काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध

पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताउनुभयो ।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने र अटेर गरेमा कारवाही गरिने उहाँको भनाइ छ ।

पर्यटन वर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न उक्त अभियानको शुरुवात गरिको मेची भन्सार कार्यालयका प्रमुख धुव्र विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार ती सवारी साधानले भन्सारमा राजश्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भूभागतिर घुमे पनि साँझ भारत नै फर्कनुपर्नेछ ।

सीमा पोष्ट थप सम्बन्धमा गृहमन्त्रीसँग छलफल गरिने

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने आश्वासनका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापाले २०७५ जेठ २७ गते सदनमा सीमा पोष्ट थप गर्ने, सीमा सुरक्षा, अपराध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभएको थियो । सभाको बैठक नबस्ने दिन पारेर मन्त्री थापालाई समिति बैठकमा बोलाई छलफल गरिने समितिका सभापति रामनारायण बिडारीले बताउनुभयो ।

भूकम्पले भत्किएका सिंहदरबार, बबरमहल जस्ता पुरातात्विक महत्वका भवन साढे चार वर्षदेखि अलपत्र रहेकाले के भएको हो भन्ने विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजै पठाएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन अध्ययन गर्ने जिम्मेवारी सरकारी आश्वासन उपसमितिलाई दिइएको पनि उहाँले जानकारी गराउनुभयो ।

बैठकमा सांसद राधेश्याम अधिकारीले भूकम्पले भत्किएर पुनःनिर्माण गर्नुपर्ने ३१ सांस्कृतिक सम्पदा अलपत्र परेको विषय यसअघि प्राधिकरणले गरेको प्रतिबद्धता विपरीत भएकाले के भएको हो भनी सोधखोज गरिनुपर्ने बताउनुभयो । प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने क्रममा पोखरामा अन्तररष्ट्रि«य पर्वतीय सङ्ग्रहालय भवन जीर्ण भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तो अवस्थाले नेपाल भ्रमण वर्षलाई समेत असर गर्ने उहाँको भनाइ थियो ।

वार्षिक तीन लाखभन्दा बढी पर्यटक जाने स्थलमा भित्रभित्र पानी रसाएर सङ्ग्रहालय भत्कने अवस्थामा पुगेकाले छिटो निर्माण गर्नुपर्ने सांसद अधिकारीको भनाइ थियो । सांसद बलराम बाँस्कोटाले सरकारले दिएका आश्वासन प्रदेशस्तरमा स्थलगत भ्रमणका क्रममा जाँदा पूरा नभएको देखिएकाले सभाले प्रदेश र सङ्घ सरकारकाबीच समन्वय गर्नुपर्ने मत राख्नुभयो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका विषयमा पनि सरकारले दिएको आश्वासन गफमै सीमित भएको उहाँको भनाइ थियो ।

सांसद विन्दादेवी आले (राना) ले सरकारले तीन वर्षअघि नै सक्ने प्रतिबद्धता जनाएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल किन सकिएन भनी सम्बन्धित निकायलाई बोलाएर छलफल गर्न माग गर्नुभयो । बैठकमा सांसदद्वय नैनकला ओझा र नरपति लुवारले सरकारले आश्वासन दिने तर समयमा पूरा नहुने क्रम रोक्न आवश्यक निर्देशन दिनुपर्ने बताउनुभएको थियो ।

बैठकमा समिति सचिव सुदर्शन खड्काले चालु आर्थिक वर्षमा समितिले सञ्चालन गर्ने कार्ययोजनाका बुँदा प्रस्तुत गर्नुभएको थियो । ती बुँदालाई बैठकले संशोधनसहित पारित गरेको छ । त्यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कानूनका विषयमा गहन अध्ययन गरिने, सरकारले दिएका आश्वासन पूरा भए÷नभएका बारेमा स्थलगत अनुगमन गर्ने लगायत कार्यक्रम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *