बाहेक अरु सोच्नै सक्दैनन्,’ उनी आशय पोख्छिन्।

यस्तो बेला उनी सुरुमा तिर्मिराइन्, अनि सम्हालिँदै अगाडि बढिन्।हालै सम्पन्न नेपाल आइएमई लिटरेचर फेस्टबिलको एउटा सेसन थियो ‘अध्ययनको भोक’।

सेसनमा सांसद शान्ता चौधरीसँगै मञ्चमा उभिएकी थिइन् अभिनेत्री करिश्मा। दुवैले आफ्नो अध्ययन शिलशीलाका याद्गार पल सम्झिरहेका थिए। यसरी सम्झिने क्रममा करिश्मा सुख र दु:खका दुवै अनुभूति पोखिरहेकी थिइन्।

कक्षा ८ को परीक्षा

करिश्मा अहिले कलेज पढिरहेकी छन्। ‘उमेर ढल्केपछि पनि किन पढेको होला’ भनेर सोच्नेहरू धेरै छन्। तर उनी त्यस्ता सोचहरूको ‘छु मतबल’ भन्दै टार्छिन्।उनले कार्यक्रममा कक्षा ८ को फाइनल परीक्षा दिन जाँदा परिक्षा हलमा गएको दिनबारे सम्झिइन्।

‘सुरुमा त जाने आँट आएन। पछि कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा गार्डले लगेर छाड्नुभएको थियो। र जब मेरो हातमा प्रश्नपत्र आयो म त इमोस्नल भएछु,’ उनी भावुक हुँदै भनिन्, ‘त्यतिबेला मैले छाडेर गएको १४ वर्षीया त्यो बुनु फेरि यही बेन्चमा देखेँ। त्यो भोक मभित्र पनि रैछ। मैले उसलाई त्यहाँ भेटेँ र भने- आइ एम हेयर नाउ।’

एसइई दिँदाको नर्भसनेस

०७५ सालमा एसइई परीक्षा दिएकी थिइन् करिश्माले। एसइई दिन जाँदाको पहिलो क्षण सम्झँदा अहिले भने उनलाई हाँसोमात्र उठ्छ। ‘म परीक्षा दिन जाँदै थिएँ। काठमाडौंमा उही ट्राफिक जाम। मेरो गाडी त्यतिबेला पन्चर भयो। त्यतिबेला म यति नर्भस भइछुकी मैले प्यान्टको चेन लगाउन पनि बिर्सिएछु,’ करिश्माले हाँस्दै सुनाइन्। तर, एसइईको परीक्षामा भने प्रश्नपत्र सजिलो लागेको उनले बताइन्। ‘वातावरण पनि राम्रो थियो। प्रश्नपत्र हातमा परेपछि सहज लाग्यो,’ उनले सम्झिइन्।

अहिले नियमितजसो पढ्न जान्छिन् करिश्मा।

अध्यनन गर्नु भनेको पाठ्यक्रम घोक्नु हो जस्तो पनि लाग्दैन उनलाई। पाठ्यक्रम बाहेकका पुस्तक पनि रुचिलाग्दा पढ्ने गर्छिन् उनी। पछि आफैं पनि आफ्नो जीवनबारे पुस्तक लेख्ने सोचमा छिन्। ‘एकपल्ट घोस्ट राइटिङ लेख्न पनि दिएँ। त्यो शब्द त्यस्तो गहिराइमा थिएन। पछि मैले छाडिदिएँ लेखाउन। बरु म आफैं लेख्छु भन्ने लाग्यो,’ उनले बताइन्।

कलेज आउँदा जाँदा करिश्मा कहिलेकाहीँ अनौठो अनुभूति गर्न पुग्छिन्। केही समयअघि भइदियो त्यस्तै। कलेजबाट आउनेक्रममा ७/८ वर्षका बालकले भनेको वाक्यले उनी चकित परिन्। ‘कलेजबाट आउँदै थिएँ। ७/८ वर्षका बालकले मलाई हेरेर भनेको सुनेँ- यो बुढीले पनि स्कुल पढ्ने!’

उनी बच्चाको भनाइमा चिन्तित भइनन्। बरु उनीहरूले पाएको संस्कारमा चिन्तित भइन्। यदि समाज र परिवारले राम्रो संस्कार बालबालिकालाई दिन नसक्नुमा उनको दुखाइ छ। भन्छिन्, ‘जब हामी जन्मन्छौं। अनि जे संस्कार भयो त्यही सिक्छौं। उनीहरूलाई म बुढी भनेको कसरी थाहा भयो। त्यो त उसको परिवारले भनेको हुनुपर्छ। परिवारले दिएको संस्कारमा समस्या हो नि यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *